ओलीलाई बचाउन खोज्दा हामीलाई न्याय मिल्यो

ओलीलाई बचाउन खोज्दा हामीलाई न्याय मिल्यो

– ऋषिराम कट्टेल, अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी

नेपालका पुराना कम्युनिष्ट नेता हुन् ऋषिराम कट्टेल । उनैले २१ पुस ०७५ मा एउटा रिट दायर गरे नेपाल कम्युनिष्ट पार्टी आफ्नो भन्दै । सो रिटले नेपालको राजनीतिक कोर्स नै युटर्न भयो । केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुग्ने स्थिति बन्यो । जनमोर्चा, एमाले, माले हुँदै सीपी मैनालीसँग काम गरेका तर विचार नमिल्दा बाटो मोडेर नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका हुन् उनले ०६९ सालमा । श्रीमतीले गोर्खा छाड्न नमान्ने, बुहारी कर्मचारी समायोजनपछि पोखरातिर खटिने, बुढेसकाल काठमाडौंमा एक्लै काटिरहेका उनी विप्लवलगायत साना कम्युनिष्टसँग मिलेर आन्दोलनमा होमिएका छन् । अहिले सानो भनिएका कम्युनिष्ट पार्टीले ‘आगोको झिल्को’को रुपमा कम्युनिष्ट आन्दोलनलाई फेरि क्रान्तिकारी धारामा रुपान्तरण गर्ने योजना बनाइरहेको बताउँछन् ।

– हरि गजुरेल

तपाईंलाई केही साताअघि पार्टीबाट निकालियो भनिएको थियो । अस्ति पार्टी अध्यक्षकै हैसियतमा विप्लवको सभामा बोल्दै हुनुहुन्थ्यो । खास कुरा के हो ?

– गत पुसमा जनकपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनले मलाई सर्वसम्मत अध्यक्ष चयन ग¥यो । काठमाडौंमा शरणविक्रम मल्ललगायत केहीले निकृष्ट गतिविधि गरिरहेको संकेत पाएपछि यस्ता तत्वलाई तत्काल निलम्बन गर्न जाँचबुझ कमिटी गठन भयो । नेकपा कम्युनिष्ट पार्टी कब्जा गर्ने र कुनै अमुक पार्टीलाई बेच्ने योजना रहेछ उनीहरूको । यो गुटको नाइके लोकनारायण सुवेदी । उनले किर्ते हस्ताक्षर गरेर मलाई निकालेको हल्ला फिँजाए । निर्वाचन आयोगले लोकनारायणले किर्ते र गडबड गरेको हुँदा ‘उनैलाई पार्टीबाट निकाल्नु’ भनेपछि अहिले साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको छ ।

एमसीसीको विरोधमा उत्रिएका साना वाम दलबीच एकीकरणको सम्भावना कत्तिको छ ?

– अस्तिको बैठकमा यो मोर्चालाई बलियो बनाउनुका साथै पार्टी एकताका लागि अगाडि बढ्नुपर्छ भन्ने विषय प्रवेश भएको छ । हाम्रो र किरण (क्रान्तिकारी माओवादी)बीच आन्तरिक छलफल चलेको, माइन्युट नै भएको डेढ वर्ष भइसक्यो । हाम्रो पार्टी माओ विचार मान्छ, उहाँहरू माओवाद भन्नुहुन्छ । त्यसमा समाधान खोज्न सकिएको छैन । उहाँहरूको पार्टीभित्र गजमो नामक अर्काे संसदीय मोर्चा छ । पार्टीलाई खोपामा राखेर नक्कली काम किन गर्ने ? भन्ने हाम्रो प्रश्न हो ।

अहिले हाम्रो एकता यस्तै–यस्तै कुराले अल्झिरहेको छ । सबै कुरा नटुंगिएसम्म गरिएको एकताले कहिल्यै काम दिएन । महाधिवेशनबाट हल गरौंला भन्यो । दुईवटा गुट अस्तित्वमा रहन्छ । एकताका लागि प्रयत्नमै धेरै भोटो फटायौं । आठ/दश वटा कम्युनिष्ट पार्टी बनायौं । अहिलेसम्मको अनुभवले के सिद्ध गर्छ भने एकता भन्यो, भोलिपल्टदेखि आ–आफ्नो गुट चलाउन थाल्यो । यसले कहिल्यै कम्युनिष्ट पार्टी बन्न सकेन ।

