जो मरेर बाँचे र अहिले मन्त्री छन्

जो मरेर बाँचे र अहिले मन्त्री छन्

आजको मितिसम्म जिउ“दो छु । म र मीनु पोहर साल गिरफतार भएर अहिलेसम्म बेपत्ता पारिएका छौं । चैत ३० गते पक्रिएर हामीलाई ६–७ दिन लगनखेल ब्यारेकमा राखिएपछि गोरखा ल्याइयो तर मीनुको बारेमा मलाई अहिलेसम्म पनि मर्दो, जिउँदो थाहा छैन ।

मलाई थाहा छैन, अर्जुन कसरी पक्रियो तर मेरो कोठामा उनैले सेना ल्याएका हुन् र मलाई बर्दबहादुर गण गोरखाले गिरफ्तार गरेको हो । त्यसपछि यातनाको क्रम शुरु भयो । चक्कुले चिरेर अमिलो लगाउनेदेखि खुट्टा, हात र करङ भाँच्ने त सामान्य नै हो । यो यातना मंसिरसम्म जारी थियो । नांगै बनाएर खाल्डोमा हाल्नेदेखि लिएर किड्नीसम्म ड्यामेज गर्ने काम भयो । र, त्यही यातनाका दौरान मबाट दुईवटा गल्ती भएका छन् ।

एउटा, पाटनस्थित द्रोणको कोठामा गएँ र अर्को सुमनलाई पेजर गरें । पाटनमा कोही पनि बस्दैनन् भन्ने सोचले गएँ र सुमनलाई दुई दिनपछि मात्र पेजर गरें किनकि उसको पेजर मेरो मोबाइलमा स्टोर भएकाले त्यसको कारणबाट चिरेको शरीरको यातना दुई दिन खपें । पछि खप्न सकिन, थाहा पाइसके होलान् भनेर गरेको हुँ । यसबाहेक न मैले कुनै गल्ती गरेको छु न त अन्य सूचनाबारे नै कुनै ठूलो भूल गरेको छु ।

आर्मीले दिने यातनाबाट बच्नुभन्दा मर्दा नै मलाई ठूलो फाइदा थियो किनकि त्यो चानचुने थिएन र छैन । तर, पटक पटक गोली हानेर मार्नुस् भन्दा पनि नमारेपछि बाँच्न बाध्य हुनुपर्ने रहेछ । पटक पटक मर्नु र एकपटक मर्नुमा एकैपटक मरेको भए र त्यस्तो मिलेको भए आज मेरो यो अवस्था अवश्य पनि हुने थिएन ।

मलाई गिरफ्तार गर्दा मेरोबारेमा सेनालाई मलाईभन्दा बढी थाहा थियो भने त्यहाँ मैले ढाँट्नुको कनै अर्थ पनि थिएन । त्यसकारण मैले पाएको यातना प्रेम दाइ (रामबहादुर थापा ‘बादल’) र जेबी (डा. बाबुराम भट्टराई) नजिकको मान्छेको स्तरको हो भन्ने बुझ्नुहोला किनकि मलाई प्रेम दाइबाहेक अरु सोधेकै छैन ।

मैले बुझिसकें बाहिर मेरो बारेमा ठूलो कन्फ्युजन छ । पार्टीबाट कुनै पहल हुँदैन भन्ने अनुमान लगाइसकें तर ठूलो प्रेसर बाहिरबाट भएन भने ममाथि ठूलो षड्यन्त्र हुन्छ भन्ने बुझ्नुहोला ।

मैले बुझेसम्म यहाँ अन्य व्यक्ति पनि छन् । तीमध्ये हामी तीनजना (कृष्णध्वज, रेखा र म) सबैभन्दा चरम यातनाको बीचमा छौं । एक आपसमा कुनै भेटघाट र कुराकानी हुँदैन । उहाँ दुईजनाको बीचमा पनि हुँदैन । एक–एकवटा अँध्यारो छिँडीजस्तो मान्छे मात्र अट्ने स्टोरमा खाना खाँदा खोल्छ, नत्र चौबिसै घण्टा चाबी लगाएर भित्र हत्कडी, पछाडि पट्टी बाँधेर राख्छ ।

