प्रचण्डमाथिको प्रहार र प्रकाशको पिर

प्रचण्डमाथिको प्रहार र प्रकाशको पिर

– दीपक खनाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि चौतर्फी आक्रमणको घेरामा छन् । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि त झन् आफ्नै पार्टीभित्रबाट लपेटिएका छन् । घुर्की लगाउँदै पार्टी छोड्नेको लहर चलेको छ । उनैमाथि तीव्र प्रहार भइरहेको छ, मानौँ कि एमसीसी ल्याएको र पारित गराएको प्रचण्डले मात्र हो । प्रचण्डमाथि खासगरी निम्न प्रकारले आक्रमण भइरहेको छ :

१. विपरीत पार्टी, विदेशी शक्ति : प्रचण्डलाई विपक्षी पार्टीका नेता, कार्यकर्ता, ती पार्टीबाट सञ्चालित एवं प्रोपोगाण्डा गर्न खोलिएका विभिन्न मिडिया र सामाजिक सञ्जालबाट आक्रमण हुँदै आएको छ । यसभित्र विपक्षीका मिडियादेखि भातृ संगठन, बुद्धिजीवीहरू पर्दछन् । प्रचण्ड र उनले नेतृत्व गरेको जनयुद्धको जगमा गणतन्त्र स्थापना भएकाले राजावादीहरू प्रचण्डप्रति कहिल्यै सकारात्मक छैनन् र हुँदैनन् पनि ।

यस्तै उनीहरू अनुकूल नभइदिँदा विदेशी शक्ति सधैँ संदिग्ध हुने गर्दछन् । यतिसम्म कि यी शक्तिहरू युद्धका पुरानो घाउ कोट्याएर प्रचण्डलाई हेग लैजानुपर्नेसम्मको मनोवैज्ञानिक क्षेप्यास्त्र छर्नसमेत माहिर छन् । माओवादी केन्द्रबाटै विभिन्न टुक्रामा विभक्त भएका वैद्य, विप्लव, गोपाल किराँतीले पनि प्रचण्डको दोहोलो काड्दै आएका छन् । तर यस्तो प्रहार स्वाभाविक हो ।

२. अन्तरसंघर्षको नाममा : कम्युनिष्टहरूले भन्ने गरेको अतरसंघर्ष संसदीय भासमा परेपछि अन्तरकलहमा परिणत भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बन्दा प्रचण्ड र केपी ओली गुटबीच तथाकथित अन्तरसंघर्ष थियो भने अदालतले यी दुई पार्टी अलग गरेपछि नेकपा माओवादी केन्द्रको अन्तरसंघर्ष बदलिएको छ । केपी ओलीको ठाउँ नारायणकाजी श्रेष्ठले लिएका छन् । यो पक्षको स्पष्ट असहमति एमसीसी पारित प्रकरणमा देखिने गरी छताछुल्ल भयो । यसलाई प्रचण्ड पक्षले भने नारायणकाजीहरूको पदीय भागवण्डाको बार्गेनिङ भनेर अथ्र्याउँदै आएको छ ।

यसरी प्रचण्ड अहिले आफ्नै पार्टीभित्र नारायणकाजी गुटको प्रहारको केन्द्र बनेका छन् भने जनयुद्ध, शान्ति प्रक्रिया हुँदै आजसम्म आउँदा माओवादीभित्र नयाँ नयाँ गुटरूपी ऐजेंरुहरू पलाएका छन् । प्रचण्डलाई बजाएर, थर्काएर, घुक्र्याएर धनदौलत कमाउने र आफ्नो मात्र दुनो सोझ्याउने नेता र तिनका जनवादी नोकरचाकरको बिगबिगी बढेको छ । यस्ता नेता, कार्यकर्ताले प्रचण्डलाई अप्ठ्यारो परेका बेला कुनो पाए अँचेट्ने र छेउ पाए धकेल्ने गर्दै आएका छन् । तथापि प्रचण्डलाई अझै मूल नेतृत्वको भूमिकाबाट चिप्लन नदिन सहकर्मी नेताहरूले औँला ठ्डयाएका हुन् भने त्यसलाई अन्यथा भन्न हुँदैन ।