मेरो प्रस्ताव, एउटै मोर्चामा उभिएर संघर्षबाट एकता खोजौं भन्ने हो । संघर्ष आफैंमा गुरु हो । विप्लवजी र हामीबीच पनि औपचारिक छलफल चलेको छैन । छिटोभन्दा छिटो एकता गरौं भनिरहनुभएको छ । हाम्रो पार्टीभित्र एकताका बाधक लोकनारायणहरू थिए । ती अहिले पाखा लागेका छन् । हामी नयाँ जनवादकै बाटोमा जानुपर्छ, सामन्तवाद अन्त्य भएकै छैन भनिरहेका छौं । अहिले वैज्ञानिक समाजवाद भन्नु काल्पनिक कुरा मात्र हो । अहिले पनि सामन्तवादको अवशेष पर्याप्त छन् । यो अवधारणा बदल्नुपर्छ ।

एमसीसीको विपक्षमा देखिएका नारायणकाजी श्रेष्ठ,झलनाथ खनाल, भीम रावलहरू मिल्नेसँग कत्तिको सम्भावना देख्दै हुनुुहुन्छ ?

– ६ पार्टीको बैठकमा उहाँहरूले बढी आशा देखाउनुभएको थियो । विप्लवजी आफैं कुरा गर्न जानुभयो तर हाम्रो आमसभालाई रिजेक्ट गर्नुभयो । यसले के देखाउँछ भने, उहाँहरूले अवसरको खोजीका लागि मात्र बार्गेनिङ चिप्स बनाइरहनुभएको रहेछ ।

नारायणकाजीलाई पदाधिकारी चाहिएको छ । झलनाथलाई प्रचण्ड, माधव नेपाललाई घुर्की लगाएरै भए पनि अर्काे पटकका लागि राष्ट्रपति सुनिश्चित गराउनु छ कि ! भीम रावललाई कसले नचिनेको हो र ? हिजो ओलीको समयमा परराष्ट्रमन्त्री खोजेका थिए, पाएनन् । उफ्रिँदा उफ्रिँदै अहिले राष्ट्रवादी बनेका छन् । लामो समय सँगै काम गरेका रावल हामीले नचिनेको मान्छे होइनन् । उनीहरूले हल्लै गरेपछि एमसीसीको सवालमा एउटा जनमत निर्माण भएको छ ।

तपाईंहरूको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । के एजेण्डामा केन्द्रित हो ?

– राष्ट्रिय सम्मेलनपछिको पहिलो बैठक हो । कार्यक्षेत्र विभाजन, सचिवालय गठन, पदाधिकारी निर्माण, जारी संयुक्त आन्दोलन, पार्टी एकता, संगठन विस्तारलगायत एजेण्डा छन् ।

तपाईंले सर्वाेच्चमा मुद्दा दायर गर्दा नेकपाको मुद्दाले नेपालको राजनीति नै यति धेरै गिजोलिएला भन्ने लागेको थियो ?

– गिजोलिने कुरा त त्यस्तै हो । जित्नैपर्छ भन्नेचाहिँ थियो । उनीहरू सर्वशक्तिमान भएको समयमा मुद्दा हालेको थिएँ । दुईवटा पार्टी मिले, नेपाल कम्युनिष्ट पार्टी बनाउन खोजे, सकेनन् । अण्डरलाइन गरेर, थोप्लो राखेर पार्टी बनाउन खोजे । केही जोर चलेन । अन्त्यमा कोष्ठभित्र राखेर पार्टी गठन गरे त्यसलाई अयोधीप्रसाद यादवले स्वीकारे । मैले निर्वाचन आयोगमा तत्कालै अपिल गरेँ, त्यहाँ हराइदिए । त्यसपछि बल्ल आयोगविरुद्ध अदालत गएको हुँ ।

जित्नुपर्ने प्रष्ट कारण, मेरो होइन, उनीहरूले बनाएको कानुन हो । कानुनमा प्रष्टसँग लेखिएको छ, निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नाम र झण्डासँग मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न पाइँदैन । नेपाल कम्युनिष्ट पार्टी हाम्रो पार्टीको नाम भयो, उनीहरूले नेकपा दर्ता गराए । कोष्टकलाई पहिचानको आधार मान्दै जाने हो भने त भोलि दशौं पार्टी एउटै नाममा बन्ने भए । त्यसले पार्टीहरूलाई अस्तव्यस्त बनाउने भयो ।

ओली–प्रचण्ड विवाद उत्कर्षमा पुगेको बेला अकस्मात् तपाईंको मुद्दा पेशीमा चढ्दा आश्चर्य लागेन ?

