आयाराम गयारामहरुका नाममा

आयाराम गयारामहरुका नाममा

कहिले यता, कहिले उता । कहिले को तिर कहिले को तिर ? जनतालाई भ्रममा पार्या छन्, दायाँ बायाँ गर्या छन् । जनता पनि उस्तै मान्छे चिन्नै नसक्ने । अलिकति नाम चलेको मान्छेले जे भन्यो त्यसैको लहै लहैमा पछि लाग्ने । खासगरी राजनीतिक दलहरुमा यताका मान्छे उता र उताका मान्छे यता जाने आउने क्रम बढेको छ । प्रायः चुनावको समयमा यस्तो देखिन्थ्यो, अहिले चुनाव आउनुअघि नै यस्तो देखिएको छ ।

अन्य पार्टीबाट नेपाली काँग्रेसमा आउने र काँग्रेसबाट अन्य पार्टीमा जाने क्रम ज्यादै न्यून देखिन्छ । काँग्रेस अचम्मको मासबेस पार्टी हो । यो कि प्वाट्टै फुट्छ कि भने स्वाट्टै जुट्छ । काँग्रेसीहरु फुटे पनि आफूलाई परेको बेला (जस्तै चुनाव) जुटिहाल्छन् । उनीहरुको फुट पनि जुटजस्तो क्या । एकले अर्कोलाई भन्न बाँकी राख्दैनन् तर खाने र मिल्ने बेलामा कुनै आइतबार पर्खिरहनै पर्दैन उनीहरुलाई ।

कम्युनिष्टहरु भने सिसाजस्ता । फुट्न परेपछि एकले अर्कोलाई भित्तैमा पुर्याउने गरी झर्याम्झुरुम् फुट्ने । मूर्ख मात्र हैन महामूर्ख नै । बल्ल बल्ल जुटेको कम्युनिष्ट एकता तोडिँदा र दुई तिहाइ नजिकको आफ्नै सरकार ढल्ने अवस्था आउँदा पनि इजार फुस्किएको थाहा नपाउने । फेरि टुटेपछि लामै समयमा पानी बराबर हुने, सारतार नचल्ने ।

इतिहास हेर्दा थाहा हुन्छ, काँग्रेस एकाध, दुआध, तिआध रुपमा फुटेको छ भने उसको तुलनामा कम्युनिष्टहरु दर्जनौं पटक फुटेका छन् । वर्तमन अवस्थामा फुटपछि खासगरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (समाजवादी) मा यताका मान्छे उता उताका मान्छे यता हुने क्रम भइरहेको छ । अलि अलि जनता समाजवादी पार्टीमा पनि देखिएको छ ।

हिजै मात्र एक चर्चित नायिका र पूर्वमन्त्री के खान हो कुन्नि एमालेमा छिरेका छन् । संसद्बाट एमसीसी पारित भएपछि माओवादीका केही मान्छे (केही ठूला नेता पनि) एमालेमा गएको देखियो । सायद यी आफूलाई राष्ट्रवादी भन्न रुचाउने मान्छेहरु होलान् । अथवा एमालेको धुम्बाराहीमा डेरा नछाडेका बादललगायतका नेताको न्यास्रो लागेर प्रचण्डको घुर्कीले त्यता गएका होलान् । किनकी त्यत्रो वर्ष जनयुद्ध लडेका भनिएका बादलहरु त प्रचण्डको रिसले आफ्नो घरै फर्केनन् भने अरु आउरे बाउरेहरुलाई माओवादीको के को माया ?

त, जो जहाँ गए पनि यसलाई विभिन्न कोणबाट विश्लेषण गर्नुपर्दछ । यताउता गर्नेमा तीनथरिका मानिस देखिन्छन् । सर्वप्रथम केही मान्छे कसैको हो होइमा लागेर पार्टी चाहार्ने गरेका छन् । यिनीहरु अध्ययन गर्दैनन्, कुरा बुझ्दैनन् र माउ गए रमाउँदै पाडा गए घमाउँदै भने झैँ जसले जे भन्यो त्यसकै पछि लागेर यो वा त्यो पार्टीमा जान्छन् । कर्कलोको पानी जस्तै ढलपल यो भीडबाहेक केही होइन । यो स्थायी शक्ति होइन । यस्तो भीड भोलि जता पनि जान, फर्कन सक्छ, भुईंमा खस्न सक्छ, जुनसुकै पार्टीमा प्रवेश गरेको किन नहोस् ?

