अमेरिकाकाे इमेलपछि सरकार ढलेको एमाले अध्यक्षकाे दाबी

अमेरिकाकाे इमेलपछि सरकार ढलेको एमाले अध्यक्षकाे दाबी

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गर्नुभएको छ ।

एमालेका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै ओलीले न्यायमूर्तिमाथि सरकार ढालेको गम्भीर आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ?’

ओलीले वर्गीय पूर्वाग्रह र विकास विरोधीको षड्यन्त्रको हिस्सेदार भएर न्यायाधीशहरुले आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभयो ।

संविधान बाहिर गएर सरकार ढालेको भन्दै उहाँले अदालतले सरकार बनाउने गलत अभ्यास शुरु भएको पनि बताउनु भयो । ‘संविधान बाहिर गएर सरकार ढालियो,’ ओलीले भन्नुभयो, ‘संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ । संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो ।’

टिप्पणीहरू