डुम्रेदेखि मनाङ्गसम्मै बाटो अवरुद्ध,वार्ता असफल

डुम्रेदेखि मनाङ्गसम्मै बाटो अवरुद्ध,वार्ता असफल

लमजुङको सुन्दर बजार हिजो साँझदेखि तनावग्रस्त भएको छ । १० कक्षा पढ्ने एक जना विद्यार्थी मर्स्याङ्दी नदीमा पौडी खेल्न जाँदा डुबेर निधन भएपछि सुन्दरबजार र तुरतुरे क्षेत्र तनावग्रस्त भएको हो ।

डुबेर निधन भएका विद्यार्थीको आफन्तले स्थानीय फ्युचर स्टार आवासीय माविका प्रिन्सिपललाई थुन्नुपर्ने माग राखेका छन् । प्रिन्सिपल नेपाली काँग्रेस निकट भएकाले एमाले निकटहरुले उक्त माग राखेको आरोप छ ।

विद्यार्थीको मृत्युपछि घटनाले राजनीतिक रुप लिएको र स्थानीय प्रशासनले आज बिहानदेखि सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु आदेश) जारी गरेको हो ।

उक्त विद्यालयमा १० कक्षामा पढ्ने विद्यार्थी सनिज श्रेष्ठको हिजो दिउँसो मर्स्याङ्दी नदीमा पौडी खेल्न जाँदा डुबेर निधन भएको हो । आज दिनभर सबै पक्षबीच वार्ता भए पनि निश्कर्षमा नपुगेको बताइन्छ ।

कर्फ्युका कारण डुम्रेमा लमजुङ र मनाङ जाने गाडीको ताँती लागेको छ । सुन्दरबजार नगरपालिकाको सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।

हिजो साँझबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । हिजो दिउँसो विद्यालयका शिक्षक सरोज ओलिया र कक्षा १० मा अध्ययनरत सविन गुरुङसँगै श्रेष्ठ पनि पौडी खेल्न गएका थिए ।

श्रेष्ठ विद्यालयको छात्रवासमा बस्दै आएका थिए । उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरवाही गरेको भन्दै हुलदंगा गरेछि सो क्षेत्र तनावग्रस्त भएको हो ।

“भर्खर प्राप्त समाचारअनुसार हिजोदेखि त्यहाँ लागेको कर्फ्यु जनसुविधालाई ध्यानमा राखी हटाइएको छ”

टिप्पणीहरू