नदी दोहनले रोकिँदैछ र्‍याफ्टिङ रफ्तार

नदी दोहनले रोकिँदैछ र्‍याफ्टिङ रफ्तार

-शंकर श्रेष्ठ

सात वर्षअघिको भूकम्प र त्यसपछिको कोरोना संक्रमणले र्‍याफ्टिङमात्र नभएर देशको समग्र पर्यटन क्षेत्र नै लथालिङ्ग छ । यी त प्राकृतिक र विश्वव्यापी संकट थिए, सहनुको विकल्पै थिएन । तर, विश्व पर्यटन बजारमा चर्चित नेपालको साहसिक जलयात्रा ९र्याफ्टिङ० पर्यटनलाई यी बाहेकका मानवीय गतिविधिले पनि थप संकटग्रस्त बनाउँदै लगेको छ । विकासका नाममा भइरहेका विनासकारी गतिविधि र सरकारी अन्योलग्रस्त नीतिले यो व्यवसायको भविष्यमाथि नै प्रश्न उठाइदिएका छन् ।

पछिल्लो समय नदीमा बढ्दो प्रदूषण र दोहनले धर्मराएको र्याफ्टिङ व्यवसायलाई नदीमै बाँधबाँधेर विजुली निकाल्न पनि अनुमति दिने सरकारी निर्णयले चिन्तामा पारेको छ । भूकम्प र कोरोनाले त घटाएको थियो नै, नदीमा बढेको प्रदुषणले र्याफ्टिङ गर्ने पर्यटकको संख्या झनै घटाएको छ ।

नेपालमा विश्वका अन्य मुलुकको तुलनामा लामो दूरीसम्म र्याफ्टिङ गर्न सकिन्छ । र्याफ्टिङ गर्नकै लागि पहिले पर्यटक नेपाल आउँथे । ती पर्यटक अन्नपूर्ण, सगरमाथालगायत क्षेत्रको पदयात्रामा समेत जाने गर्दथे । त्यसैले नेपालमा पर्यटकको बसाइ लम्बिएको थियो । ‘वन डे, टू डे र हाफ डेर्याफ्टिङ विश्वको जुनसुकै देशमा पनि हुन्छ’, उद्धव कँडेल भन्छन्, ‘नेपालमा एक हप्तासम्म पानीमा रमाउँदै र्याफ्टिङ गर्न मन पराउने पर्यटक पनि आउँथे तर अहिले त्यस्तो अवस्था छैन ।’

त्रिशुली नदीका विभिन्न ठाउँमा क्याम्पिङ गर्दै सात दिनसम्म लगातार र्याफ्टिङ गर्न मिल्थ्यो । अहिले जथाभावी नदी दोहनले बास बस्ने ठाउँ छैन । क्याम्पिङ गरेर बस्ने त ठाउँ नै छैन । अर्कोतर्फ नदी दोहनका कारण पानी सधैँ धमिलो बग्छ । ‘एकैछिनको भिजाइले रुघाखोकी लाग्छ । त्यसैले पनि र्याफ्टिङप्रति स्वदेशी तथा विदेशी पाहुनाको चासो घटेको छ’, धादिङको वेनिघाटमा त्रिशुली रिभरसाइडसमेत संचालन गर्दै आएका कँडेल भन्छन् ।

पर्यटकले नेपाल नै रोज्नुको मुख्य कारण नदी किनारमा क्याम्पिङ गर्दै धेरै दिनसम्म फरक–फरक ठाउँको सुन्दरतासँग रमाउँदै र्याफ्टिङ गर्न सकिने भएर हो । विश्वका अन्य देशमा मल्टी डे र्याफ्टिङ ट्रिप नभएकाले पर्यटक त्यसको अनुभव लिन नेपाल आउँथे । भएका नदी पनि र्याफ्टिङ गर्नै नसकिने गरी प्रदूषणको चपेटामा परेकाले यो व्यवसाय चौपट भएको वर्षौदेखि र्याफ्टिङ व्यवसाय गर्दै आएका धादिङ चरौंदीका विष्णु सिलवाल गुनासो गर्छन् ।

