सचिवले राजदूतलाई हप्काउने दिन आयो

सचिवले राजदूतलाई हप्काउने दिन आयो

केही समयअघि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन युएईको राजधानी अबुधाबी गएका थिए । डिसेम्बर ४ र ५ का दिन अबुधाबीमा सम्पन्न पाँचौं हिन्द महासागर सम्मेलनको दोस्रो दिने सेसनलाई उनले इण्डियन ओसन, इकोलोजी,इकोनोमी,एपिडेमिक शीर्षकमा सम्बोधन गरेका थिए ।

त्यहि क्रममा अबुधाबीस्थित नेपाली दूतावासमा राजदूत र कर्मचारीसँग भेटघाट गरे । त्यस क्रममा सबै कर्मचारीको अघिल्तिर राजदूत कृष्णप्रसाद ढकालको झाँको झारेका हुन् । ‘सँधै तपाईंको विरुद्ध कम्प्लेन मात्रै सुन्नु ? के काम गराई हो ? इरेस्पोनसिबल,यस्तो पनि हुन्छ व्यवहार ?,’ राजदूतले त्यसो भनेको सुनेपछि हातमा जुस र अन्य पेय पदार्थ बोकेर उभिएका तीर्थ वाग्लेलगायत यताबाट गएका सहसचिव र त्यहीँका कर्मचारी ट्वाल्ल परे ।

यसबीच राजदूतको व्यवहार र शैलीबाट वाक्क भएर अबुधाबीबाट धेरै जना स्वदेश फर्केका छन् । त्यहाँबाट फर्किनेमध्ये रिता धिताल पनि हुन् । त्यसपछि सागर फुयाल र शिवानी बस्नेत फर्किए । यसअघि ढकाल नयाँ दिल्लीमा रहँदा उनकै कारण शिवानी त्यहाँ बस्न नसक्ने भन्दै मन्त्रालयलाई जानकारी गराएर फर्केकी थिइन् । तर यस पटक शिवानी बढुवा भएर नेपाल फर्केकाे अबुधाबीस्थित दूतावास स्राेतले बताएकाे छ ।

सचिवले सबका सामु त्यसरी हप्काएपछि राजदूतलाई अप्ठ्यारो पर्नु स्वभाविकै हो । ढकाल नयाँ दिल्ली दूतावासमा कार्यवाहक रहँदा ह्वार्रह्वार्रती कर्मचारी सरुवा माग्दै काठमाडौं ओइरिएका थिए भने कसै कसैसङ्ग त झण्डै कुर्सी हानाहानसम्मको स्थिति आएको थियो । अहिले युएईको राजदूत भएपछि पनि त्यो क्रम घटेको होइन, झन् बढेको परराष्ट्र मन्त्रालयका सहसचिवहरुले बताएका छन् ।

अबुधाबीबाट कर्मचारी सरुवा भएर आएपछि यताबाट लामो समयसम्म कोही पनि जान नमानेको परराष्ट्रको आन्तरिक प्रशासनका अधिकारीहरु बताउँछन् । रिता फर्केपछि रिक्त डिसिएमको दरबन्दीमा मन्त्रालयबाट कुनै कर्मचारी जान नमानेपछि महिनौंसम्म उक्त सिट खाली भएको थियो ।

तर छिट्टै अवकाश हुने अवस्थामा रहेका विशाल भट्टराई भने यता बस्नुभन्दा केही सयम उतै बस्दा आर्थिक रुपले राम्रो हुने देखेपछि भर्खरै गएका छन् । भट्टराईको विदेशबाट फर्केको एक वर्ष पुगेलगत्तै अबुधाबी पोष्टिङ भएको हो । उनी परराष्ट्र सेवामा आउनुअघि नेपाल राष्ट्र बैंकमा कार्यरत थिए ।

टिप्पणीहरू