होलीमा रमझम : गत वर्ष शुन्य, यो वर्ष जताततै

होलीमा रमझम : गत वर्ष शुन्य, यो वर्ष जताततै

आज मुलुकका पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदै छ । फागुनशुक्ल प पूर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको होली समाजमा सकारात्मक र सद्भावना बाँड्ने चाड पनि हो ।

एक आपसमा रङ दलेर धुमधामका साथ काठमाडौं उपत्यकासहित अन्य जिल्लामा होली मनाईंदैछ । कोरोनाका महामारीका कारण अघिल्लो वर्ष हर्षोल्लासका साथ मनाउन नपाइएको फागु पूर्णिमामा यो वर्ष भने निकै चहलपहल देखिएको छ ।होली अर्थात् फागु पूर्णिमा राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने पर्व भएको सहप्राध्यापक डा. प्रियंवदा काफ्लेले बताउनुभयो ।

अहिले नेपालमा होलीलाई नकारात्मक तवरबाट मनाइँदै आएको उहाँको भनाइ छ । घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरु बनाएर होली खेल्नुपर्नेमा उहाँको जोड छ ।प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो छाला र स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकाले समेत प्राकृतिक रङबाट होली खेल्न पहल गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

कृत्रिम रङहरुले छालामा निकै असर पुग्ने सहप्राध्यापक काफ्लेको धारणा छ । चुकन्दरबाट पनि एक प्रकारको बैजनी खालको रङ बनाउन सकिने र बेसारबाट पहेँलो रङ बन्ने उहाँ बताउनुहुन्छ । बेसार हाम्रो छालाको निम्ति औषधीय गुणले भरिपूर्ण छ ।

चामलको पिठोबाट सेतो रङ बनाउन सकिन्छ । चामलको पिठो पनि हाम्रो छालाको निम्ति उपयोगी हुने उहाँको धारणा छ । यसले दाद, पोतो हराउने विश्वास गरिन्छ ।विभिन्न फूलहरुको लेप लगाउने, त्यस्तै किसिमका स्नान द्रव्यले स्नान गर्नेतर्फ वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ । ‘घरमै बनाइएका रङहरुलाई हामीले प्रोत्साहन गरेर प्रयोग गर्ने हो भने यसले हाम्रो शरीरलाई पनि राम्रो गर्दछ,’ उहाँले भन्नुभयो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व आज परम्परागत रूपमा विभिन्न रङ एक आपसमा दलेर मनाईंदैछ । तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइन्छ ।

होलीका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाएपछि यो वर्षको फागु पर्व समाप्त हुन्छ ।

 

टिप्पणीहरू