नयाँ वर्षमा राष्ट्रिय हास्यव्यङ्ग्य प्रतियोगिता

नयाँ वर्षमा राष्ट्रिय हास्यव्यङ्ग्य प्रतियोगिता

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय हास्यव्यङ्ग्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । नगरपालिकाले आगामी नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा विशेष अतिथि कलाकारहरूको उपस्थितिमा बृहत राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नगरपालिकाले समसामयिक विषयमा लेखिएको कविता जम्मा दुई सय शब्दको हुनुपर्ने जनाएको छ । त्यस्तै, कविताको विषयवस्तु संविधान, कानुनको प्रतिकूल नहुने गरी कसैको चरित्रहत्या नहुने खालको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक कविहरूले नगरपालिकाको ठेगानामा कविता पठाउन आह्वान गरेको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सान्त्वना हुने तीन जनाले प्रतिव्यक्ति १० हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताका लागि आगामी चैत १० गतेभित्र कविता नगरपालिकामा बुझाइसक्नु पर्नेछ भने प्रतियोगिता चैत १२ गते हुनेछ ।

टिप्पणीहरू