कस्तोसम्म चुनावी अन्तर्घात गर्छन् कम्युनिष्टले

कस्तोसम्म चुनावी अन्तर्घात गर्छन् कम्युनिष्टले

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको आठौं पूर्ण बैठकले संविधानसभा निर्वाचन २०७० मा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात र दलबदल गरिएका घटनाको छानबिन गर्न बनाएको समितिले सम्पूर्ण प्रक्रिया पूरा गरेर तयार पारेको प्रतिवेदन ।

यसपटकको चुनाव संस्थागतरुपले पूरै पार्टी हैन व्यक्ति लडेजस्तो र सिंगो पार्टी हैन गुटका उम्मेदवार खडा भएजस्तो हुन गयो । मुख्य नेतृत्वसम्मलाई हराउन कतिपय केन्द्रीय सदस्यले नकारात्मक भूमिका खेलेको पाइयो । कम्युनिष्ट पार्टीका कमिटी र नेताहरुको आफ्नै आँखा छन्, उजुरी परेपछि मात्र छानबिन हुने परम्परा बसाउने हो भने यो र अन्य पार्टीबीचको अन्तर नै के रह्यो ? अन्तर्घात हुने परिस्थिति निर्माण गर्ने, अनुपयुक्त उम्मेदवार सिफारिस गर्ने, उम्मेदवारीका लागि दबाब दिने र उम्मेदवारबारे अन्तिम निर्णय गर्ने कमिटी र व्यक्तिले नीतिगत निर्णयका सन्दर्भमा जिम्मेवारी लिनुपर्छ ।

अन्यथा कारणले आत्मालोचना गरेर सफाई पाउने भएपछि परिणामलाई मात्र कडा कारवाहीको माग गर्नु उचित हुन्न । वागी र विपक्षीको पक्षमा प्रचार गरेको, विपक्षी उम्मेदवारबाट पैसा र प्रलोभनमा परेर काम गरेका र सहायक रुपमा अन्यलाई गल्ती कमजोरीको प्रकृतिअनुरुप कारवाहीको सिफारिस गरिएको छ ।

धनुषा जिल्लाबाट केन्द्रीय कार्यालय दर्ता नं. ६२२ मा जिल्ला संयोजक रामचन्द्र मण्डललगायतबाट के.स.असर्फी भिनवार यादवलगायत १८ जनाविरुद्ध उजुरी परेको थियो । असर्फी भिनवारलाई केन्द्रीय सदस्य भएर पनि प्रत्यक्षमा उम्मेदवारी नपाएकै कारण असन्तुष्ट र अराजकहरुको सक्रिय नेतृत्व गरेकाले केन्द्रीय सदस्यबाट तीन महिना निलम्बन गर्न सिफारिस गरिन्छ । यसैगरी, पूर्व राज्यसमिति सदस्य फर्मुद नदाफले आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेकाले पार्टी सदस्यता रहने गरी जिल्ला समिति र मोर्चाको नेतृत्वबाट हटाउन सिफारिस गरिन्छ ।

पूर्व राज्यसमिति सदस्य बुधराम यादव, सरोज यादव, देवेन्द्र यादव, रामसुगत ठाकुर, रामजगत यादव र इन्द्रदेव यादवसमेत ६ जनाले विद्रोही उम्मेदवारलाई सहयोग गरेकाले पार्टी सदस्यता कायम रहने गरी अन्य सबै जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ । पूर्व राज्यसमिति सदस्यद्वय देवसागर दास र मनिष जर्घामगरले पार्टी उम्मेदवारको पक्षमा जिम्मेवारीपूर्वक नलागेकाले भविष्यमा यस्तो नगर्ने शर्तमा कडा आलोचनाको सिफारिस गरिन्छ ।

सप्तरी जिल्ला क्षेत्र नं. ४ का उम्मेदवार कलाम खाँले छेदीरजक सफी, चन्द्रदेव मण्डल, सिंहेश्वर साह, देवलाल माली, रामप्रसाद मण्डल, प्रेमनारायण यादव र तनुकलाल शर्मासमेत सात जनामाथि उजुर गरेकोमा उम्मेदवार चित्त नबुझे पनि विद्रोही उम्मेदवारलाई सघाउनु गल्ती भएकाले पार्टी सदस्यता कायम रहने गरी अन्य सबै जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ । सिरहा जिल्ला क्षेत्र नं. ६ का अमरनाथ यादवले के.स.महेन्द्र पासवान, फुलेगन नायक, रामकुमार यादव, रामकुमार पासवान र ठगु मण्डलसमेत विरुद्ध उजुरी दिएकोमा कडा आलोचना गर्न सिफारिस गरिन्छ ।