नेपालका सबै नदी प्रदूषणको चपेटामा परेका छन् । त्यसमाथि पनि त्रिशुली नदीलाई त सरकारकै लापरबाहीले खुम्च्याइएको छ । त्रिशूली नदीको बैरेनी, गजुरी, मलेखु, चरौंदी, फिस्लिङ, कुरिनटार, मुग्लिनलगायतका क्षेत्रमा प्रदूषणमा परेको असर सिलवालले प्रत्यक्ष भोगिरहेका छन् ।

र्याफ्टिङका लागि विश्वका १० उत्कृष्ट नदीमध्ये ३ वटा नेपालमा नै छन् । काठमाडौँबाट नजिक र पर्यटकको अर्को गन्तव्य पोखरा र चितवन जाने बाटोमा पर्ने भएका कारण पनि त्रिशुली नदीमा र्याफ्टिङ गर्नेको संख्या बढी छ । तर, यही त्रिशुली नदीमा दिनदिनै अतिक्रमण र प्रदुषण भइरहेकोे छ । यसबाट र्याफ्टिङ व्यवसायीहरू चिन्तित छन् । नेपाल एसोेसिएसन अफ र्याफ्टिङ एजेन्सिज ९नारा०का अध्यक्ष गंगाप्रसाद नेपाल भन्छन्, ‘त्रिशूली, भोटेकोसी, नारायणीलगायतका चर्चित नदीमा दोहनकै कारण र्याफ्टिङ पर्यटनप्रति पर्यटकको आकर्षण घट्दोछ ।’

कालीगण्डकी, सेतीलगायतका अन्य नदीको हालत पनि उस्तै छ । र्याफ्टिङ गर्दा शौचालयको फोहोरको समेत दुर्गन्ध आउन थालेकाले पर्यटकले नेपालको विकल्प रोज्न थालेको र्याफ्टिङ गाइडहरू बताउँछन् । विगत १० वर्षदेखि विदेशमा समेत र्याफ्टिङ गराउँदै आएका कमल ठकुरीसँग स्वदेशी तथा विदेशी पाहुनाले गरेका यस्ता थुप्रै गुनासा छन् ।

नदीमा भइरहेको दोहन र सरकारकै दोहोरो नीतिका कारण नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक ९सीईओ० डा।धनञ्जय रेग्मी पनि निरास छन् । र्याफ्टिङमा अन्य मुलुकहरूले नेपालको सिको गरिरहे पनि नेपालमा भने र्याफ्टिङ गर्न सक्ने नदिहरूलाई राम्रोसँग प्रयोगमा ल्याउन सकिएको छैन । ‘संसारभर नेपालले र्याफ्टिङ सिकाएको छ । अरु देशमा नेपालको सिको गरिरहेका छन् । तर, हामीले हाम्रा नदीहरूलाई जुन हिसाबले प्रयोग गर्नुपर्ने थियो, त्यो गर्न सकेका छैनौं र हाम्रो पर्यटन क्षेत्र पछि परेको छ’, डा।रेग्मी भन्छन् ।

र्‍याफ्टिङका लागि उत्कृष्ट गन्तव्य

नेपालमा पर्वतारोहणपछि सबैभन्दा बढी सम्भावना बोकेको पर्यटन जलयात्रा अर्थात् र्याफ्टिङ नै हो । र्याफ्टिङको अथाह सम्भावना भएपनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायीहरूको गुनासो छ ।

