जीवा,उपेन्द्र भर्सेज शेष घलेको घानमा एनआरएन ?

जीवा,उपेन्द्र भर्सेज शेष घलेको घानमा एनआरएन ?

डेलिगेट्स (प्रतिनिधि) विवाद नसुल्झिएर गत अक्टोबरमै हुनुपर्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचन झन् अन्योलपूर्ण बनेको छ । यतिसम्म कि विवाद चर्कंदै जाँदा संघ विभाजनको मुखमा पुगेको छ । वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वले निर्वाचन मार्च २४ र २५ तारिखमा हुने घोषणा गरेका बेला संस्थापन पक्षसँग असन्तुष्ट अध्यक्ष प्रत्यासी कुल आचार्य पक्षले पनि समानान्तर अधिवेशन घोषणा गरेपछि संस्था अब दुई चिरा हुन लागेको हो ।

आचार्यलाई बोकेर हिँडेका संघका पूर्वअध्यक्ष शेष घलेले छुट्टै निर्वाचन मिति घोषणा गर्दै निर्वाचन समिति पनि पुनर्गठन गरेका छन् । संस्थापन पक्षको मितिभन्दा केही दिनअघि मार्च १९–२१ मा निर्वाचन गर्ने घोषणा घलेको छ । संस्थापन पक्षका तर्फबाट निर्वाचन समितिले उम्मेदवारी मनोनयन प्रक्रिया पनि सकिसकेको छ ।

घलेले प्रमुख संरक्षकको हैसियतमा विधानमै टेकेर संस्था जोगाउन कदम चालेको जिकिर गरेका छन् । तर, अन्तर्राष्ट्रिय समन्वय परिषद्काे ८२ औं बैठकले संरक्षक परिषद् र उच्चस्तरीय समिति भंग गरिसकेको र विधानले पूर्वअध्यक्षहरूलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा घलेबाट चालिएका कदम विधान र संघको परम्पराविपरीत रहेको संस्थापनको बुझाइ छ । एनआरएनए अहिले यति गिजोलिएको छ कि त्यो संस्थामा छु भन्न पनि प्रवासी नेपालीले हिच्किचाउनुपर्ने अवस्था छ ।

सतहमा अध्यक्षका प्रत्यासी कुल आचार्य र डा। बद्री केसीको लडाइँजस्तो देखिए पनि वास्तविक कारण अर्कै छ । कुललाई अगाडि सारेर शेष घलेले संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, जीवा लामिछानेहरूतिर तोप पड्काएपछि घलेको व्यक्तिगत इगो समाप्त पार्न बद्री केसी र कुमार पन्तलाई अगाडि सारिएको बताइन्छ ।

अष्ट्रेलियाका सय अर्बपतिमध्ये एक शेष घले अहिले विदेश बस्ने नेपालीहरूको एउटा छाता संस्था एनआरएनए सिध्याउने खेलमा लागेको टिप्पणी हुन थालेको छ । बेलायतको राजधानी लण्डनमा केही नेपाली अगुवा भेला भएर गैरआवासीय नेपालीलाई एउटै छातामुनि ल्याउने सल्लाह गर्दैगर्दा शेष घले मेलबर्नमा आफ्नो व्यापार बढाउन व्यस्त थिए । त्यो सल्लाहको एक वर्षपछि २००३ अक्टोबर ११ मा काठमाडौंमा गैरआवासीय नेपाली संघको पहिलो सम्मेलन भयो । सम्मेलनले डा। उपेन्द्र महतोलाई अध्यक्ष बनायो ।

