उनलाई यहाँसम्म ल्याउने परिस्थिति के हो ?
लामो समय मधेसकेन्द्रित राजनीतिमा सक्रिय रामेश्वर राय यादव ०७४ को निर्वाचनअघि माओवादीमा प्रवेश गरे । सर्लाहीबाट निर्वाचित र ०५२ सालमा लोकेन्द्रबहादुर चन्दको सरकारमा मन्त्री चलाइसकेका उनी ओली सरकारमा श्रममन्त्री थिए । ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि यादवले ०७७ पुसमा आफ्नो समूहप्रति उत्तरदायित्व प्रस्तुत गर्दै मन्त्रीबाट राजीनामा दिएका थिए ।
– हरि गजुरेल
अचेल हरेक बिहानजस्तो खुमलटारस्थित प्रचण्ड निवासतिर देखिनुहुन्छ । अध्यक्ष प्रचण्डसँग केही खोज्दै हुनुहुन्छ कि ?
– पार्टी प्रवेश वा संस्थागत केही कार्यक्रम भएको खण्डमा अध्यक्षको अनुमति लिएर मात्र खुमलटार जान्छु । अरू व्यक्तिगत कामले गएको होइन ।
पटक–पटक मन्त्री भइसक्नुभएको । मधेशको राजनीति छाडेर माओवादीमा पस्नुभयो । त्यहाँ कसरी व्यवस्थापन भएको छ, तपाईको ?
– माओवादीभित्र मनमा लागेका कुरा खुलेरै राख्न पाइन्छ । त्यही कारण पहिलेका पार्टीभन्दा त्यहाँ अलि बढी रमाएको छु । परिवर्तनको एजेण्डा बोकेर सद्भावना पार्टीबाट राजनीति प्रारम्भ गरेको हुँ । मधेशवादी दलको मुद्दाभन्दा पनि अन्यत्र ध्यान बढी भएकाले त्यता छाडेको हुँ ।
कस्तो अन्यत्र भन्न खोज्नुभएको ?
– व्यक्तिगत स्वार्थ, निजी वृत्तिविकास र आफन्तको घेराभन्दा बाहिर निस्कन नसक्ने अवस्था अझै पनि मधेशका पार्टीहरूमा छ । मधेशमा नेपाली कांग्रेस स्थापित पार्टी हो । र, जम्प नै गर्नु छ भने ठूलो लक्ष्य लिएर आँटका साथ अघि बढ्ने पार्टीलाई स्वीकार गरौं भनेरै माओवादी रोजेको हुँ ।
तपाईंले माओवादी बनाएकाहरूको अवस्थाचाहिँ कस्तो छ ? उनीहरू भूमिकाविहीन छन् वा केही जिम्मेवारी पनि पाएका छन् ?
– महाधिवेशनपछि धेरै साथीको व्यवस्थापन भइसकेको छ । केहीको हुँदै छ । जहाँ भीडभाड बढी हुन्छ, त्यहाँ महत्वाकांक्षी धेरै हुन्छन् । मैले माओवादी बनाएका साथीहरूले वडादेखि केन्द्रसम्म कुनै न कुनै जिम्मेवारी बोकिरहेका छन् ।
के फरक पाउनुभो मधेश र माओवादीको मुभमेन्टमा ?
– दुई वटैमा एकरूपता छ, जडतादेखि अलग, परिवर्तनका लागि लडेको । एकात्मक शासन व्यवस्था हटाएर संघीयतामा जाऊँ भनी गजेन्द्र बाबुकै पालादेखि लाग्दै आएका हौं । माओवादीले हतियार उठायो । मधेसी दलहरूले हतियार उठाउनु परेन । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीका साथ जसरी माओवादी अगाडि बढ्छ, मधेशवादी दलमा त्यस्तो स्थिति अझै छैन ।
आफ्नो सहभागिता, उपस्थिति बढी खोज्ने तर निर्णय आफूअनुकूलको गर्ने वा गराउने प्रवृत्ति बढी भएका कारण मधेशवादी दलभन्दा माओवादीमा इमान्दारी अलि बढी पाएको छु ।
सद्भावना पार्टीबाट राजनीति प्रारम्भ गरी आफैं पार्टी पनि खोल्नुभयो । यसरी पार्टी फेरिरहँदा व्यक्तिगत जीवनमा कत्तिको असर पर्दाे रहेछ ?
– मान्छेका मनमा नानाथरी प्रश्न उठ्ला– किन यो मान्छेले यति धेरै दलबदल गरेको ? म एउटा सामान्य किसानको छोरा । जुन खेतमा कुनै अनाज रोप्छु, त्यहाँ फल नफल्ने स्थिति भयो भने या खेत परिवर्तन गर्नुपर्ने हुन्छ वा अनाज । जसरी कुन बीउका लागि कुन किसिमको माटो उपयुक्त हुन्छ किसानले विश्लेषण गरिरहेको हुन्छ उसैगरी मैले उपयुक्त दल रोजेको हुँ ।
पार्टीमा केही खुड्किला पार गर्दै गर्दा व्यावहारिक रूपमा केही बाधा महसुस गरेँ । त्यसपछि लोकतान्त्रिक फोरममा पुगें । परिस्थितिवश आफैं पनि पार्टी खोल्नुपर्ने स्थिति बन्यो । त्यसलाई दलबदलु भन्दा पनि प्रगतिशील हुन बाटो खोज्दै हिँडेको रूपमा बुझ्नुपर्ला ।
मधेश प्रदेशको मनोविज्ञान कस्तो पाउनुभएको छ ?
