एमाले अध्यक्ष ओली नागार्जुन गएको दाबी

एमाले अध्यक्ष ओली नागार्जुन गएको दाबी

नेकपा एकीकृत समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजावादी दलहरुसँग चुनावी गठबन्धनको गृहकार्य गरिरहेको बताउनुभएको छ ।

एमालेले राप्रपालगायतका राजावादी शक्तिसँग चुनावी गठबन्धन गर्ने ठोकुवा गर्दै उहाँले केपी ओलीले छलफल चलाइसकेको दाबीसमेत गर्नुभयो । ‘कम्युनिष्ट भएर पनि काँग्रेससँग गठबन्धन गर्यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी गर्ने केपी ओली नागार्जुन (पूर्वराजा) र राप्रपासँग गठबन्धनका लागि धाइरहेका छन् । आगामी चुनावमा ओलीले पनि राजावादीसँग गठबन्धन गर्दैछन्, गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कान चाहिँ काटेर फाल्दिन्छु,’ मन्त्री खतिवडाले भन्नुभयो ।

“राजावादीसँग गठबन्धन गर्दैछन्,गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कानचाहिँ काटेर फाल्दिन्छु,’

केपी ओलीले अरुलाई एक्लै चुनाव लड्न चुनौती दिने गरेको तर ०७४ सालमा आफैँ माओवादी र राप्रपासँग मिलेर जितेको उहाँको भनाइ छ । ‘२०७४ मा केपी ओलीले एमाले, माओवादी,हृदयश त्रिपाठी, जनमोर्चा राप्रपाका लिङ्देनसँग मिले । त्यसमा नपुगेर सरकार बनाउँदा उपेन्द्र यादवलाई पनि थपे । अहिले तस्बिर यस्तो सिर्जना गर्न खोजिएको छ कि,केपी ओली आफूमात्र महामहिम, एक्लै एक्लै रथ हाँकेर हिँडेजस्तो । यो सरासर फटाहा कुरो हो,’ मन्त्री खतिवडाले भन्नुभयो ।

उहाँले एमालेसँग एकीकृत समाजवादीमात्र नभई अहिलेको पाँच दलीय गठबन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दाबी पनि गर्नुभयो । काँग्रेससँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुबीच वाम गठबन्धन हुन सक्ने उहाँको भनाइ छ ।

‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उपमहानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, खतिवडाले भन्नुभयो ।

टिप्पणीहरू