सेतो जामा लगाएर होलीमा देउडा

सेतो जामा लगाएर होलीमा देउडा

फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइएको छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वमा घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान र रमाइलो गर्ने चलन छ ।

योसँगै तराईका विभिन्न जिल्लामा परम्परागत संस्कृतिको झल्को दिने नाचगानमार्फत् रमाइलो गरिने होली विशेष कार्यक्रमको आयोजना गरिएको छ । टिकापुर नगरपालिकामा सूदुरपश्चिम सांस्कृतिक समाजको आयोजनामा आज होली पर्वको अवसरमा कार्यक्रम सुरु भएको छ । सोही कार्यक्रममा फरक संस्कृतिको झल्को दिने खालका नाचगानहरु भइरहेका छन् ।

राष्ट्रिय कलाकार, स्थानीयवासीलगायतको उपस्थतिमा रङहरुको पर्व होलीलाई उल्लासपूर्वक मनाईंदै छ । पहाडबाट बसाइसराई गरेर आएकाले देउडा मार्फत रमाइलो गरेका हुन् । हिजो पहाडी जिल्लामा मनाइएको यो पर्व आज अन्तिम दिनको रुपमा तराईका जिल्लाहरुमा मनाइएको हो ।

टिकापुर नगरपालिकाकी उपमेयर केशरीकुमारी रावल बिष्टले लामो समयदेखि नै टिकापुरमा होलीको अवसमा देउडा, नागगान गरिने बताएकी छन् । पुरुषहरुले सेता जामा र पगडी पहिरिएर विभिन्न परम्परागत गीतहरु गाएको उनले बताइन् । यस्तै महिला र परुष मिलेर न्याउले गीत मार्फत् एकआपसमा रङ दलेर रमाउने गरेको उपमेयर केशरीको भनाइ छ ।

टिप्पणीहरू