३. सोझा कार्यकर्ता, जनताको आक्रोश : प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले मीठा सपनाहरू बाँडेको थियो । माओवादीले जनताका घर घरमा गएर आमूल परिवर्तनको प्रतिवद्धता जनाएको थियो तर युद्ध पूर्ण सफल नै हुन्छ भन्न सकिँदैन । माओवादीले रुस र चीनमा जस्तो पूर्ण जनवादी क्रान्ति सम्पन्न गर्न सकेन । उसको जनयुद्धको जग र दोस्रो जनआन्दोलन (०६२, ०६३) को बलमा गणतन्त्र, संविधानसभा, नयाँ संविधान, धर्म निरपेक्षता, समावेशिता आए पनि त्यसबाट रातारात कार्यकर्ता र जनताका काँचुली फेरिन र घर घरमा सित्तैमा दूधभात, दाल, तरकारी आउन सक्ने अवस्था थिएन । हालसम्म प्रचण्ड जम्माजम्मी १८ महिना प्रधानमन्त्री बने ।

पहिलो कालमा राज्यको संरचना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), विद्यमान ऐन, कानुनको जालो बुझ्दैमा नौ महिना बित्यो । दोस्रो कार्यकालमा केही थिति बसाउन त खोजेका थिए तर नौ महिना पुग्नासाथ कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरिहाले । त्यसैले उनले सडक र सदनबाट राजनीतिक बहस गर्नुभन्दाबाहेक पुनः सत्ता या सरकारमा गएर काम गर्न पाएका छैनन् । यो कुरा माओवादीले बुझाउन नसक्दा विपक्षी नेता, मिडियाको भ्रममा पर्दै आएका जनता मूल नेतृत्व हुनुका नाताले उनी यस्ता नेता, कार्यकर्ता र जनताको आक्रोश बिसाउने चौतारी बन्दै आएका छन् । कतिसम्म अचम्म भने माओवादी संस्थाभन्दा पनि व्यक्तिगत रूपमा प्रचण्डमाथि प्रहार हुने गरेको छ ।

प्रचण्डले के ठिक गरे के बेठिक ?

चुनवाङ बैठकको निर्णयपछि युद्धविराम गरी शान्ति वार्तामा आउनु प्रचण्डको बुद्धिमत्ता थियो । वैद्य या विप्लवले भनेजस्तो शान्ति वार्तामा नै आउनु गलत थियो भन्ने कुरा सत्य होइन । यदि त्यति निर्णय गरी प्रचण्डहरू वार्तामा नआएको भए जनयुद्धको पूरै उपलब्धि गुम्नुका साथै ठूलो मानवीय क्षति हुने पक्का थियो । धनजनको क्षति कम गराउँदै उपलब्धि जोगाउनु उनको दूरदर्शिता नै हो ।

पहिलोपटक प्रधानमन्त्री हुँदासम्म प्रचण्ड विद्रोही नेताजस्तो रूपमा प्रस्तुत भए । लामो विद्रोहबाट खुला संसदीय राजनीतिमा आएकाले यस्तो ह्यांगओभर बाँकी रहनु स्वाभाविक नै हो । तर सेना समायोजन र हतियार व्यवस्थापन गर्ने सन्दर्भमा आफ्ना सहकर्मीलाई विश्वस्त पार्न नसक्दा पार्टी नै फुट्न पुग्नु प्रचण्डको कमजोरी थियो । त्यसपछि आफैँ सरकारको नेतृत्व गर्न पाएका छैनन् । पछि प्रधानमन्त्री बनाउने खेलमा फसे ।

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले भनेजस्तै प्रचण्ड झलनाथ खनालदेखि शेरबहादुर देउवासम्मलाई प्रधानमन्त्री बनाइदिने दाताका रूपमा प्रस्तुत भए । वर्गीय राजनीतिभन्दा पनि समाजसेवामा लागेजस्तो भयो । जुनसुकै पार्टी र सरकार शक्तिमा आए पनि घेरा हाल्ने माफिया, तस्कर र कमिसनखोरीहरूको माखेसाङ्लो तोड्न सकेनन् । उनी बुहारी, छोरी, छोराको मोहमा फसे ।

अर्काे कोणबाट हेर्दा यसलाई पनि ठूलो हाउगुजी मान्नुपर्छ जस्तो लाग्दैन । आफ्ना छोराछोरी, बुहारीलाई आफू हिँडेको बाटोमा हिँडाउने वा सवल सक्षम बनाउने कुनचाहिँ आमाबाबुको चाहना हुँदैन र ? यो त असल बाबुआमाको कर्तव्य पो हो । उनीहरूलाई जसरी पनि स्थापित गर्नुपर्छ भन्ने संकीर्ण व्यवहारमा लागे । एमसीसी पारित गर्नु उनको बाध्यता थियो ।