– आगामी निर्वाचनमा मधेशले बिगतको भैmँ परिवर्तन खोजेको छ । अहिलेसम्म मधेशको मुद्दालाई जसरी माओवादीले संबोधन र उठान गरिरहेको छ त्यसरी अन्य दलले सूक्ष्म रूपमा व्याख्या गरेर अगाडि बढेको पाइँदैन । स्वयं मधेशवादी दलसमेत यो मामलामा चुकेको पाएको छु । मधेश आन्दोलनबाटै जन्मिएका उपेन्द्र यादवहरु तर अहिले २ नम्बरबाट मधेश प्रदेश नाम राख्नुपर्छ त माओवादीले भनेको हो नि !
जुन उद्देश्यले आन्दोलन भएको थियो, त्यही उद्देश्य प्राप्त भइसके (संघीयता) पछि मधेश प्रदेश नाम राख्न किन शरम मान्ने ? माओवादी मुख्यमन्त्री भएको अन्य प्रदेशले जनआन्दोलन दिवस मनाएन तर मधेश प्रदेशले यही दिन सार्वजनिक बिदा र सहिदका परिवारलाई तीन लाख रूपैयाँ दिएको छ । यसरी मधेशमा माओवादीप्रतिको आकर्षण बढेको छ ।
अबको ६० दिनपछि स्थानीय तहको निर्वाचन भएमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतको पोजिसन कस्तो देख्दै हुनुहुन्छ ?
– अब उपेन्द्र यादव, माधव नेपाल, माओवादी र नेपाली कांग्रेसबीच तालमेल हुनेछ । गठबन्धन टुट्दैन, चुनावसम्म जान्छ । त्यसो भएको खण्डमा सहअस्तित्व स्वीकार्ने कुरा हुन्छ । हिजोको निर्वाचनमा जसले जहाँ जितेको थियो, त्यही स्थानमा लड्नसक्ने वातावरण बन्न सक्छ ।
यसअघि ओलीको छवि मधेशविरोधी नेताको रूपमा रहेको थियो । उनी सत्तामा हुँदा छवि सुधार भएको छ भनिँदै छ । वास्तविकता त्यस्तै हो ?
– अहिलेको गठबन्धनमा परिस्थितिले अटाउन नसकेका महन्थ ठाकुर, राजेन्द्र महतोहरूले केपी ओलीसँग सहकार्य गर्ने परिस्थिति आइरहेको छ । त्यो परिस्थितिमा उहाँहरूले भन्नु एउटा कुरा हो तर समष्टीगत रूपमा त्यस्तो अवस्था छैन । हिजो संविधान घोषणा र नाकाबन्दीताका ओलीले मधेशवादी दल र तिनको आन्दोलनविरुद्ध दिएका अभिव्यक्तिका कारण एमाले र ओलीलाई हेर्ने मधेशको दृष्टिकोणमा अझै सुधार आएको छैन ।
हिजो मधेश प्रदेशमा कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २६, राजपाले २५ र माओवादीले २१ स्थानीय तह जितेकामध्ये एमालेको १८ वटा मात्र हो गठबन्धन हुँदा । यद्यपि, अहिले केही शक्ति आफ्नो इच्छा पूरा गर्न तोडमरोड गराउने खेल भइरहेको छ । त्यसको परिणति के हुन्छ, अहिले नै भन्न सकिँदैन ।
पछिल्लो समय ओलीले मधेश दौडलाई तीव्र पारेका छन् । प्रदीप ज्ञवाली, शंकर र ईश्वर पोखरेलहरूले मधेशमै कार्यक्रम गर्दै छन् । विजय सरावगीलाई हालै एमालेमा भिœयाइसकिएको छ । कसरी लिनुहुन्छ यी घटनाक्रमलाई ?
– विजय सरावगी स्वेच्छाले एमाले प्रवेश गरेका होइनन् । उनकै अन्तर्वार्ताबाट यो प्रष्ट हुन्छ । उनले कांग्रेसमा पस्ने सोचिसकेका थिए । परिस्थितिले यहाँसम्म ल्यायो भनिसकेपछि त्यो परिस्थिति के हो ? मधेशमा यस्तो परिस्थिति बन्दै छ । कुनै शक्तिले खेल्दै छ त्यहाँ । कसैले लादेर लिडरसिप कायम हुँदैन । स्वतस्फूर्त आउनुपर्छ ।
सिके राउतको अवस्था कस्तो देख्दै हुनुहुन्छ ?
– अन्तर्राष्ट्रिय गेम नेपालमा खेलिँदै छ । त्यसको एउटा गोटी सिके राउत पनि हुन् ।
मधेश प्रदेशलाई किन क्रीडास्थल बनाउँदै छन्, शक्तिकेन्द्रहरूले ?
