एमालेले कांग्रेससँग मागेकै हो त चुनावी सरकारको नेतृत्व ?

एमालेले कांग्रेससँग मागेकै हो त चुनावी सरकारको नेतृत्व ?

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनमा सहमति जुट्ने सम्भावना लगभग अन्त्य भएको निश्कर्षसहित प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्ष एमालेको समर्थन खोज्न सघन छलफलमा हुनुहुन्थ्यो ।

कांग्रेस र एमालेका नेताहरु कहिले बालुवाटार त कहिले बालकोटको दौडधुपमा व्यस्त थिए । देउवा र एमाले अध्यक्ष केपी ओलीबीच एक्लाएक्लै पनि छलफल भयो । दुई दिनको अन्तरालमा भएका पटक–पटकका भेटघाटपछि तीनबुँदे सहमति जुटेको चर्चा चल्यो ।

बताइएअनुसार एमालेले एमसीसी पास गर्न कांग्रेसलाई सघाउने र प्रधानमन्त्री देउवाले एमालेका मुख्यगरी तीन वटा माग पूरा गरिदिने मोटामोटी समझदारी जुटेको थियो । दुवै पार्टी मिलेर सभामुख अग्नि सापकोटामाथि महाभियोग लगाउने, एमसीसी पारित गर्ने र देउवा नेतृत्वको सरकार जोगाउन एमालेले सहयोग गर्ने सहमति बनेको समाचार सार्वजनिक भैरहेका थिए ।

‘उनीहरु (प्रचण्ड–माधव) बिच्किएर गए र मंसिरको चुनावमा हिजो नेकपा बनाएको शक्तिले फेरि मिलाइदियो भने कांग्रेसको हालत के हुन्छ ? घाटा त हामीलाई नै हो नि !

प्रदेशमा भने एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्नेगरी समझदारी थियो । त्यसका लागि माओवादी र एकीकृत समाजवादी नेतृत्वमा रहेका प्रदेश सरकार ढालेर एमाले नेतृत्वमा नयाँ सरकार बनाउन दुवै पक्ष सहमत भए। यहि समझदारीलाई लिपिबद्ध गर्न दुबैतिरबाट दोस्रो तहका नेताहरुलाई खटाइयो पनि ।

तर, एकाएक परिस्थिति बदलियो । गठबन्धनकै सहमतिमा एमसीसी अनुमोदन भयो । आखिर कांग्रेस र एमालेबीच भैसकेको भनिएको सहमति किन भाँडियो ? प्राप्त सूचनाअनुसार एमाले अध्यक्ष ओलीले अन्तिम समयमा चुनावी सरकारको नेतृत्व मागेपछि देउवा यूटर्न हुनुभएको हो ।

एकाएक ओलीबाट अर्को माग थपियो– प्रदेश तथा संघको चुनावी सरकारको नेतृत्व आफूलाई दिनुपर्ने । यसरी एकाएक सहमति भाँडिएपछि नै व्याख्यात्मक घोषणासहित एमसीसी पारित गराउने ग्राउण्ड तयार बनेको सूचना स्रोतले बताएको छ ।

एमसीसीका लागि एमालेका सबै माग पूरा गर्न तयार हुनुभएका देउवालाई चुनावी सरकारको नेतृत्व माग्ने ओलीको प्रस्तावले भने झस्काइदियो । यसै पनि गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्दा शीतल निवासलाई प्रयोग गरेर ओलीले आफूलाई सरकारबाट हटाउनसक्ने भित्री चिन्ता देउवालाई थियो भनिन्छ ।

ओलीले मुखै खोलेर चुनावी सरकारको नेतृत्व मागेपछि देउवालाई सोच्न बाध्य बनाएको हो । त्यसपछि बन्नै लागेको सहमति मात्र भाँडिएन, सत्ता गठबन्धनले पनि निरन्तरता पायो । हुबहु एमसीसी पारित गर्नुपर्ने अडानमा टसमस नभएको कांग्रेस त्यसपछि नै व्याख्यात्मक घोषणासहित अनुमोदन गर्नका लागि तयार भएको बताइन्छ ।

अर्कोतिर, प्रचण्ड र माधव नेपालसंगको सहकार्य तोडेर जाँदा ०७४ सालकै नियति दोहोरिने हो कि भन्ने डर पनि थियो । कुनै पनि बेला वामपन्थीहरु मिल्नसक्ने र ०७४ सालकै परिणाम दोहोरिने आकलन गर्नुभएका देउवालाई गठबन्धन जोगाउनुपर्ने राजनीतिक बाध्यता छँदै थियो ।

