जम्काभेट होला भनेर केपी ओली र माधव नेपाल परपरै आकाशतिर

जम्काभेट होला भनेर केपी ओली र माधव नेपाल परपरै आकाशतिर

हिजो शनिबार दिउँसो काठमाडौंको आन्तरिक विमानस्थलमा काङ्ग्रेस महाधिवेशनको उदघाटन सत्रबाहेक आठ महिनादेखि कहिँ कतै बोलचाल र देखभेटसम्म नभएका दुई जना नेताको सम्भावित जम्काभेट रोकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच जम्काभेट हुनै लाग्दा अध्यक्ष ओली भिआइपी लाउन्जको ढोकाबाटै मोडिनुभएको विमानस्थलस्थित सुरक्षा स्रोतले बताएको छ ।

मध्यान्ह सवा १२ बजेतिर अध्यक्ष नेपाल धादिङको गल्छीमा आयोजित कार्यक्रमलगायतका तराईतिरका पार्टी कामको निम्ति एभरेष्ट एअरको हेलिकप्टर चढ्न विमानस्थल पुग्नुभएको थियो ।

“सञ्जोगबस उहाँहरुले प्रयोग गर्ने हेलिकप्टर भने विमानस्थलको छुट्टाछुट्टै कुनामा टाढा राखिएको थियो ।”

उडान समय हुनुअघि नेपाल विमानस्थलको विशिष्ट कक्षमा रहँदा एमाले अध्यक्ष ओलीसँगै वीरगञ्जतर्फ जान एमाले नेता रघुवीर महासेठ र मोती दुगड पनि विशिष्ट कक्षमा छिर्न लाग्नुभएको थियो । वीचैमा ओलीका निजी सचिव राजेश बज्राचार्य पनि त्यहिँ टुप्लुक्क पुगेपछि सम्भावित जम्काभेट रोकिएको बताइन्छ ।

भित्र माधव नेपाल र बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे रहेको खबर पाउनासाथ त्यता छिर्दै नछिरी अध्यक्ष ओली सिम्रिक एअरको हेलिकप्टरबाट वीरगञ्जतर्फ जान पार्किङ्ग बे तर्फ लाग्नुभयो ।

‘उहाँ गाडीबाट ओर्लेर विशिष्ट कक्षतर्फ जाँदै गर्दा ढोकानेर पुगेर टक्क अडिएको क्षणको वर्णन गर्दै एक जना प्रत्यक्षदर्शीले भने,‘देखभेट हुँदैमा त के नै बित्थ्यो र,हाइहेल्लोले दूरी पनि त घटाउन सक्थ्यो नि !’

उनले अगाडि भने, ‘त्यसअघि सुरक्षाकर्मीले विशिष्ट कक्षभित्र हेरेर उहाँ (केपी) लाई केही भनेको जस्तो देखिन्थ्यो । विमानस्थलको विशिष्ट कक्ष विशिष्ट व्यक्तिहरुको लागि सामान्यतयाः केही बेर आराम गर्न, चिया वा पानी पिउन र शौचालय प्रयोगको लागि हो । तर,हिजो एमाले अध्यक्ष ओलीले ती कुनै अनि सुविधा लिन चाहनुभएन ।

उहाँहरुको उडानको समयान्तर पाँच मीनेट मात्रै थियो । हेलिकप्टर चढेर एक जना गल्छीतिर,अर्को वीरगन्जतिर उड्नुभएको हो । सञ्जोगबस उहाँहरुले प्रयोग गर्ने हेलिकप्टर भने विमानस्थलको छुट्टाछुट्टै कुनामा टाढा राखिएको थियो ।

टिप्पणीहरू