चिनियाँ पाहुना आउने पक्का,चैत १२-१३ घोषणा हुन बाँकी

चिनियाँ पाहुना आउने पक्का,चैत १२-१३ घोषणा हुन बाँकी

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको औपचारिक भ्रमणमा आउने पक्का भए पनि ठ्याक्कै दिन भने दुबै पक्षबाट सार्वजनिक घोषणा भएको छैन । यसअघि नेपाली पक्षले चैत १२ गते भने पनि चिनियाँ पक्षले मार्च महिनाको अन्तिम साता भन्दै आएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘दिन तय भएको छैन । मोटामोटी मार्चको अन्तिम साता भनिएको छ ।’ चिनियाँ उच्चस्तरीय टोली सामान्यतयाः विदेश भ्रमणमा निस्कँदा सो क्षेत्रका तीनदेखि चार वटा मुलुकमा पुग्ने प्रचलन छ । अहिले विदेशमन्त्री वाङ नेपालपछि दक्षिण एशियाका सम्भवतः श्री लँका,भारत र बंगलादेशको भ्रमणमा समेत जाने तयारी गरिएकाले मिति घोषणा भैनहालेको बताइन्छ ।

दक्षिण एसियाली क्षेत्रमा गरिने भ्रमण मुलुक सबैतिरबाट ‘फिक्स्ड’ नभएसम्म नेपाल आउने दिन सार्वजनिक नगरिएको हो । चिनियाँ पक्षले नेपाली अधिकारीहरुलाई नेपाल भ्रमणको क्रममा आफ्ना विदेशमन्त्री अरु तीन वटा मुलुकमा समेत जाने कुराको मात्र जानकारी दिएको छ । अहिले त्यहिअनुसार भ्रमणको तालिका बनाउँदै गरिएको स्रोतले बताएको छ ।

यसैबीच चिनियाँ विदेशमन्त्री नेपालको भ्रमणबाट फर्केलगत्तै अमेरिकाबाट २५ जनाको टोली आउन लागेको समाचार छ्याप्छ्याप्ती छ । तर परराष्ट्र मन्त्रालयका अधिकारीहरुले त्यसबारे अनभिज्ञता प्रकट गरेका छन् । एक जना सहसचिवले भने, ‘त्यसबारे हामीलाई औपचारिक जानकारी आएको छैन ।’

स्मरण रहोस्,नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी एमसीसी सम्झौता अनुमोदनलगत्तै वासिङटन पुगेका छन् । उनी उक्त सम्झौता अनुमोदनको क्रममा भएका पहल र आगामी सहकार्यवारे अमेरिकी अधिकारीहरुलाई वास्तविकता जानकारी गराउन स्वदेश गएको अनुमान गरिएको छ ।

टिप्पणीहरू