यता, आफ्नै पार्टीका नेताहरुले ओलीसंग भेटेर सार्वजनिक रुपमा गठबन्धन विरोधी धारणा राख्न थालेपछि देउवालाई थप सशंकित बनाएको थियो । गठबन्धन टुट्दा सभापति र प्रधानमन्त्रीलाई कमजोर बनाउन सकिने बुझेरै पार्टी नेताहरुले गठबन्धनविरुद्ध बोलेको देउवा निकटहरुको अनुमान छ ।

‘०७४ को स्थानीय चुनावपछि जुन शक्तिले वाम गठबन्धन बनाइदियो उसैले फेरि एमाले र माओवादीलाई एक ठाउँमा ल्याइदियो भने चुनावी परिणाम के हुन्छ ?’ एक नेता भन्छन्, ‘त्यसतर्फ सभापति देउवा सचेत हुनुहुन्छ ।’

एमसीसीको सफल अवतरणपछि पनि कांग्रेसको एउटा खेमा गठबन्धनविरुध्द लगातार बोलिरहेको छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतका नेताहरुले सार्वजनिक रुपमै गठबन्धनका अन्य दलहरुलाई अपमानित गर्ने गरी अमर्यादित टिप्पणी गरिरहेका छन् ।

प्रत्यक्षतर्फ २६ सिट जितेको कांग्रेसलाई सत्तामा उकाल्न महत्वपूर्ण भूमिका खेलेका माओवादी र एकीकृत समाजवादीलाई अवमूल्यन गर्ने त्यस्ता अभिव्यक्तिले गठबन्धनभित्रको वाम खेमा तरंगित छ । पार्टीभित्र चर्केको विवादका बीच एमसीसी पास गर्न सघाएका माओवादी र समाजवादीका नेताहरुको गुनासो छ– कांग्रेसले हाम्रो गुण देखेन ।

वाम खेमाका केही नेताले प्रधानमन्त्री देउवालाई एउटा भेटमा गुनासो गरे – के अब हाम्रो औचित्य सकिएको हो ? तपाईंलाई अब हाम्रो सहयोग नचाहिने भएकै हो ? स्रोतका अनुसार देउवाले चुनावमा गठबन्धन गर्न आफू तयार रहेकाले अरुले के भन्छन् त्यता ध्यान नदिन भन्नुभएको छ । देउवाको भनाइ उद्धृत गर्दै स्रोत भन्छ –पागलहरु कराइरहन्छन्, तर म गठबन्धन टुट्न दिन्न । मिलेर चुनाव लड्ने हो । ढुक्क हुनुस् ।’

उक्त भेटमा देउवाले भनेको कुरा सुनाउँदै स्रोतले भन्यो –अहिले सबैलाई चुनावमा आफ्नालाई टिकट दिलाउनु छ । त्यसका लागि अहिलेदेखि नै ठाउँ बनाएका हुन् तर केहि हुँदैन । अहिले बिरोध गरिरहे टिकट पाइन्छ भन्ने लागेर त्यसै बौलाएका छन् । तपाईंहरु नआत्तिनु, मिलेरै लड्ने हो चुनाव त !

देउवा निकट नेताहरुको बुझाइ छ कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले नै हो । एमालेसँग एक्लै चुनाव लड्दा कांग्रेसले अपेक्षित परिणाम ल्याउन कठिन हुने उनीहरुले बुझेका छन् । त्यसैले एमाले काट्ने स्थायी करौंती माधव र प्रचण्डलाई विश्वासमा लिएर चुनावमा जानुपर्ने उनीहरुको तर्क छ ।

‘उनीहरु (प्रचण्ड–माधव) बिच्किएर गए र मंसिरको चुनावमा हिजो नेकपा बनाएको शक्तिले फेरि मिलाइदियो भने कांग्रेसको हालत के हुन्छ ? घाटा त हामीलाई नै हो नि ! त्यतिबेला यिनै गगनहरुले सभापतिमाथि नैतिक प्रश्न उठाएर पद छोड्न दबाब दिन्छन् । सभापतिज्यूले त्यो कुरा राम्रोसंग बुझ्नुभएको छ’, देउवानिकट नेताको विश्लेषण छ ।

टिप्पणीहरू