२०७० साल अर्थात् सन् २०१३ अक्टोबर २१ मा संघको नेतृत्व चयनका लागि पहिलोपटक निर्वाचन भयो । निर्वाचन प्रक्रियामार्फत पहिलोपटक शेष घले अध्यक्ष चुनिए । उनी अर्को कार्यकालका लागि पनि अध्यक्ष छानिए । लमजुङको गुरूङ गाउँमा जन्मिएर १९९० को दशकतिर पढ्न अष्ट्रेलिया पुगेका घले उतै व्यापार–व्यवसायमा जमिसकेका थिए । कमाइको ग्राफ बढिरहेको थियो ।२०७२ सालमा नेपालमा भूकम्प गएपछि उनकै नेतृत्वमा एनआरएनएले यहाँ उद्धार र राहतको काम गरेको थियो । त्यसले पनि उनलाई चर्चाको शिखरमा पुर्यायो । घलेको पालामा रूसका डा. बद्री केसी एनआरएनएको कोषाध्यक्ष थिए । उनीहरूबीच सहकार्य सोचेजस्तो भएन । खासमा घलेले संघका सबै काम आफ्नै निजी सचिवालयबाट गर्थे । संस्थागत कम र व्यक्तिगत बढी हाबी हुन थालेपछि डा। केसीले त्यसमा प्रतिवाद गर्न थाले । घलेले भने डा। केसीले ‘कामै गर्न नदिएको’ भनेर आलोचना गरिरहे ।

दोस्रो कार्यकाल (सन् २०१५) मा पनि घलेले केसीलाई रोक्न धेरै प्रयास गरेका छन् । तर, अघिल्लो निर्वाचनबाट ‘लोकप्रिय’ मत ल्याएर कोषाध्यक्षमा जितेका डा. केसी घलेले रोक्दा–रोक्दै दोस्रोपटक महासचिवमा निर्वाचित भए । एनआरएनएका ठुल्ठूला परियोजनामा पनि घलेको ‘एकलौटी’ हुन थालेपछि केसीको समूहले प्रतिवाद नै गरेको थियो । भूकम्पपछि लाप्राक नमुना बस्ती, शंखमूल पार्क, एनआरएनएको बालुवाटारस्थित आफ्नै भवन बनाउँदा उनको चर्चा निकै चुलिएको थियो ।

तर, ललिता निवासको जग्गा किन्ने बेलामा डा. केसी र घलेबीच फेरि असहमति चुलियो । घलेकै जबर्जस्तीमा ललिता निवासको जमिन किन्दा एनआरएनए फस्यो । उक्त प्रकरण अहिले पनि अदालतमा विचाराधीन छ । अर्को कार्यकाल (सन् २०१७) का लागि घलेले श्रीमती जमुना गुरूङ घलेलाई अघि सारे । तर, घलेको प्रयत्न त्यो बेला असफल भयो । जमुनालाई उछिन्दै भवन भट्टले जिते । डा.केसी फेरि महासचिव नै भए । त्यसपछि अघिल्लो अधिवेशन (सन् २०१९) मा डा. केसी उपाध्यक्षमा चुनिए ।

यो महाधिवेशनका लागि उनी अध्यक्षका प्रत्यासी हुन् । र, प्रतिस्पर्धी छन् कुल आचार्य । अघिल्लो अधिवेशनमा कुमार पन्तसँग पराजित भएका कुल आचार्यले आफूलाई कांग्रेस कार्यकर्ता भनेर चिनाउँदै आएका छन् । यसपालि पनि उनी अध्यक्षका प्रत्यासी हुन् । यसपालिको अधिवेशनमा घलेले डा। केसीलाई कुनै हालतमा अध्यक्ष हुन नदिन सबै खाले सामथ्र्य खन्याएको एनआरएनएका अभियन्ता बताउँछन् । घलेले कुनै पनि हालतमा केसीलाई अध्यक्षका रूपमा स्वीकार्न चाहँदैनन् ।

अघिल्लो अधिवेशनमा ‘शुभेच्छा’ मात्रै दिएर निराश पारेका कुल आचार्यका लागि यसपालि शेष घलेले भने ‘विधानै मिचेर अघि बढ्ने’ सम्म हिम्मत देखाएका छन् । अधिवेशनको संघारमै घलेले अर्को महाधिवेशन आयोजक समिति र निर्वाचन समितिको घोषणा गर्नु त्यसैको परिणाम हो । संघले पूर्वअध्यक्ष शेष घलेद्वारा चालिएका वर्तमान गतिविधिले सम्मानित अदालतको समेत अपहेलना गरेको बताएको छ ।

टिप्पणीहरू