६ महिनासम्म नुहाउन नपाएको समेत अवगत गराउन चाहन्छु । हामी यहाँ यो हविगतमा छौं । पदम दाइ, दमननाथ, सुदीप पाठक, सिन्धु दाइलगायत नारायणसिंह पुनलाई पनि भेटेर हाम्रो अवस्थाको बारेमा तथ्य अवगत गराइदिनुहोला । बाहिर पत्रिकामा नाम आएका केही व्यक्तिहरुको बारेमा हामीले बुझ्दा पनि केही गडबड बुझिन्छ ।

आमालाई लगेर सिन्धु दाइमार्फत रिट पनि हाल्नुप¥यो । आर्मीले यातनाका कस्ता–कस्ता रुपहरु प्रयोग गर्छ र कस्ता–कस्ता खालका षड्यन्त्रहरु गरेर व्यक्तिलाई सिध्याउँछ भन्ने कुरा संयोगले सार्वजनिक हुन सकिएछ भने गरौंला । गल्ती भएको छैन भनेर मैले दाबी गरेको छैन तर मैले गरेको गल्ती ती दुईवटा बाहेक अन्य कुनै प्रमाण छ भने फाँसी दिए पनि स्वीकार गरौंला ।

मसँग कम्प्युटरमा भएका केही ठेगाना, फोन तथा डकुमेन्टबाहेक अरु केही गएको छैन । गएकोमा पनि त्यति सिरियस चिज थिएनन् । मलगायत तीन जना हामी मेरो दाइ, प्रेम दाइ र यमा बञ्जाडेको कारणबाट पक्रिएको हो भन्ने लाग्छ किनभने मलाई पक्रिँदा यमालाई सँगै लिएर आएको थियो । र, हामीलाई गोरखाको गणले समातेकाले नै गोर्खा लिएर आएको हो । थाहा पाएअनुसार रेखालाई नांगै पारेर कात्तिकसम्म पनि बाटोमा घिसारे ।

यो पत्र कसैगरी यहाँबाट मैले पठाएको लिक भएमा यहाँ म तुरुन्तै सिद्धिन्छु । त्यतिमात्र होइन, माध्यमसमेत सिद्धिन्छ । त्यसकारण पत्र पाउनासाथ पढेर तुरुन्त नष्ट गर्नुहोला । याद गर्नुपर्ने केही भए डायरीमा टिप्दा हुन्छ । जटिल र संवेदनशील घडीमा यो लेख्दैछु एकजना सहृदयी साथीको सहयोगले ।

यसको उच्च गोपनीयता राख्नुहोला र तुरुन्त च्यातिदिनुहोला । हामी पक्रिएको कुरा अर्जुनकी श्रीमतीलाई सोध्दा थाहा हुन्छ किनकि हामी उनैका नातेदार गणेश उप्रेतीको शंखमूलस्थित डेराबाट चैत ३० गते बेलुकी पक्रेर लगनखेलमा लगिएका थियौं । त्यहाँ बस्ने सबै भाइहरु हामीसँगै पक्रिएका थिए, सायद छुटे होलान् ।

म जीवनभन्दा मृत्युको नजिक छु । किड्नीले काम गर्न छोडिसकेको छ । चाँडोभन्दा चाँडो सार्वजनिक गराउने कोसिस गर्नुहोला । अन्य पूर्वाग्रह भएर नसोच्नुहोला । यदि म ठूलै अपराधी रहेछु भने पनि त्यसको सजाय भोगुँला तर बेपत्ता पारिएको मान्छेलाई शंकाको भरमा पक्षपात नहोस् भन्ने कुरा तपाईंले सम्बन्धित ठाउँमा बुझाउनुहुनेछ भन्ने पूर्ण आशा र विश्वासका साथ यो पत्र कोरेको हुँ ।

(माओवादी नेता कृष्णध्वज खड्का (हाल लुम्बिनी प्रदेशका योजना र आर्थिक मामिलामन्त्री) ले द्वन्द्वकालमा आफू र पत्नी रेखा शर्मा (हाल प्रतिनिधिसभामा माओवादी सचेतक र पूर्व सामान्य प्रशासन मन्त्री) को गुमनाम अवस्थाबारे गोरखा ब्यारेकबाट पत्रकार ओम शर्मालाई लेखेको पत्र)

टिप्पणीहरू