प्रचुर सम्भावनालाई उपयोग गरी आवश्यक प्रसार र प्रवद्र्धन नहुँदा र्याफ्टिङले व्यवसायिक फड्को मार्न सकेको छैन ।र्याफ्टिङ व्यवसायलाई व्यवस्थित गर्ने सरकारी नीतिको अभाव र व्यवसायभित्रको विकृतिले यसको सान्दर्भिकता र साख गिर्दै गएको छ ।
प्रचारप्रसारको कमीले विदेशी आकर्षण कम छ । जसका कारण पछिल्लो समय र्याफ्टिङमा आन्तरिक पर्यटक नै बढी छन् ।

नेसनल जियोग्राफीका अनुसार विश्वका उत्कृष्ट १० जलयात्रामा नेपाल १०औँ स्थानमा पर्छ । स्रोत र साधनका हिसाबले नेपाल दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो । नेपालको र्याफ्टिङलाई एसियाको मुहानका रुपमा पनि लिइन्छ ।खै व्यावसायिक प्रवद्र्धन ?

तथ्याङ्क अनुसार नेपालमा छ हजार नदीनाला छन् । त्यसमध्ये १६ वटा नदीमात्र सरकारले जलयात्राका लागि खुल्ला गरेको छ,जसमध्ये त्रिशूली, भोटेकोसी, सुनकोसी र कालीगण्डकी चल्तीका व्यावसायिक गन्तव्य हुन् ।

ठूला नदी, भू–बनोट, प्राकृतिक सुन्दरताको दृश्यावलोकन तथा सहरदेखि टाढा शान्त ठाउँमा र्याफ्टिङ गर्न सकिने हुँदा नेपाल जलयात्राका लागि उत्कृष्ट मानिन्छ । यिनको मज्जा लिन एकदेखि १२ दिनसम्मका प्याकेज बनाएर विदेशीहरू आउने र सोहीअनुसार व्यवसायीहरूले प्याकेज उपलब्ध गराउने गरेका छन् ।

नदी नभएका देशहरूले र्याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाएका हुन्छन् । तर, नेपालमा प्राकृतिक नदीहरूको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्य भएकाले यहाँ जल पर्यटनमा सजिलै फड्को मार्न सकिने जानकारहरूको बुझाइ छ । तर, कुन–कुन नदी के–के कामका लागि उपयुक्त छन् भन्ने प्राथमिकता निर्धारण नहुँदा व्यवसायीहरू अलमलिएको अवस्था छ ।

निकै सम्भावना बोकेको जलयात्रा पर्यटन नेपालको पर्यटन बजारको एक सशक्त आधार मानिएपनि यसको व्यावसायिक प्रवद्र्धन भने हुन सकेको छैन । सरकारी प्राथमिकतामा खासै परेको पनि देखिँदैन । स्थानीय सरकारले केही काम थालेको भएपनि सफल हुन नसकिरहेको धादिङको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना बताउँछिन् । उनी भन्छिन्– ‘भूकम्पपछि उठ्नै नसकेको क्षेत्र भनेको र्याफ्टिङ नै हो । नदी अतिक्रमणले पनि झन् संकट निम्त्याइदिएको छ । यसबारे उचित नीति आवश्यक छ ।’

नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृति हो ।र्याफ्टिङ प्रकृतिसँग जोडिएकाले गुरुयोजनासहित विकास गर्नुपर्ने खाँचो धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी औंल्याउँछन् । र्याफ्टिङजस्ता पानीमा खेल्ने अन्य खेललाई सरकारले लगानी बढाउनु जरुरी रहेको उनको बुझाइ छ ।

‘त्रिशुली संघीय राजधानी काठमाडौंबाट नजिकको ठूलो नदी हो । यसको संरक्षणमा पालिकाले छुट्टै नीति पनि ल्याएको छ । यसलाई र्याफ्टिङजस्ता जलाशययुक्त खेलहरूमा कसरी उपयोग गर्ने र आयआर्जनको स्रोतको रुपमा प्रयोग गर्ने भन्ने विषयमा गाउँपालिकाले जोड दिनेछ’, डल्लकोटी भन्छन् ।

