कसले गराउने होला यस्तो काम ?

एउटा विषयमाथि बिनाकुनै तातो बहस निर्णय हुन्छ । सब आ–आफ्नो बाटो लाग्छन् । अनि, एक घण्टापछि मूलीबाटै कुरा आउँछ– ‘म त यो मान्दिनँ…†’
प्रसंग हो, सचिवालय बैठक सकिएपछि गत हप्ता प्रधानमन्त्रीबाट व्यक्त अहसमतिको । बैठकले २५ गतेबाट रिक्त हुने राष्ट्रियसभा सदस्यमध्ये मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनुपर्ने एक सीटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउनका लागि गरेको निर्णयमाथि प्रमको असहमतिसँगै केही गम्भीर प्रश्न सिर्जना गरेका छन् ।

अनुमान गरौँ, पार्टीका सबै नेताहरु एक ठाउँ बसेर, सर्वसम्मत निर्णय भएलगत्तै असहमति बाहिर आउँछ, कसरी ? मानौँ, त्यही काम प्रचण्ड, माधव नेपाल, झलनाथ वा वामदेवहरुबाट भएको थियो भने के–के भनिन्थ्यो होला ? को–कोमाथि यस्तो गराएको चार्ज लगाइन्थ्यो होला ? देश–विदेशका शक्तिहरु लागेर ‘चलखेल भयो’, ‘षड्यन्त्र भयो’ भनेर कति ठूला ढोल पिटिन्थ्यो होला ? यी कुरा एकातिर छन् ।

अर्कातिर प्रधानमन्त्रीको यस्तो असहमतिले केही आशंका जन्माएका छन् । त्यस्तो के तत्व वा शक्ति बालुवाटारभित्र हावी छ, जसले पार्टीमा सर्वसम्मत भएको, स्वयं प्रधानमन्त्रीले पनि एक शव्द नबोली अनुमोदन भएको विषयमा एक घण्टाभित्रै धारणा फेरिने ? उहाँलाई के कुराले यसरी छिनछिनमै कुरा फेर्न प्रभावित गरेको छ ? अर्थात्, त्यहाँभित्र उहाँभन्दा पनि शक्तिशाली त्यस्तो को पात्र छ, जसले उहाँले सहमति जनाएर भएको निर्णय अस्वीकार गर्न लगाउँछ ? यो विषयलाई ‘आयो–गयो’ भन्ने ढंगले हैन, राष्ट्रिय राजनीतिमा उत्पन्न भएका असहजतासँग जोडेर हेर्न आवश्यक भइसकेको बताइन्छ ।

टिप्पणीहरू