टाढाबाट हेर्दा केराउ सप्रिएको, नजिक पुग्दा अफिम झाँगिएको

टाढाबाट हेर्दा केराउ सप्रिएको, नजिक पुग्दा अफिम झाँगिएको

झण्डै तीन दशक यता कानुनबाट बर्जित गाँजाखेतीलाई निरुत्साहित गर्न वर्षेनी नेपाल प्रहरीले अनेकौं प्रयास गर्दै आएको छ । एकातर्फ कानुनी रुपमा वैधानिकताको खोजी भइरहेको छ भने अर्काेतर्फ यसलाई निस्तेज पार्ने विभिन्न अभ्यासहरु पनि भएका छन् । तर,गाँजाखेती नियन्त्रण तुलनात्मक रुपमा घटे पनि आशातित प्रगति हासिल भएको देखिँदैन । वर्षेनी एक सयभन्दा बढी मानिस गाँजाकै कारण पक्राउ पर्छन् र जेल जान्छन् । मकवानपुर प्रहरीका लागि यो एउटा नियमित समाचार जस्तै बन्ने गरेको छ ।

गाँजालाई वैधानिकता दिन उक्त क्षेत्रका बासिन्दा,जनप्रतिनिधि, सांसद र मन्त्रीहरुले जोडबल गरिरहँदा गृह मन्त्रालयले समेत यतिखेर गाँजाको व्यावसायिक र आरक्षित खेतीको निम्ति अध्ययन गर्न लागेको छ । यसका लागि गृह मन्त्रालयले काठमाडौं विश्वविद्यालयसँग मिलेर अघि बढ्ने तयारी गर्दै सैध्दान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको हो । यसो हुँदा अध्ययनको निश्कर्षको आधारमा गाँजा उत्पादन,ओसारपसार,बजार प्रवर्धनलगायतका विषयलाई समेटेर विधेयक निर्माण हुने र उक्त विधेयकले ऐनको रुप धारण गरेपछि गाँजा प्रभावित क्षेत्रमा सरकारी नियन्त्रणमा गाँजा खेती हुने अनुमान लगाउन सकिन्छ ।

उल्लेखित प्रक्रियापछि गाँजाको तनावबाट प्रहरीले केही हदसम्म मुक्ति पाउने देखिन्छ । तर,पछिल्ला दिनमा मकवानपुरमा बढ्दै गएको अफिम खेतीले प्रहरीलाई टाउको दुखाउन थालेको छ । टाढाबाट हेर्दा गहुँबारीमा बढ्दै गरेको हरियो केराउको बोट जस्तो लागे पनि नजिक गएर हेर्दा लहलहाउँदो अफिम खेतीले मकवानपुरका दुई वटा गाउँपालिकालाई ढाक्दै गएको छ ।

“वर्षेनी एक सयभन्दा बढी मानिस गाँजाकै कारण पक्राउ पर्छन् र जेल जान्छन् । “

जिल्लाको उत्तर पश्चिमस्थित कैलाश र राक्सिराङ गाउँपालिकाका अधिकाँश दुर्गम भेगमा यतिखेर अफिम खेती भइरहेको छ । गाँजा फाँड्न गाउँ पुगेका कतिपय प्रहरीले अफिम खेती नचिन्दा त्यत्तिकै छाडेर हिँडेको समेत पाइएको छ । पुसको पहिलो सातासम्म गाँजा पाक्नै लाग्दा प्रहरी गाउँ पुगेर सकेजति फँडानी गरी फर्केको थियो । त्यतिखेर अफिमका बोटहरु नष्ट गरेर फर्केका प्रहरीलाई यतिखेर नष्ट गरिएका क्षेत्रको अफिमका बोटहरु हलहली बढेर तनाव भएको हो ।

इलाका प्रहरी कार्यालय मनहरीका निरीक्षक प्रकाश थापाले आफू मातहतका सबै चौकीमार्फत् अफिम खेतीको विवरण संकलन गरी पठाउन निर्देशन गरिएकोमा प्रारम्भिक खेतीको परिमाणसमेत प्राप्त भएको बताए । ‘हामीले अफिम खेतीको तथ्याङ्क संकलन गरी मातहतका कार्यालयमा रिपोर्टिङ गरेका छौँ’, उनले भने–‘प्रहरीले अफिम निमिट्यान्न निर्मम कदम चाल्छ ।’

यसैबीच अफिम नष्ट पार्न प्रहरी प्रधान कार्यालयको लागुऔषध नियन्त्रण व्युरोको सहभागितामा बागमती प्रदेश प्रहरी गण रातमाटे मकवानपुर,जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टोलीले पहिलो दिन राक्सिराङ गाउँपालिका ४ को मनछाप,जैसिङताल, छापडाँडा र वडा नम्बर ५ का बमकिम र लापुरमा गरी २८ बिगाह क्षेत्रको अफिम नष्ट गरेको छ । अफिम खेती मकवानपुरको पूर्वी क्षेत्र बकैयामा समेत फैलिएको र फँडानीका लागि टोली परिचालन भएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू