पशुपतिले अत्याएका एमालेजन र प्रकाशले बिच्क्याएका माओवादीजन

पशुपतिले अत्याएका एमालेजन र प्रकाशले बिच्क्याएका माओवादीजन

-विराट अनुपम

२०७५ जेठ ३ गते नेकपा (एमाले) र (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । केपी शर्मा ओली नेतृत्वमा दुई तिहाइ नजिकको सरकार थियो । त्यहीबेला एउटा गीत बजारमा आयो । लोकदोहोरी गायक पशुपति शर्माले नेकपा एकीकरण भएको नौ महिना पुग्दा निकालेको गीतले नेकपा वृत्तमा हलचल मच्चायो । तत्कालीन पूर्व एमालेका नेता, कार्यकर्ता बिच्किए ।

‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबमा अपलोड गरिएको थियो २०७५ फागुन २ मा । केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिएको भन्दै त्यसमा व्यापक आक्रोश आयो । गायक शर्मालाई सार्वजनिक धम्की दिइयो । अन्ततः गीत आफै हाइड गर्ने अवस्थामा पुगे शर्मा । अहिले उक्त गीत युट्युबमा हेर्न सकिन्छ । पशुपति शर्मा, मञ्जु बिक र प्रज्वल भण्डारी देखिएको भिडियो ९ लाख ८२ हजार पटक हेरिएको छ ।

शर्माको गीत आएको तीन वर्षपछि गायक प्रकाश सपुतको गीत चर्चामा छ । माओवादी वृत्तको आक्रोशका कारण यो झन् चर्चामा पुग्ने नै भयो । फागुन २७ गते युट्युबमा सार्वजनिक ‘पीर’ शीर्षक गीत नम्बर एक टेन्डिङमा छ । यो सामग्री तयार गर्दासम्म प्रकाश सपुत, सुरक्षा पन्त, केसु पुन ‘केशरी’ आदिको अभिनय रहेको भिडियो हेर्नेको संख्या ५० लाख २६ हजार ८ सय २७ पुगेको छ ।

आम सञ्चारदेखि सामाजिक सञ्जालको व्यापक चर्चाले संख्या थप बढिरहेको छ । माओवादी लडाकुले पाएको पीरबारे बनेको ‘पीर’का कारुण माओवादी नेता, कार्यकर्ता आक्रोशित बनेका छन् । चुनावकै मुखमा माओवादीको बद्नाम गर्ने गीत आएको भन्दै सपुतविरुद्ध धेरै माओवादी नेता, कार्यकर्ताले आलोचना बढाएका छन् ।

तीन वर्षअगाडि नेकपा सरकार हुँदा आएको पशुपति शर्मा र तीन वर्षपछि माओवादी सत्तामा रहँदा आएको प्रकाश सपुतको गीत दुवैमा आक्रोशित हुनेहरूले राजनीतिक रंग दिएका छन् । तीन वर्षअगाडि कम्युनिष्ट सरकार हुँदा लुट्ने कुरा गरेको तर कांग्रेस सरकार हुँदा मेरो अमेरिका यहीँ भन्ने गीत गाएको भन्दै पशुपति शर्माको भरमार आलोचना भयो । राष्ट्रपति र सरकारलाई बद्नाम गराउन ‘नेपाली कांग्रेसका’ गायकले गीत ल्याएकोसम्म भन्न भ्याइयो । तीन वर्षपछि माओवादी लडाकुले यौनकर्म गरेको देखाइएको नाममा सपुतलाई त्यस्तो तारो बनाइएको छ ।

रोचक कुरा त के छ भने न पशुपति शर्माले नेकपालाई ताकेर आलोचना गरेका थिए, न प्रकाश सपुतले माओवादीलाई नकारात्मक मात्रै भन्न खोजेका हुन् । पशुपति शर्माले गीत शुरु हुनुभन्दा अगाडि आफ्नो भिडियोमा भनेका थिए, ‘पञ्चायत सुनें, बहुदल र गणतन्त्र भोगें तर देश र जनताको निःस्वार्थ रूपले माया गर्ने न कुनै नेता भेटें न त अरू कोहि । त्यसैले त भन्न मन लाग्यो– लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

यसरी गीतमै कुनै दल, कुनै एक व्यवस्थालाई मात्रै नभएर समग्र राजनीतिक वृत्त र व्यक्तित्वलाई चित्रित गरेर गीत बनेको थियो । गीतमा काम चोर शिक्षक, निजीलाई माया गर्ने सरकारी डाक्टरदेखि भ्रष्टाचार गरेर आलिसान महल ठड्याउने सरकारी कर्मचारीको समेत आलोचना गरिएको छ । तर, ती सबै कुरालाई नजरअन्दाज गरेर नेकपा सरकारकै मात्रै आलोचनाको रूपमा व्याख्या गरी पशुपति शर्माको दानवत्व गरिएको थियो ।

अहिले प्रकाश सपुतले पनि गीतको शुरुमै माओवादी सशस्त्र युद्धका कारण देशमा देखिने परिवर्तनका सकारात्मक कुरा गरेका छन् । गीतमा माओवादी सशस्त्र युद्धले ल्याएका सकारात्मक कारण देखाउने प्रयासस्वरूप भनिएको छ, ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा नेपालमा १० वर्ष सशस्त्र युद्ध भयो । जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीलगायत ऐतिहासिक परिवर्नत भए । तर, व्यवस्था बदलिए पनि परिवर्तनका लागि लड्ने योद्धा र आमनागरिकको अवस्थामा भने अपेक्षित परिवर्तन आउन सकेन । बरु व्यवस्था बदलिएसँगै देश बदल्न सरकार र संसद्मा गएकाहरू आफैँ बदलिए । र, दश वर्षे युद्धको नेतृत्व गरेकाहरू विभिन्न स्वार्थ र विचारमा विभाजित भए । आज नेकपा (माओवादी) त्यो बेलाको माओवादी रहेन ।’