प्रचण्डले नेतृत्व गरेको पार्टीमा मानिसहरू स्वतस्फुर्त लागेका हुन् । एउटा नेताले सपना, योजना, कार्यनीति, रणनीति अघि सार्नैपर्छ, प्रमुख नेता हुनुको हैसियतमा उनले त्यही गर्दै आएका हुन् । त्यही भएर मुलुक उनी र उनको पार्टीले अघि सारेको एजेण्डामा नै अघि बढिरहेको छ । गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता, संविधानसभा, संविधान, संघीयता उनका एजेण्डा हुन् । प्रचण्डले राज्यको दोहन गरेर आफ्नो मात्र स्वार्थ पूर्ति गरेको भए उनलाई गाली गर्दा हुन्छ ।

प्रचण्डको कहाँ, कति सम्पत्ति छ छैन, कति ठाउँमा जग्गा, जमीन छ यो पंक्तिकारलाई केही थाहा छैन । यदि छ भने त्यो पनि खोजेर सार्वजनिक गरे हुन्छ तर एउटा चलायमान नेता कूटनीतिक रूपमा कहिले दायाँ कहिले बायाँ मोडिनु अस्वाभविक होइन । एक्लो प्रचण्डले गर्न सक्ने केही होइन ।

गणतन्त्र, संघीयता, नयाँ संविधान आएपछि पनि मुलुकमा चाहेजस्तो सुधार, परिवर्तन हुन नसक्नु उनको मात्र दोष होइन । किनकि एउटा व्यक्तिले जीवनमा सबै कुराको जिम्मा लिनैपर्छ, लिन सक्छ भन्ने हुँदैन । प्रचण्डले त युवा उमेरदेखि आजसम्म मुलुकलाई ऋण लगाइसके । इतिहास बनाइसके । कसैलाई जबर्जस्ती तानेर आफ्नो बाटोमा हिँडाएका होइनन् ।

प्रकाशको पिर

गायक प्रकाश सपुतले पिर भन्ने भिडियोसहितको गीत सार्वजनिक गरेपछि केही माओवादीलाई पिर परेको देखिन्छ । तर उनको भिडियोले माओवादी र प्रचण्डलाई खासै प्रहार गरेको छैन । बरु गणतन्त्र आएपछि पनि हिजो युद्धमा लडेका योद्धा, कार्यकर्ताको दयनीय अवस्था र माओवादीभित्रको विचलनलाई उजागर गरेको छ ।

इमान्दार कार्यकर्ताको संवेदनाप्रति सहानुभूति प्रकट गरिएको छ । माओवादीमा साँस्कृतिक विचलन आएकै हो । हिजो युद्धमा सँगै बाँचौँ, सँगै मरौँ भनेर कसम खाएकाहरूमा नयाँ नयाँ वर्गीय खाडल पलाएकै हो, कोही खाओवादी र कोही कमाओवादीमा परिणत भएकै हुन् । सँगै जनवादी बिहे गरेकाहरू खुला भएपछि बहुविवाह, डिभोर्समा लागेकै हुन् । दोहोरी साँझ, बार, रेष्टुरेण्टमा मनोरञ्जन देख्न थालेर त्यता धाएकै हुन् । प्रचण्डकै परिवारमा यस्तो विचलन देखिएकै हो ।

तर यो माओवादीको युद्धरत अवस्थाभन्दा खुला रूपमा आएपछि परिस्थितिले जन्माएको समस्या पनि हो । बरु यसलाई रोक्न नसक्नु प्रचण्डको कमजोरी हो । प्रकाशले हिजोका माओवादी यौनकर्म र यौन व्यवसायमा लागेको भन्ने मात्र कथानक बनाउनु भन्दा उनीहरू कोही योग, प्रणायाम, ध्यानमार्फत व्यक्तिगत शान्ति र कोही नयाँ परिवर्तनका लागि क्रान्तिको खोजीमा लागेको दृश्य देखाएको भए हुन्थ्यो । सायद यतातिर सोच्न भ्याएन उनको दिमागले ।

टिप्पणीहरू