माओवादीले पदाधिकारी छान्न ४ महिना लगायो

माओवादीले पदाधिकारी छान्न ४ महिना लगायो

नेकपा माओवादी केन्द्रले चार महिना लगाएर लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण अधिवेशन सकिएको चार महिनासम्म पदाधिकारी छान्न नसकेको माओवादीले अन्ततः सर्वसम्मत रुपमा टुंगो लगाएको हो ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत मंसिर २६ गते सम्पन्न भएको थियो । दाङको भालुवाङमा भएको अधिवेशनले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो ।

आज कपिलवस्तुमा बसेको प्रदेश समितिको पहिलो बैठकले सुदर्शन बराललाई अध्यक्ष बनाउँदै पदाधिकारी चयन गरेको हो । उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्रीलाई चयन गरेको छ भने सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाललगायतले सपथग्रहण गराएका हुन् ।

माओवादी केन्द्रको विधानमा अधिवेशनबाट प्रदेश सदस्य निर्वाचित हुने र निर्वाचित सदस्यहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

टिप्पणीहरू