नाराको तथ्याङ्क अनुसार नेपालमा जलयात्राका लागि ८६ वटा कम्पनी दर्ता भएका छन् । वार्षिक रुपमा करिब ४० हजार पर्यटकले जलयात्राको मज्जा लिन्छन् । यसमा सुरुमा विदेशीहरूको मात्र आकर्षण रहेको थियो । पछिल्ला वर्षहरूमा स्वदेशीहरूको आकर्षण लोभलाग्दो ढंगले बढेको छ । अहिले ८० प्रतिशतभन्दा बढी हिस्सा नेपाली पर्यटककै छ । तर, यसको प्रवद्र्धनमा सरकारी सहकार्यको भने अझै खाँचो रहेको यस क्षेत्रका जानकारीहरू बताउँछन् ।

सरप्राइज र्‍याफ्टिङ त्रिशूलीको आकर्षण !

त्रिशली नदी भन्ने वित्तिकै शिवको त्रिशुलबाट उत्पति भएको भन्ने भनाइ छ । त्रिशुलबाट उत्पत्ति भएको नदी भएकाले यसको नाम त्रिशुली भएको हो । गोसाइँकुण्डबाट आएको नदीका रुपमा पनि त्रिशुली नदीलाई चिनिन्छ । रिभर टुरिजमको सुरुवात नै यही नदीबाट भएको पाका व्यवसायीहरू बताउँछन् ।

त्रिशुलीमा तीन हजार पाँच सयभन्दा बढी रिभर गाइडहरू छन् । त्यसैमध्येका हुन्, धादिङको वेनिघाटमा रहेको त्रिशुली रिभरसाइडका संचालक उद्धव कँडेल । कँडेलले पयर्टकलाई नदीमा डुलाउन थालेको वर्षौ भयो । नेपालका सबै नदीमा र्याफ्टिङ गरेको अनुभव उनीसँग छ ।

झण्डै १० वर्षदेखि धादिङको वेनिघाटस्थित त्रिशूली नदीमा र्‍याफ्टिङ खेल र व्यवसाय सञ्चालन गर्दै आएका कँडेल जुनसुकै देशका पर्यटकसँग पनि सजिलै संवाद गर्न सक्छन् । उनी भन्छन्,– ‘जस्तोसुकै भेल र छाल भएपनि मलाई डर लाग्दैन ।’

साहसिक खेल र्याफ्टिङलाई व्यावसायिक रूपले अगाडि बढाउन धादिङको वेनिघाटमा त्रिशुली रिभरसाइड सञ्चालन गरिरहेका पनि छन् । त्रिशूली काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।

कँडेलका अनुसार त्रिशूलीको र्‍याफ्टिङबाट पर्यटकले मज्जा लिने भनेकै छाल हो । यहाँका टुइन्ज रक, लेडिज डिलाइट, लेन्स साइट, अपसेट र सरप्राइज जस्ता मुख्य र्यापिडले गर्दा त्रिशूलीको आकर्षण बढेको हो । नेपालमा र्याफ्टिङका लागि त्रिशूलीपछि सेती, भोटेकोसी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णालीनदी महत्वपूर्ण गन्तव्यका रुपमा चिनिन्छन् ।ड्यामले अर्बौं लगानी संकटमा

त्रिशुली नदी किनारमा पर्यटन उद्योगका लागि अर्बौ लगानी भइसकेको छ । सयौं होटल तथा रिसोर्ट र पर्यटनसँग सम्वन्धित व्यवसाय सञ्चालनमा छन् । हजारौंले रोजगारी पाएका छन् ।