पूर्व राज्यसमिति सदस्य रामकुमार यादवको निर्वाचनका बेला जिम्मेवारी धनुषामा कार्यक्षेत्र परेकाले र ठोस प्रमाण नभेटिएकाले कारवाही गर्नु नपर्ने । पूर्व राज्यसमिति सदस्य रामकुमार पासवान २०६४ को संविधानसभा सदस्य भइसकेकाले समानुपातिक उम्मेदवारी नपाएकोमा असन्तुष्ट हुन सुहाउँदैन । पूर्व राज्यसदस्य ठगु मण्डलले जिल्लाको संवेदनशीलतालाई बुझ्न नसक्नु र निर्वाचनको अन्तिम क्षणमा ६ नं. क्षेत्रमा निष्क्रिय हुनुले शंका पैदा गर्ने ठाउँ दियो ।

सिरहा क्षेत्र नं. १ मा देवनारायण महतोले गमकलाल थारु र अशोकरामविरुद्ध दिएको उजुरीउपर छानबिन गर्दा विपक्षी उम्मेदवारसँग घनिष्टता देखाएकाले पार्टी सदस्यता कायम राखी सबै जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ । महोत्तरी जिल्ला क्षेत्र नं. २ का तुलसीप्रसाद ढुंगानासमेतले दिएको उजुरीको छानबिन गर्दा केन्द्रीय सल्लाहकार कलाउद्दिन रायनको सम्बन्धमा उम्मेदवारी नपाएकोमा उदासिनता देखिएकोले सचेत गराउनुपर्ने सुझाव गरिन्छ ।

सर्लाही क्षेत्र नं. ३ का केदार खत्रीले बहानाबाजी गरेर छानबिन समितिका सदस्य डिलाराम आचार्यसँग भेट्न नचाहेको र जनतासँग बुझ्दा अन्तर्घात गरेको देखियो । अतः सदस्यता कायम रहने गरी सबै तहबाट हटाउन सिफारिस गरिन्छ । बारा जिल्ला क्षेत्र नं. १ मा प्रत्यक्ष उम्मेदवार ज्वालाकुमारी साहले पूर्वराज्य सदस्य हरि चौलागाईं र शम्भु मण्डलविरुद्धको उजुरीमा छानबिन गर्दा हरि (लाल किरण) उम्मेदवारको छनोटमा चित्त नबुझेपछि उत्तेजित भएर टिकाटिप्पणी गरे पनि परिवारकी गीताले समानुपातिकमा उम्मेदवारी पाएपछि सम्हालिएको देखिन्छ । के.स. दिनेश पटेल र राकेश यादवलाई पनि कमजोरी भएको स्वीकार गरी आलोचित हुन सिफारिस गरिन्छ ।

बारा निर्वाचन क्षेत्र नं. ४ मा प्रत्यक्षका उम्मेदवार सुरेशप्रसाद साहसहित १०४ जनाले दिएको पूर्व राज्यसदस्य रामराज चौधरी, उषाकिरण अन्सारीसमेत ७ जनामाथिको उजुरीमा छानबिन गर्दा जिल्ला संयोजक जयराम दाहालले निर्वाचनमा सहज वतावरण बनाउन पहल गर्दा उम्मेदवार सुरेश बैठकमा नआउनुले झन् असहज बन्दै गयो । ६ मा पूर्व राज्यसदस्य ताराबहादुर कार्कीबाट परेको जिल्ला संयोजक तथा के.स. जयराम दाहालविरुद्धको उजुरीमा छानबिन गर्दा कुनै ठोस तथ्य पाइएन । उजुरकर्ता स्वयंले एमालेमा प्रवेश गर्ने आशय राखिसकेका छन् ।

पर्सा जिल्ला क्षेत्र नं. ४ मा प्रह्लाद गिरीले हालेको पूर्व राज्यसदस्य बलिराम साह, हिरा साह तेली र तितरीदेवी तेलीविरुद्धको उजुरीको छानबिन गर्दा उम्मेदवारको विषयमा असन्तुष्टिका कारण केही उदासिनता देखिए पनि अन्तर्घात गरेको तथ्य पाइएन । बरु प्रह्लाद गिरी हाल एमालेमा प्रवेश गरेको घटनाको अध्ययन गरेर शिक्षा लिनु जरुरी देखिन्छ । भविष्यमा पार्टी प्रवेशलाई खुकुलो नबनाउन आग्रह गरिन्छ ।