– यो मुद्दा पहिले नै जित्थें होला । उनीहरूबीच विवाद शुरु भएपछि मुद्दा फाँटको स्रेष्तेदारले हाम्रो वारिसलाई भनेका रहेछन् ‘तपाईंहरूको मुद्दा लम्बिने स्थिति छ । ओलीका मान्छेले अहिले यो पार्टी रहन्छ, रहँदैन थाहा छैन । तपाईंहरूले मुद्दा फैसला गर्न पर्दैन होला’ भनेका थिए । उनीहरूले नै मुद्दालाई लम्ब्याउन लगाएका रहेछन् ।

नेकपाको मुद्दामा वकिलले कति साथ दिए, न्यायाधीशले कति दुःख दिए ?

– अदालतले त होइन । वकिलहरूले चाहिँ मुद्दा सारेका सा¥यै गरेर दुःख दिए । पेशीमा चढ्ने तर अनेकन नाममा सारिरहेका थिए उनीहरूले । उनीहरूका तीन–चार जना वकिल थिए । कहिले एउटा वकिल बिरामी भयो भनेर सारिन्छ कहिले अर्काे वकिल थला परेको बहाना बनाइन्छ । हाम्रो तर्फबाट एक पटक मात्र सारिएको थियो । यसरी हुँदैन, जिन्दगी तारिखमै जाने भनेर अन्तिममा म आफैं अदालत गएँ ।

यो गाईजात्रा किन गरिरहन्छौ ? किन मुद्दा सारिरहन्छौ ? मुद्दा भनेको पार्टीको जीवनचक्रको कुरा हो, वैधानिकताको विषय पनि हो भनेर न्यायाधीशकहाँ गएर पड्किएँ । त्यसको केहीपछि सक्कल फाइल झिकाउनू भन्ने आदेश आयो । त्यस्तो आदेश दिइनुको अर्थचाहिँ वादी पक्षले मुद्दा जित्ने भयो भन्ने हुँदो रहेछ । कोरोनापछि अदालत खुले भदौमै मुद्दा टुंगिन्थ्यो । नेकपा नहारे केपी ओलीको राजनीति सिद्धिने भयो । उनलाई त एमाले पार्टी चाहिएको थियो । उनीहरूको राजनीतिक खिचातानीका कारण हामीलाई अलि छिट्टै न्याय मिल्यो । उनीहरू मिलिरहेको भए दश वर्षसम्म पनि हामीलाई न्याय मिल्दैनथ्यो ।

ढिलै भए पनि तपाईंको मागबमोजिम सर्वाेच्चले फैसला सुनायो । मुद्दा जित्दा कस्तो लाग्यो ?

– जीवनमा कहिल्यै अदालत नटेकेको मान्छे । अराजक र कानुनै नभएको मुलुक भए मात्र हार्ने मुद्दा हो । नत्र हामीले हार्ने त हुँदै होइन । कानुनमा प्रस्ट लेखेको कुरा हुँदा मैले जिकिर गरेको हो । तर, मेरो मुद्दाले नेपालको राजनीतिक चक्र नै उल्टाइदियो ।

केही–केही प्रोफेसर चौथो जनक्रान्ति भयो भनेझैं गर्छन् । देशको आन्दोलनले पनि अरुथोक त बदलेको होइन राणाशासन, पञ्चायत र राजाको शासनसम्म न फेरेको हो ! मेरो मुद्दाले ओलीको शासन बदल्यो । उनले असाध्यै चर्काे मूल्य भोग्न प¥यो । यति ठूलो मूल्य मुलुकले व्यहोर्नपर्ला भन्नेचाहिँ लाग्दैनथ्यो ।

नेपाली कम्युनिष्ट पार्टीका अनेकन दुकान छन् । ती पार्टीका नेतामध्ये केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाललगायतलाई कसरी लिनुहुन्छ ?

– यी साथी सत्ता र संसद्वादी हुनुभो । राजनीतिक, सैद्धान्तिक रुपमा भन्नुपर्दा उहाँहरूले कम्युनिष्ट आन्दोलनमाथि ठूलो बेइमानी र गद्दारी गर्नुभयो । सबै जना विर्सजनवादको संवाहक बन्नुभयो । उहाँहरूले नेपालको कम्युनिष्ट आन्दोलनलाई अत्यन्तै ठूलो धोखा दिनुभएको छ ।

कोही १९ र कोही २० होलान् तर यथास्थितिवाद र पुँजीवादी दलदलमा फसिसक्नुभएको छ । त्यसमा अडेर, खरानी नै भए पनि त्यसबाटै उठेर माक्र्सवादी, लेनिनवादी वैचारिक धाराको रक्षा गर्नुपर्छ भनेर साना वाम दलहरू संघर्षरत छौं । साना कम्युनिष्ट भए पनि वैचारिक दृष्टिकोणले उनीहरूभन्दा धेरै ठूला छौं । अहिले वैद्य र हामीमा के विश्वास छ भने नेपालमा विर्सजनवादीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्न सक्दैनन् ।

कम्युनिष्ट पार्टीमाथि किन पटक–पटक हमला हुन्छ ?