तर र्‍याफ्टिङ हबको रुपमा विकास हुँदै गएको त्रिशुलीको फिस्लिङमा यो व्यवसाय अवरुद्ध हुने गरी बाँध निर्माणको तयारी गरिएपछि चिन्ता थपिएको छ । उक्त ठाउँमा सय मेघावाटको सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको तयारी गरिएको छ । जलविद्युत आयोजना बन्दा विद्युत उत्पादन भएपनि त्रिशुली नदिमा हुँदै आएको र्याफ्टिङ, कायाकिङ्ग व्यवसाय भने समाप्त हुने व्यवसायीहरू बताउँछन् । यसले पर्यटन उद्योगमा भएको अर्बौ लगानी पनि डुब्ने उनीहरूको चिन्ता छ ।

नाराका महासचिव शिशिर खनालले फिस्लिङ एउटा पर्यटकीय गन्तव्य भएको बताउँदै यस ठाउँमा जलविद्युत आयोजना बन्दा र्याफ्टिङ गर्ने मुख्य क्षेत्र नै पतन हुने अवस्था आएको बताए । नेपाल आएका ८० प्रतिशत विदेशी पर्यटक र बाँकी स्वदेशी पर्यटक पनि यस ठाउँमा आउने गरेको उनले बताए ।

र्‍याफ्टिङको मुख्य क्षेत्र भनेको धादिङको गल्छीदेखि चितवनको देवघाटसम्म हो । यो र्‍याफ्टिङको लागि विश्वप्रख्यात क्षेत्र पनि हो । विदेशी पर्यटक आउँदा ८० प्रतिशतले देख्ने नदी यही हो । ५० प्रतिशत विदेशी पर्यटकले र्याफ्टिङ गर्ने नदी पनि त्रिशुली नै हो । नाराका पूर्वअध्यक्ष चन्द्र दाहाल भन्छन्, ‘र्याफ्टिङ गर्ने मुख्य क्षेत्रमा नै बाँध बन्यो भने यो व्यवसाय सकिन्छ ।’ एउटै नदीको एकै ठाउँमा सरकारले दुईवटा परस्पर विरोधी विधाका व्यावसाय गर्ने अनुमति दिएकोले दुबै कामले सफलता नपाउने उनको भनाइ छ ।

नकारात्मक प्रचारले थप संकट

भूकम्प र कोरोनाले पुर्याएको क्षतिभन्दा पनि पछिल्लो समय भइरहेको नकारात्मक प्रचारले गर्दा मुलुकको पर्यटकीय क्षेत्र नै संकटग्रस्त अवस्थामा पुगेको छ ।

संकटबाट मुक्ति पाउनका लागि थला परेको पर्यटन क्षेत्रलाई तङ्ग्रिन दिनु पहिलो आवश्यकता हो । यसका लागि विदेशी पर्यटकहरूलाई नेपालका पर्यटकीय क्षेत्रहरूको सही सलामतीको खबर दिँदै नेपाल भ्रमणका लागि ठिक छ भनेर देखाउन आवश्यक रहेको व्यवसायीहरूको ठम्याइ छ ।

यसका लागि व्यवसायी, पर्यटनबोर्ड, र अन्य सरोकारवालाहरू यतिखेर प्रवद्र्धनात्मक अभियानमा जुटेका छन् । यहि अभियानअन्तर्गत नाराले केही समयअघि त्रिशुली नदीको खटौतीमा ‘१९औं हिमालय ह्वाइट वाटर च्यालेन्ज’ महोत्सव गरेको छ । यो कोरोना महामारीपछिको पहिलो हो ।

यस्तो छ विगत

नेपालमा सन् १९९० भन्दा पहिले नै र्‍याफ्टिङको सुरुआत भएको हो । पर्यटन द्वन्द्वअघि सन् १९९० देखि २००३ सम्म र्‍याफ्टिङ  निकै राम्रो रहेको नेपाल एसोेसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा०का पूर्व अध्यक्ष दाहालले बताउँछन् । सन् १९९७ देखि १९९९ सम्म यो व्यवसायमा लाग्ने व्यवसायीले सबैभन्दा बढी आम्दानी लिएको उनको भनाइ छ ।

टिप्पणीहरू