तनहुँ क्षेत्र नं. १ मा राजकृष्ण श्रेष्ठले के.स. भीमप्रसाद गौतमविरुद्ध गरेको उजुरीमा छानबिन गर्दा अन्तर्घात गरेको पुष्टि हुँदैन तर समानुपातिक उम्मेदवार बनाउन पैसा लिएको आभाष हुनेजसरी तल्लो कमिटीमा प्रस्तुत हुँदा केन्द्रीय सदस्यको गरिमा नराखेको देखिएकाले सामान्य आलोचनाको सिफारिस गरिन्छ । तनहुँ क्षेत्र नं. १ मा ओमकुमारी प्रत्यक्षतर्फ उम्मेदवार नपाएपछि पूरै निष्क्रिय बसेको र समानुपातिकतर्फको उम्मेदवार भएर पनि प्रचारमा नहिँडेको हुनाले कडा चेतावनी दिन सिफारिस गरिन्छ । ओमप्रसाद पौडेल, महिला मोर्चाको केन्द्रीय अध्यक्ष सीता पोखरेल उम्मेदवार हुँदा त्यति धेरै रुष्ट हुनु उचित देखिँदैन । विजय दवाडीले कांग्रेसको झण्डा बोकेकाले पार्टी सदस्यताबाट निश्कासन गर्न सिफारिस गरिन्छ ।

डोटी जिल्ला क्षेत्र नं. १ मा प्रत्यक्षतर्फका उम्मेदवार मोहनबहादुर बमबाट जिल्ला संयोजक त्रिलोचन भट्ट, क्षेत्र नं. १ का संयोजक जनार्दन जोशी, पूर्व राज्यसमिति सदस्य चन्द्रदेव ओझा र पूर्व वागी उम्मेदवार (फिर्ता लिएको) डिसिएम योगेन्द्र बोहरालगायत ६ जनाविरुद्ध परेको उजुरीउपर छानबिन गर्दा बमको उम्मेदवारीप्रतिको असन्तुष्टिले बागी उम्मेदवारसम्म पु¥यायो, बागीले उम्मेदवारी फिर्ता लिए पनि आशंका र असन्तुष्टि कुनै न कुनै रुपमा व्यक्त भई नै रह्यो, जसको फाइदा विपक्षीले लिए । उम्मेदवार बममाथि कांग्रेसको सांघातिक आक्रमणपछि पार्टी पंक्तिबीचको सम्बन्ध असहज भयो । मुख्य रुपमा जनार्दन जोशी र चन्द्रदेव ओझा र सहायक रुपमा त्रिलोचन भट्टको कमजोरी पाइयो ।

अछाम जिल्ला क्षेत्र नं. १ मा तत्कालीन जिल्ला संयोजक खगेन्द्र रोकायले क्षेत्र नं. १ का उम्मेदवार दिपक साउद र के.का. दर्ता नं. ५७७ क्षेत्र नं. २ मा प्रत्यक्षका उम्मेदवार झंकरबहादुर रावलले अक्कल रावल, रणबहादुर बिष्ट, रामराजनाथ, निर्वाचन क्षेत्र नं. १ परिचालन संयोजक झंकर साउद (भाष्कर) र जानकी साउदविरुद्ध हालेको उजुरीमा छानबिन गर्दा जिम्मेवार कमरेडहरुबीचको असमझदारीले अन्तर्विरोध र आशंकाको अनन्त श्रृंखला खडा भएको पाइयो ।

हुम्ला जिल्लामा छिमी लामा र वीरजंग शाहीलाई पार्टी सदस्यता मात्र कायम रहने गरी सबै जिम्मेवारीबाट हटाउन र वातावरणलाई सहज बनाउन नसक्नु के.स. कार्चेन र उम्मेदवार छक्कबहादुर लामाको कमजोरी देखिएकाले दुवै जनालाई आलोचना गर्न सिफारिस गरिन्छ ।