– १९६० को दशकपछि विश्व कम्युनिष्ट आन्दोलनमा संशोधनवाद हावी भयो । कैयौं देशका कम्युनिष्टहरू मासिए । नेपाली कम्युनिष्ट आन्दोलन आफैं ठीक बाटोमा आएको छैन । केही रेडिकल बुद्धिजीवीको बुद्धि विनोद गर्ने थलो बनेको छ । वर्गीय पक्षधरता शुरुदेखि उठेन । टाठा बाठा, शहरिया, युवाका मान्छे नेता भए । त्यही सेरोफेरोमा राजनीति घुम्यो । जब मध्यम वर्गले आन्दोलनको नेतृत्व गर्छ, त्यो हमेशा अवसरवादी हुन्छ । अवसर भेट्नेबित्तिकै उसले बेइमानी गरिहाल्छ । चाहे रायमाझी होस् वा प्रचण्ड, केपी ओली ।

हामीकहाँ साँस्कृतिक रुपान्तरणको पक्ष असाध्यै कमजोर भयो । जबसम्म वर्गीय, साँस्कृतिक रुपान्तरण गर्न सक्दैनौं, तबसम्म समस्या आइरहन्छन् । हामीभित्र सामन्तवाद छ । आन्दोलनको समयमा सामन्तवाद अलिकति दबिन्छ, जब संघर्ष तल–माथि हुन्छ अनि यो मुखरित भइहाल्छ, संसारभर कम्युनिष्ट मासिँदा पनि यहाँचाहिँ मासिँदैन ।

महाभारतमा एउटा कथा छ, जतिपटक रामचन्द्रले रावणको टाउको फुटाउँँछ, त्यतिपटक नयाँ टाउको पलाउँछ । नेपालको कम्युनिष्ट आन्दोलनलाई कम्युनिष्ट नामधारीले मात्र सिध्याउन सक्छन् । अरुले सक्दैनन् । त्यही बुझेर प्रतिक्रियावादीले विभिषण तयार गरेका हुन् । त्यति हुँदा पनि कम्युनिष्टहरू सकिएनन् । अहिले पनि सुरक्षा थ्रेट कतैबाट छ भने कम्युनिष्टबाट छ भन्छन् । केहीअघि विप्लवबाट छ भनिन्थ्यो ।

आँबुखैरेनीबाट मदन भण्डारीसँग छुट्दाको अन्तिम क्षणलाई कसरी सम्झनुहुन्छ ?

– छुट्दाखेरि कुनै दुर्घटनाको परिकल्पना थिएन । आफू एकातिर लाग्नासाथ उहाँ छुट्टिएको एकाध घण्टामा ज्यान गुमाउँदा दुःखद अनुभूति रह्यो । महाधिवेशनको नीति लागू गर्न उहाँ देशव्यापी दौडँदै हुनुुहुन्थ्यो । बाटामा तपाईंंले जबजको नामबाट कम्युनिष्ट आन्दोलन र सिंगो समाजलाई कुन भड्खालोमा हाल्नुहुन्छ भनेको थिएँ ।

मदनले जवाफ फर्काउनुभएको थियो– ऋषि कमरेड, ‘हामी नै हौं ड्राइभर । भड्खालोतिर जान लाग्यो भने स्टेयरिङ काटौँला ।’ यति भनेर छुटेका साथी । मदनको हत्या नै हो भनेर मैले बयान नै दिएको छु ।

खाइजीविका कस्तो चल्दै छ ?

– धेरै टण्टा छैन । सामान्य जीवन बिताउने मान्छे हुँ । बस चढ्छु, साथीहरू ट्याक्सी चढ भन्छन् । सकेसम्म सादा जीवन बिताउँछु, तडक भडक केही जान्दिनँ । केटाकेटी हुर्किसकेका छन् । काठमाडौंमा एक्लै छु । बुहारी काठमाडौं थिइन्, समायोजनका क्रममा पोखरा पारिदिए । श्रीमती गोरखा छाड्न मान्दिनन् ।

टिप्पणीहरू