चिनियाँ विदेशमन्त्रीको भ्रमणमा हुनसक्ने सहयोगका घोषणा
आगामी शुक्रबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले घोषणा गर्ने द्विपक्षीय सहयोगका एजेण्डा फाइनल गर्न दुवै देशका उच्च अधिकारीहरु जुटेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएको झण्डै एक महिनापछि नेपाल आउन लाग्नुभएका उत्तरी पाहुनाले सहयोगको प्याकेजको घोषणा गर्ने आकलन गरिएको छ ।
कूटनीतिक स्रोतका अनुसार यस पटकको भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सरकारी र जनस्तर दुवैबाट थप प्रगाढ बनाउन विशेष पहल गरिने छ । विदेशमन्त्री वाङले केरुङ्ग नजिकैको स्याफ्रुबेसीदेखि रसुवाको सदरमुकाम धुन्चेसम्मको सडकलाई थप फराकिलो बनाइदिने घोषणा गर्नुहुने बुझिएको छ ।
“मुलुकभर अधिकतम सरकारी तथा सामुदायिक विद्यालय भवन निर्माणको लागि पनि चीनले सहयोगको हात फैलाउने बताइएको छ ।”
त्यस्तै कोदारी र केरुङपछि नेपालको पश्चिमतिर व्यापारिक प्रयोजनको निम्ति नयाँ नाका खोल्ने सम्बन्धमा पनि दुई देशबीच समझदारी हुने छ । पश्चिमतर्फका नाकामध्ये तत्कालको निम्ति मुस्ताङको कोरोला नाकाबाट व्यापार गर्न सक्ने बनाइन लागेको हो । अढाइ बर्षअगाडि रास्ट्रपति सि चिन्फिङ्ग आउँदा सम्झौतामा परेका १७ मध्ये अधिकाँश बुँदा कोरोना महामारीसमेतको कारणले कार्यान्वयन हुन सकेका छैनन् ।
त्यसैगरी मुलुकभर अधिकतम सरकारी तथा सामुदायिक विद्यालय भवन निर्माणको लागि पनि चीनले सहयोगको हात फैलाउने बताइएको छ । यी लगायत चीनले कूल ३० वटा जति परियोजना समेटिएको सहयोग प्याकेजको घोषणा गर्न लागेको स्रोतले दाबी गरेको छ ।
टिप्पणीहरू