गुल्मी जिल्ला क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फका उम्मेदवार वामदेव क्षेत्री घिमिरेले चन्द्रबहादुर थापाविरुद्ध दिएको उजुरीमाथि छानबिन गर्दा चन्द्रबहादुरलाई नेतृत्वले जिल्लामा रहेको असमझदारी साफ गर्न एकपटक गइदिन अनुरोध गर्दा नजानु गल्ती भएकाले आलोचना गर्न सिफारिस गरिन्छ ।

रुपन्देही क्षेत्र नं. ३ मा यस क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार भरत अर्यालले वामदेव क्षेत्री, यज्ञ पोखरेल, लक्ष्मी भुर्तेल (ज्ञानप्रसाद) र विश्वदीप पाण्डेविरुद्ध दिएको उजुरीउपर छानबिन गर्दा यसमा धेरैको नाम जोडिए पनि ज्ञानप्रसादले एकातिर विपक्षी कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई भोट हाल्न लबिङ गरेको र अर्कोतिर आफ्नै पार्टीको उम्मेदवारसँग सोही समयमा पाँच लाखभन्दा बढी बुथ खर्च भनी लिएको पुष्टि हुन आएकाले पार्टीको सबै जिम्मेवारीबाट हटाउनुका साथै ६ महिना पार्टी सदस्यबाट निलम्बन र ५ लाख ८० हजार उम्मेदवारलाई फिर्ता दिलाउन सिफारिस गरिन्छ ।

रुपन्देही क्षेत्र नं. ७ का मकसुद अलीबाट पूर्व राज्यसदस्य रामदेव यादवलगायतका विरुद्ध उजुरी परेकोमा अन्य कमरेडहरु राज्य कमिटीभन्दा तल भएकाले रामदेवले अन्तर्घात गरेको पुष्टि हुन नसके पनि क्षेत्र नं. ७ मा उदासिन देखिएकाले आलोचना गर्नुपर्ने ।

कपिलवस्तु क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फको उम्मेदवार सन्तोषी पाण्डेले क्षेत्र नं. ४ का संयोजक जनक चौधरी, पूर्वराज्यसदस्य रमेश यादव (मुकुत यादव), रणजित यादव (नन्दकिशोर यादव) र जगत केसीविरुद्ध दिएको उजुरीमाथि छानबिन गर्दा तथ्य प्रमाणले पुष्टि गरेन, बरु उल्टै गलत मनसायले उजुर गरेको देखिन्छ । यसर्थ इलियास मुसलमान, इन्द्रबहादुर चौधरी, जगत केसी, मुकुत यादव र नन्दकिशोर यादवलगायतलाई आलोचना गर्न सिफारिस गरिन्छ ।

काठमाडौं क्षेत्र ५ का प्रत्यक्ष उम्मेदवार महेन्द्र श्रेष्ठले पूर्व राज्यसदस्य शिव कोइरालाविरुद्ध दिएको उजुरीउपर छानबिन गर्दा उम्मेदवार हुने शिवको इच्छा चएको र पहल गर्दा नपाएपछि असन्तुष्ट भएका कारण पार्टीले अर्को क्षेत्रमा सरुवा गरेको पाइयो । काठमाडौं क्षेत्र नं. ३ का उम्मेदवार गणेश रेग्मीले मनु हुमागाईं, लक्ष्मण कार्की, गणेश लामा र विश्वनाथ योञ्जनविरुद्ध हालेको उजुरीमा छानबिन गर्दा बागी उम्मेदवारी दिन लगाएर असहज स्थिति बनाएको, फिर्ता लिएपछि केही सकारात्मक भए पनि सक्रिय नभएकाले आशंकाको स्थिति बनिरहेको देखिन्छ ।

नुवाकोट क्षेत्र नं. ३ मा बलरामप्रसादको नेतृत्वमा बनेको तीन सदस्यीय आयोगले छानबिन गरेकोमा बेदनिधि मुडभरी र राधिका तामाङले अन्तर्घात गरेको देखिँदैन । एक आरोपी रामलाल भट्टले कांग्रेसको पक्षमा काम गरेको र हाल वैद्य माओवादीमा प्रवेश गरेको पुष्टि भएकाले निश्कासनको औपचारिकता पूरा गर्नुपर्ने छ ।

धादिङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फका उम्मेदवार के.स. पुष्पविक्रम मल्लबाट पूर्व राज्य कमिटी सदस्य क.उत्तम कँडेल, तारा भण्डारी, रामबहादुर भण्डारीविरुद्धको उजुरीमा छानबिन गर्दा अन्तर्घात पुष्टि गर्न निकै गाह्रो भए पनि चुनावमा सहयोग नगरेको मात्र होइन, भ्रमपूर्ण कुरा गरेकाले रामबहादुर भण्डारीबाहेक अन्य दुईलाई कडा चेतावनी दिन सिफारिस गरिन्छ ।