दोस्रो खालका मानिस छन् भइरहेको पार्टी वा संगठनमा भनेअनुसारको पद, फाइदा नपाएर, माग पूरा नभएर, नेतृत्वदेखि जङ चलेर र अर्को पार्टीमा जाँदा फाइदा लिन सकिन्छ कि भनेर अर्को पार्टीमा लागेका । हाम्रै राष्ट्रिय राजनीतिमा यस्ता व्यापारिक घरानाका पात्रहरु भेटिए, अहिले पनि भेटिन्छन् । केही हुनेखाने वर्ग पनि यसमा पर्दछ । यो वर्गका मानिसको कुनै राजनीतिक वैचारिक सिद्धान्त हुँदैन । एउटा हातमा पैसा लिएर वार्गेनिङ गर्ने यो वर्गका मानिस जता पैसा बुझाउँदा भनेअनुसारको पद र फाइदा लिन पाइन्छ त्यतै लाग्दछन् । यी भीड बिचौलिया बाहेक केही होइनन् ।

सनक र हल्लाको भरमा उपियाँ झैँ रुपियाँका लागि पार्टी फेर्नेहरुले जनता र देशका लागि राम्रो काम गर्छन् भन्ने आशा र विश्वास लिनै हुँदैन । आवेशमा आफ्नै विवेक बेच्नेहरु आफैँलाई त नियन्त्रण गर्न सक्दैनन्, आफ्नै विचारमा त अडिग छैनन्, आत्मविश्वास नै छैन भने त्यस्ताले अरुका लागि निश्पक्ष, अडिग भएर काम गर्छन् भनेर विश्वास, आशा गर्नु, भर पर्नु गोरु ब्याएपछि दूध दोएर दही, मही, घ्यू खान्छु भन्नुजस्तै हो । त्यसैले यस्ताका पछि कोही लाग्नु हुँदैन ।

सारमा हेर्दा सत्ता र सरकारमा पुगेका नेपालका जुनसुकै राजनीतिक पार्टीको अवस्था उस्तै छ । यी सडकमा कराउँछन्, सरकारमा पुगेपछि हराउँछन् । पुरानो कानुनी जञ्जालमा बाँधिएपछि फुत्कनै सक्दैनन् । पटक पटक सरकार चलाए पनि कानुनी जालो ताडेर जनताको हितमा नयाँ काम गर्ने आँट नै आउँदैन यिनीहरुमा । बरु पुरानै कानुनी जालोमा छिरेर मख्ख पर्दै सम्मान, सत्कार, सेवा, सुविधा, तलब, भत्तामा लिप्त हुन्छन् । अहिलेसम्मकाले यस्तै गरे र यस्तो अवस्था आयो ।

राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि कुनै सामाजिक, साँस्कृतिक परिवर्तन भएन । बरु सामन्ती संस्कार, संरचना नै हावी भयो । लडेका भिडेका पार्टीहरुमै वर्ग, उपवर्ग जन्मियो । आफ्नो मान्छे, अर्काको मान्छे, नजिकको नेता, कार्यकर्ता, टाढाको नेता, कार्याकर्ता भन्ने प्रवृत्ति मौलाउँदै गयो । सर्वहारवर्गका भनिने मान्छेहरुभित्रै वर्गीय खाडल गहिरिँदै गयो । घुसखोरी, कालाबजारी, दलालीतन्त्र, कमिसनतन्त्र, भनसुनतन्त्रको कमी हुनुको सट्टा हिजो यस्ता प्रृवत्तिको विरोध गर्नेहरुमै आज यस्तो शैली विकास हुँदै आयो । पुनरुत्थानवादीहरु जगमगाएर उठ्न थाले । यसले गर्दा जनता मात्र होइन, उनीहरुका विद्रोही स्वभावका नेता, कार्यकर्तामा आक्रोश, असन्तुष्टि पलाउन थाल्यो । यसैकारण पार्टी बदल्ने वा विद्रोह गर्ने स्वभावका यस्ता मानिस तेस्रो थरिभित्र पर्दछन् । अल्लि विद्रोही यी मानिस देश र जनताका लागि केही गरौँ भन्ने भावना बोकेर पार्टीमा लागेका हुन्छन् तर आफ्नो माउ पार्टी र उसको नेता, कार्याकर्ताले गलत वा सिद्धान्तविपरीत कार्य गरेपछि उनीहरुमा साँच्चै वितृष्णा पलाउँछ, निराशा छाउँछ । अनि उनीहरु क्षणिक शान्तिका लागि अर्काे पार्टी खोज्छन् । यो पनि उनीहरुको स्थायी समाधान त होइन किनकि आफू बसेको पार्टीमा त चित्त नबुझेकाहरुले अर्को पार्टीमा गएर कसरी भनेजस्तो फल, खुसी र शान्ति प्राप्त गर्लान् ? तैपनि आफ्ना साँच्चै इमान्दार र क्रियाशील नेता, कार्यकर्ता जोगाउन नसक्नु सम्बन्धित पार्टी र मूल नेताहरुको मुख्य कमजोरी हो । यदि पार्टीहरुले आफ्नो सैद्धान्तिक, वैचारिक, व्यवहारिक कमी, कमजोरीहरु पहिचान गरेर स्वीकारेर अघि नबढ्ने हो भने आयाराम गयारामहरु जन्मिरहनेछन् ।

-दीपक खनाल

टिप्पणीहरू