‘बा’को नाम बेच्दै, पल र गायिकाबीच खेल्दै

‘बा’को नाम बेच्दै, पल र गायिकाबीच खेल्दै

जसरी सरकारी निर्माण, ठेक्कापट्टामा केपी ओली सत्तामा हुँदा समानान्तार निर्माण सेवाको हालिमुहाली चल्यो ठीक उसैगरी प्रचण्डदेखि ओलीसम्मका नाम बेचेर सरकारी विज्ञापन र सन्देश सामग्रीमा एक जना झापाली कलाकारले सिण्डिकेट चलाएको भेटिएको छ ।

दमकका स्थायी बासिन्दा सरोज ओलीले नाताले केपी काका पर्ने भन्दै सरकारी विज्ञापन र सूचनामूलक सामग्रीमा आफ्नो प्रभुत्व जमाएका हुन् । जसले सत्ता र शक्तिको आडमा लामो समय अवार्ड क्रय विक्रयको धन्दा चलाए, उनैले पछिल्लो समय प्रहरीदेखि सरकारी कार्यालयका गीत गाएर करोडौं आर्जन गर्न सफल भएका छन् ।

उनले सरकारी निकायका उच्चपदस्थलाई हातमा लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, ऊर्जा मन्त्रालय, ट्राफिक प्रहरीसम्मबाट २०औं लाख झारी सन्देशमूलक भिडियो बनाएको भेटिएको छ । झापाकै भीष्म प्रसाईं एसएसपी हुँदा ट्राफिक प्रहरीको गीत गाएर लाखौं रकम असुले ।

कहिले प्रचण्डकी नातिनी स्मिताको नामबाट एल्बम निकाल्ने नाममा हेडक्वार्टरसँग नजिकिए । तर, चेतन सापकोटाबाट ‘फटाहा’ करार भएपछि मिसन फेल खाई निरास भएका उनै सरोज वलीले जनार्दन शर्मा ऊर्जामन्त्री र कुलमान घिसिङलाई राम्रैसँग पट्ट्याएर ठूलै रकम हात पारेका छन् ।

जतिखेर नेपालमा सार्क शिखर सम्मेलन चल्दै थियो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको लगानीमा भीष्म प्रसाईंलाई हातमा लिएर वलीले नाम मात्रको गीत/म्युजिक भिडियो निकालेका थिए ।

केहीअघि प्रचण्डकी नातिनी स्मितालाई ‘भाञ्जी’साइनो लगाउँदै नजिकिए र उनको नामबाट एल्बम निकाल्न भ्याए । उनैले ऊर्जामन्त्री जनार्दन शर्मालाई हिरो बनाएर उस्तै काम फुत्का । ‘उज्यालो नेपाल’ नामक चलचित्र बनाएर ऊर्जा मन्त्रालयबाट लाखौं रकम हात पारे ।

धुर्मुस सुन्तलीलाई नचाएर पुनर्निर्माण प्राधिकरणबाट समेत उसैगरी लाखौँ निकाले । उनका गीतमा राजेश हमालदेखि पल शाह, समीक्षा अधिकारी, धुर्मुस सुन्तली, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसम्मलाई नचाइएको भेटिएको छ ।

अहिले तनहुँ प्रहरीको हिरासतमा रहेका पल शाह र किशाेरी गायिकाको बीचमा पसेर उनीहरूबीच द्वन्द्व निम्त्याउने मुख्य भूमिका उनै सरोजले खेलेको एकथरी सिनेकर्मीको आरोप छ ।

एक जना निर्देशकले भने– ‘पल शाह र किशाेरी गायिकालाई चिनापर्ची गराउने उनै सरोज, अहिले फसाउने पनि उनै हुन् ।’ माछीको जालभन्दा खतरनाक जाल बुनेर पललाई फसाइएको भन्नेहरू पनि छन् । पलले सामाजिक सञ्जालमार्फत आफूलाई दुर्गेश थापा, सरोज ओलीहरूले फसाएको बताएका छन् ।

पललाई नजिकबाट जान्नेहरूका अनुसार पल शाह र दुर्गेशबीचको सम्बन्धमा पाँच महिनाअगाडि तुषारापात भएको थियो । उनै सरोज हाबी हुँदा सो सम्बन्ध बिग्रिएको हो । बलात्कारकै काण्ड लागेर हिरासतमा यसअघि गायक प्रकाश ओझा पुगेका थिए, अहिले पल ।

पल प्रकरणले दीनदुःखीका छोराछोरी कलाकारितामा आउनै डराउने स्थिति बनेको छ भने अर्काेतिर कलिला नानीको ‘सुगर ड्याडी’ बनेर तिनलाई प्रयोग गर्दै आएका धेरै निर्माता–निर्देशकलाई झस्काइदिएको छ ।

टिप्पणीहरू