भक्तपुर जिल्लामा समानुपातिक उम्मेदवार भाष्कर प्रधानांगले पूर्व राज्यसदस्य ओम वाग्ले र कृष्णहरि सैंजुविरुद्ध हालेको उजुरीमा छानबिन गर्दा आपसी मनमुटाव र तिक्तता चर्को देखियो । सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार गंगानारायण श्रेष्ठले लेखनाथ दाहाल (राजन) विरुद्ध दिएको उजुरीमा छानबिन गर्दा डिसिएम तथा नगर सचिव दीपराज बस्नेतलाई क्षेत्र नं. २ मा कुनै काम नदिएकोमा उनले गुनासो गरेपछि १ नं. क्षेत्रमा सहयोग गर्न राजनले बोलाएको देखिन्छ ।

कैलाली जिल्ला क्षेत्र नं. ५ मा प्रत्यक्षतर्फका उम्मेदवार के.स. लेखराज भट्टबाट के.स. शक्ति बस्नेत र जिल्ला संयोजक हरिप्रसाद चौधरी (उत्सव) विरुद्ध परेको उजुरीमा छानबिन गर्दा असन्तुष्ट थारु समुदायका युवाले त्यो गाउँको निर्वाचन कार्यक्रममा लेखराजलाई निकै अप्ठ्यारो पर्ने गरी प्रश्न राखेको कुरासमेतले उहाँलाई उत्सवप्रति शंका पैदा हुनु स्वाभाविक देखिन्छ । बाख्रा हराउनु र चितुवा कराउनुजस्तै भयो ।

कञ्चनपुर जिल्लामा मनवीर ओड, श्यामकुमार राना र अनिल कसमार गिरीबाट के.स. खड्ग बस्नेत र अजबसिंह रानाविरुद्ध परेको उजुरीमा छानबिन गर्दा निर्वाचनभन्दा केही महिनाअगाडिदेखि नै जिल्ला पार्टीका पूर्व राज्यसमिति सदस्यबीचको चर्को विवादमा के.स. खड्ग बस्नेत तानिनुभएको थियो ।

बर्दिया क्षेत्र १ मा निर्वाचन इञ्चार्ज पूर्व राज्यसदस्य केशव पौडेलविरुद्धको उजुरीको छानबिन गर्दा आफूले प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी नपाएपछि रुष्ट भएर जिम्मेवार कमरेडले उम्मेदवारको विरुद्धमा बोल्दै हिँडेको र शंकास्पद गतिविधि गरेको देखिएकाले नसिहतसहित कडा आलोचना गर्न सिफारिस गरिन्छ ।

बाँके जिल्ला क्षेत्र नं. ४ मा बागेश्वरी गाविसको नाममा ३ नं. क्षेत्रका संयोजक डम्बर वि.क.विरुद्ध परेको उजुरीको छानबिन गर्दा ४ नं. की उम्मेदवार के.स. पूर्णकुमारी सुवेदीको उम्मेदवारीप्रति चित्त नबुझी नकारात्मक भाव दिने अभिव्यक्ति दिनु डम्बरको कमजोरी देखिन्छ । बाँके क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार दामोदर आचार्यबाट के.स. महेश्वर गहतराज, के.स. पूर्णकुमारी सुवेदी र के.स. अतहर हुसेन फारुकी, पूर्व राज्यसदस्यहरु डम्बर वि.क., वेदप्रसाद आचार्य र सालिकराम सापकोटासमेतका विरुद्ध परेको मौखिक उजुरी प्राविधिक कारणले छुट्न गएकाले जिल्लामा केन्द्रीय सदस्यहरुसहित सम्बद्ध सबै पक्ष बसेर हल गर्न निर्देशन उपयुक्त हुन्छ ।

खोटाङ जिल्लामा के.स. रामकुमार राईले दिनुभएको उजुरीको छानबिनका लागि हरिशचन्द्रसँग सम्पर्क गर्दा सम्भव नभएकाले लामो समय सम्पर्कविहीन भएको आधारमा जिल्ला समितिबाट निलम्बन गर्न र उजुरीलाई मुल्तवी राख्न सिफारिस गरिन्छ ।

टिप्पणीहरू