अष्ट्रेलिया जानेबीच बढ्यो डिभोर्स र आत्महत्या

अष्ट्रेलिया जानेबीच बढ्यो डिभोर्स र आत्महत्या

काभ्रेको पनौती घर भई हाल कोटेश्वर, जडिबुटी बस्ने र जापान हुँदै अष्ट्रेलिया छिरेका अजय आचार्यले अस्ति सोमबार साँझ लामो भिडियो फेसबुकमा पोष्ट गरेर पत्नीसहित सम्पूर्ण ससुराली खलकलाई दोष लगाए र आत्महत्याको योजना सुनाए । भलै साथीभाइले थाहा पाएर उनलाई अकाल मर्न दिएनन् ।

यसरी अनेक सुन्दर सपना साँचेर अष्ट्रेलिया पढ्न जाने नेपाली विद्यार्थीले दिनदिनैजसो आत्महत्या गर्न थालेपछि अभिभावकहरु पीडामा परेका छन् । छोराछोरी उच्च शिक्षा हासिल गरी फर्किने आशा गरे पनि बढ्दो आत्महत्याले बाबु–आमालाई रुनु न हाँस्नु बनाएको हो । बितेको दुई हप्ताबीच मात्रै सिड्नी र न्यू साउथ वेल्समा तीन जनाले आत्महत्या गरेका छन् । यसमा नेपाल छाडेको २ हप्तामात्रै पुगेका युवकसमेत छन् ।

गत वर्षको जनवरी २ देखि अक्टोबरसम्मको तथ्यांकअनुसार २१ जना नेपाली अष्ट्रेलियामा विभिन्न कारणबस बितेका छन् । त्यसमा आत्महत्याको दर उच्च छ । विभिन्न कारण दिवंगत भएका २७ जनामध्ये ११ जनाले आत्महत्या गरेका छन् भने पानीमा डुबेर ५ जना, मोटरसाइकल दुर्घटनामा २ जना, झैझगडाको कारण शंकास्पद मृत्यु भएका १ जना र क्यान्सरलगायत रोगबाट ३ जना छन् आत्महत्यालगायत सबै कारणले बित्ने जम्मै जना विद्यार्थी नै हुन् ।

सबैजसोको शव नेपाल ल्याउने चलन छैन । ऋण काढेर गएका यस्ता विद्यार्थीको अभिभावकसँग शव ल्याउने खर्च पनि हुँदैन । त्यसैले उतै सद्गत हुने गरेको छ । कोही–कोहीको शव भने एनआरएन र परिवारका सदस्यहरूको पहलमा स्वदेश ल्याउने गरिएको छ । स्मरणीय छ, अष्टे«लियाको कानुनले आत्महत्यासम्बन्धी समाचार प्रकाशन गर्न अनुमति दिँदैन ।

आत्महत्या गर्नुपर्ने कारणमध्ये मानसिक स्वास्थ्यमा देखिएको नकारात्मक असर मात्र नभएर अन्य धेरै छन् । कारण विश्लेषण गर्दै कार्यवाहक राजदूत द्रौपदा सापकोटा भन्छन्, ‘अष्ट्रेलियामा भनेजस्तो काम पाउँदैनन्, बेरोजगार बस्नु परेपछि मानसिक तनाव हुन्छ, यो कारणले पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ भने नेपालमा हुँदा आमाबाबुको कमाइमा रमाएका छोराछोरीले अष्ट्रेलियामा बाँच्न जोतिएर काम गर्नुपर्ने हुन्छ ।

त्यसरी काम गर्न नसकेपछि निराशा र ग्लानि पैदा हुँदा पनि जीवन गुमाउने गरेका छन् । त्यसैगरी, काम गरेर पैसा कमाउनेहरू जुवा र पोकरहरूमा फसेपछि आफ्नो जीवनलाई बर्बाद पार्ने गरेका छन् भने ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डबीचको झगडाका कारण घुक्र्याउने सुरमा मर्नेहरू पनि छन् । लागुऔषधको कुलतमा फसेकाहरू त झन् बढी मर्न तम्सन्छन् ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या दर बढिरहेको बेला पारपाचुकेको संख्या पनि डरलाग्दो देखिएको छ । अष्ट्रेलियाका अदालतमा हरेक दिनजसो नेपाली डिभोर्सको मुद्दा लिएर पुगेका छन् । यसका लागि पति/पत्नी मात्र दोषी नभएर नेपाली वकिलको पनि उत्तिकै हात रहेको बताइन्छ ।

अर्काको डिभोर्स गरेर पेट पाल्ने खिलेन्द्र तिम्सिनाजस्ता वकिलले त फेसबुक वालमा ‘डिभोर्स गरौं, आनन्दले जीवन बाँचौं’ भन्दै पोस्ट्याउने गरेका छन् । फर्जी धन्दा चलाएबापत लाइसेन्स खोसिएका यिनै तिम्सिनालाई अघिल्लो महिना नेपाल आउँदा एयरपोर्टबाटै पत्नीमाथि वैवाहिक बलात्कारको मुद्दामा प्रहरीले पक्रेर थुनेको थियो । अदालतबाट धरौटीमा छुटेका उनी अष्ट्रेलियामा अर्काको डिभोर्स गराउँदा नेपालमा आफ्नै पनि डिभोर्स हुने अवस्था भएपछि अहिले दिल्ली हुँदै सिड्नी उड्ने भनेर बेपत्ता भएका छन् ।

अष्ट्रेलियाको सपना– ठगको जमाना

अष्ट्रेलियाको सपना देखाउँदै नेपालीले नेपालीलाई मुर्गा बनाउन शुरु गरेका छन् । कोभिड १९ को कहरपछि अष्ट्रेलियाले कामदारको अभाव पूरा गर्न बोर्डर खुला गर्नुका साथै लुज भिसा प्रणालीलाई प्राथमिकता दिएको छ । यस्ता कामदार आपूर्ति गर्न विभिन्न आकर्षक प्रलोभन दिएर नेपाली विद्यार्थी पठाउने नयाँ धन्दा शुरु भएको छ ।

यसनिम्ति कन्सल्टेन्सी खोलेर बसेका नेपालीले अष्ट्रेलियामा कलेज पनि खोलेका छन् । उनीहरूले ओपन ओपेरा हाउस, हाइड पार्क र हार्बर ब्रिजको फोटो देखाउँछन् । तर कलेज भने शहरको गल्लीमा दुई तीन वटा कोठा लिएर सञ्चालन गर्छन् । कलेजवालाले कन्सल्टेन्सीवालाई विद्यार्थी ल्याएबापत ५० प्रतिशत कमिशन दिने चलन छ । यता फर्कियो, उता फर्कियो अन्तिममा ठगिने भने नेपाली विद्यार्थी, अष्ट्रेलियामा ठग्ने पनि नेपाली नै ।

टिप्पणीहरू