यसरी सपुतले गीतकै शुरुमा माओवादीको तटस्थ व्याख्या गरेका छन् । अनि शुरु हुन्छ गीति कथा । यति हुँदाहुँदै पनि आलोचना भयो । आलोचना जारी छ । भलै पशुपति शर्माको गीतमा जस्तै प्रकाश सपुतको गीतमा पनि आलोचनाभन्दा प्रशंसाको पल्ला भारी छ । आलोचक अल्पसंख्यक छन् । प्रशंसक अनगिन्ती ।

यी दुवै गीतमा आएका कुरामा नाजायज विरोध र धाकधम्कीका मूलतः तीन कारण छन् । पहिलो हो– नेकपा नेतृत्वदेखि नेकपा (माओवादी केन्द्र) दुवैले जस्तो दाबी गरेका थिए त्यस्तो काम गरेनन् भन्नेमा उनीहरू आफैँ जानकार हुनु । त्यही कुरा लाखौं नागरिकमा पुग्ने सजिलो भाषा गीत–संगीतमा पुगेपछि उनीहरू तनावग्रस्त भए । राजनीतिमा हुने चुनावी अंकगणितमा समेत प्रत्यक्ष प्रभाव राख्ने कुरा भएकाले यस्तो आक्रोश आउनु स्वाभाविकै हो ।

दोस्रो कारण हो– अहिले नेपालमा आलोचनात्मक चेतको बिजोग अवस्था । आफ्नो तारिफ मात्रै सुन्ने र हेर्ने बानी परेकाहरू आलोचना, प्रश्न उठ्दा आत्तिनु स्वाभाविकै हो । अझ दलमा त आलोचनात्मक चेत र संस्कृतिको बिजोग छ । स्वयं आलोचनात्मक चेतको कुरा गर्ने तर आलोचकलाई विभिन्न नाम जोडेर हतोत्साहित गर्नेहरू छन् नेपालमा । यी दुई गीतमा यही कारण विरोध ज्यादै गरिएको छ । लोकतन्त्रको कमजोर अभ्यास र दलको कमजोर आलोचनात्मक चेतको प्रदर्शन गीतमा आएको प्रतिक्रियाबाट भएको छ ।

तेस्रो कारण हो– गीत, संगीत, कला र साहित्यको भाषा र अर्थ नबुझ्नु । गीत, संगीत, कला र साहित्यले विम्ब, प्रतीक वा अरु कुनै सुन्दर माध्यममा आफ्ना कुरा राख्छ । त्यो कुरामा सतप्रतिशत सत्यता वा सतप्रतिशत असत्यता नहुन सक्छ । तर, कला, साहित्य र संगीतले आफ्नो अभिव्यक्ति गर्ने अधिकार राख्छ । यो स्वाभाविक मात्र हैन संवैधानिक अधिकार पनि हो ।

त्यही अधिकारको प्रयोगमा आएका हुन् यी दुई गीत । यत्ति सामान्य कुरा बुझ्न नसक्दा तीन वर्ष पहिले र अहिलेका घटना विकास भएका हुन् । दलहरूका आफ्नै गीत, संगीत, कला, साहित्य आदिका संगठन छन् । त्यसमा धेरै गायक, संगीतकार, कलाकार र साहित्यकार जोडिएका छन् । ती मोर्चाका कुरामा त्यही मोर्चाकै माध्यमबाट उत्तर दिन सकिन्थ्यो । तर, दलका नेता, कार्यकर्ताले राजनीतिक मुद्दा बनाए । राजनीति गरे ।

पार्टीका खराब पक्ष देखाइएको वा खराब मात्रै देखाउन गीतलाई माध्यम बनाइएको लागेमा गीतैबाट सही पक्ष देखाएर वा सही मात्रै देखाएर उत्तर दिन सकिन्छ । दर्शक, श्रोताले कुन सत्य, कुन असत्य आफैँ मूल्यांकन गर्ने थिए । उनीहरूको मूल्यांकनबाटै कुरा सकिन्थ्यो । अहिले जस्तो राजनीतिक बजारको ज्वरो बढाउन आवश्यकै थिएन ।

२१ औं शताब्दीको उन्नत लोकतान्त्रिक चेत भएको यो जमानामा १०१ वर्षअगाडिको चेत बोकेर त हुन्न नि कमरेडहरू ! थाहै होला १९७७ मा सुब्बा कृष्णलाल अधिकारीले लेखेको पुस्तक ‘मकैको खेती’लाई राणाहरूले आपत्ति माने । १९७७ साउन १७ मा तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेरले कारबाही गरे । ९ वर्ष जेल हाले ।

चन्द्रसमशेरको पालामा जस्तै अहिले जेल हाल्ने कानुन छैन । त्यसैले सर्जकलाई आलोचना र गालीगलौज अनि धम्की मात्रै गरिएको छ । तर, यो प्रकरणले १०१ वर्षअगाडिको सिर्जनालाई हेर्ने राणा नजर र १०१ वर्षपछि अहिलेका कमरेडको स्तर एकै देखियो । यो नजरिया परिवर्तन गर्न आवश्यक छ ।

टिप्पणीहरू