– स्वाभाविक रूपमा जो ठूलो हुन्छ, त्यहीं खेल हुन्छ । बाग्मती प्रदेशपछि सबैभन्दा ठूलो प्रदेश मधेश नै हो जनसंख्याको हिसाबले । अर्काेतिर खुला बोर्डरको असर पनि परिरहेको हुन्छ । विगतमा आन्दोलनको उत्थान पनि त्यहीं भएको कारण केही शक्तिले खेलिरहेका छन् ।
हिजोको दम्भ देखाउन केपी ओली लागिरहनुभएको होला । कांग्रेस पुरानो पार्टी भएको, माधव नेपालको जन्मभूमि नै मधेश भएको र हामी पनि मधेशकै भएका कारण परिवर्तनका निम्ति लागिरहेका छौं । यसपटक मधेशले एउटा कोर्स लिन्छ ।
मधेश मुक्तिका लागि दर्जनौं पार्टी छन् तर जनताको अवस्था उस्तै छ । स्विकार्नुहुन्छ यो वास्तविकता ?
– मधेशी जनताको समस्या उठाउने तर आफ्नो हातमा निर्णय गर्ने अवसर हुँदा त्यसअनुरुपका कार्यक्रम तर्जुमा नगर्ने । नागरिकता समस्या छ । नागरिकता विधेयक हाउसमा आउन सकिरहेको छैन । बजेट, एमसीसी, महाअभियोग हुलदंगामै पास भइरहेको छ तर नागरिकता विधेयकप्रति उदासीनता देखिन्छ ।
नागरिकता समस्या मधेश मात्र हैन, पहाड, हिमालमा पनि उस्तै छ । यस्ता संवेदनशील समस्यालाई साझा समस्याको रूपमा उठान गर्न हामी पनि कता कता अल्मलियौं कि ?
मधेशी जनताको मुक्तिका लागि लडेका पार्टी नै जातीय मुद्दामा अल्झिएको देखिन्छ । ती पार्टीमै ब्याकवार्ड र फरवार्डको लफडा कसरी सल्टाउने ?
– मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या यादव, मुसलमान, थारूको छ । मानसिक रूपमा विकासको मूलधारभन्दा अलग अविकसित समुदाय छ । विकसित युरोपियन देशमा जातपातले धेरै काम गर्दैन । अहिले भारतीय निर्वाचनकै मत परिणाम हेरौं न, आमआदमी पार्टीले जातपातभन्दा माथि उठेर परिणाम देखायो ।
उसैगरी बिजेपीले जातपातभन्दा माथि उठेरै स्विप ग¥यो । जातपातको राजनीतिमा लाग्दा लालु यादव फस्नुभयो, अहिले अधोगति भइरहेको छ । मुलायम सिंहको छोरा अखिलेष यादव (समाजवादी पार्टी) ले जातपातलाई बेस बनाएर राजनीति गर्दा दिगोपना भएन ।
त्यही देखेर माओवादी बन्नुभएको हो ?
– मलाई जातपातमा विश्वास लाग्दैन, यस्तो राजनीति गर्दा पनि गर्दिनँ । जातपातमा खुट्टा तान्ने प्रवृत्ति धेरै हुन्छ । अघिल्लो निर्वाचनमा मत माग्न जाँदा तपाईं त यादव हो, हामी मत दिइहाल्छौं भन्थे ।
सरकारको काम गराइबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– गठबन्धन सरकारमा एक–अर्काेलाई शंका गर्ने, खुट्टा तान्ने प्रवृत्ति बढी हुन्छ । प्रधानमन्त्री भएको पार्टीको भूमिका अर्कै खालको हुन्छ । यस्तो अवस्थामा माओवादीले चाहेकै जसरी काम गर्न, कार्यक्रम अगाडि बढाउन सक्दैन । यद्यपि, ओली सरकारको भन्दा धेरै कम्फरटेबल छ यो ।
ओली सरकारको श्रममन्त्रीका रूपमा कार्यरत रहँदा के–कस्ता अप्ठ्यारा झेल्नुप¥यो ?
– ओली सरकारमा उहाँबाहेक अरु सबै मन्त्री कर्मचारीजस्ता थिए । मन्त्रीहरू गुनासो पोख्थे । हरेक दिन रिपोर्टिङ गर्नुपथ्र्याे । उहाँले भनेको काम मात्र हुन्थ्यो, अरु काम रोकिन्थ्यो । मैले श्रमिक सूचना, श्रमिक बैंक खोल्न खोजेको थिएँ ।
नेपाल रेमिटेन्सबाटै चलेको देश, श्रमिकलाई सम्मानजनक र सुरक्षित व्यवस्था गर्नका लागि सातै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्न खोजेको थिएँ तर केपी ओलीले साथ दिनुभएन । ओली तानाशाही प्रवृत्तिको, अहंले भरिएकोे । आफूबाहेक अरुलाई मान्छे नगन्ने । अहिलेका श्रममन्त्रीले राम्रै गर्न खोजिरहनुभएको छ ।
टिप्पणीहरू