‘विद्वान’ले वृद्धलाई यतिसम्म रूवाए बरिलै

‘विद्वान’ले वृद्धलाई यतिसम्म रूवाए बरिलै

नाम अरुणकुमार सुवेदी । पेशा बौद्धिक अर्थात् पल शाह प्रकरणबाहेक सबैथोक जानेको । काम उठ्तीपुठ्ती । पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीका छोरासँग मिलेर मुक्तिनाथ केवलकार चलाउन खोज्ने यिनै सुवेदीमाथि अहिले बयोवृद्धको ९ लाख रुपैयाँ लिएर फरार भएको र अख्तियारबाट मुद्दा मिलाइदिन्छु भन्दै एक जना मारवाडीबाट ४० लाख खाएको आरोप छ ।

०६५ सालमा हेटौंडाका देवीध्वज कार्कीसँग निश्चित रकममा सम्झौताबमोजिम जग्गा लिने सहमति भयो । सहमतिपछि कार्कीले १५ कठ्ठा जग्गा नामसारी गरिदिए । जग्गा नामसारी भए पनि पैसा दिइएन । ३ लाखको चेक र बाँकीको तमसुक गरियो । तर, जग्गा लिएबापतको चेक र तमसुकबमोजिमको रकम नदिएपछि कार्की जिल्ला अदालत मकवानपुरको ढोका ढक्ढकाउन पुगे ।

जिल्ला अदालतले पीडितकै पक्षमा फैसला सुनायो । तर, सुवेदी उच्च अदालत (पुनरावेदन) पुगे । त्यहाँ पनि हारे । त्यसपछि मुद्दा पुग्यो सर्वाेच्च अदालतमा । सर्वाेच्चले पनि पीडितकै पक्षमा फैसला सुनायो ।

सर्वाेच्चले सुवेदीको घर, घडेरी बेचेर बाँकी पैसा र तमसुकको रकम तिर्न आदेश दिएको छ । निर्णयबमोजिम झापास्थित सुवेदीका आमा र श्रीमतीको जग्गा बेचेर केही रकम फिर्ता गरिए पनि बाँकी रकम ९ लाख ४२ हजार ९ सय ९० रुपैयाँ रिकभर भएन ।

कानुनबमोजिम बाँकी रकम बराबरको जेल सजायँ र कैद खर्च पीडित पक्षले नै व्यहोर्ने गरी जिल्ला अदालतले आदेश दियो । उच्च अदालतले पनि उक्त फैसलालाई सदर ग¥यो । घुम्दै फिर्दै उक्त मुद्दा सर्वाेच्च पुग्यो र उच्चकै आदेश सदर भयो ।

प्रतिवादी सुवेदीसँग अब एउटै विकल्प छ– कि थुनामा जाने कि बाँकी रकम जसरी हुन्छ फिर्ता गर्ने । उनीविरुद्ध जिल्ला अदालतमा तामेलीको मुद्दा दायर गरेपछि पक्राउ पुर्जी तयार हुन्छ ।

बीचमा मेलमिलापका अनेक सहमति भए पनि लत्याएका सुवेदी अहिले बाहिर ठुल्ठूला गफ दिएर हिँडिरहेका छन् । ३ लाखको चेक भुक्तानी गर्न नसक्नेले अहिले मुक्तिनाथमा केबलकार चलाउँछु भनेर हिँडिरहेको देख्दा पीडितलाई नजिकबाट चिन्नेजान्नेहरू आश्चर्य मान्दै छन् ।

कथा यस्तो छ । पीडित कार्कीले नमान्दानमान्दै सुवेदीले फ्याक्ट्री चलाउन जग्गा मागेका थिए । वृद्ध कार्कीले ‘केही गर्छु भन्ने’लाई एक वचनमै जग्गा दिए । त्यसो त सुवेदी कुराले ठिक्क पार्न जान्ने भएकै कारण देवीध्वजले आँखा चिम्लेर जग्गा नामसारी गरिदिएको बताइन्छ ।

फोटोकपी
०६५ सालमा भएको लेनदेन मुद्दाको विगो हालसम्म पनि पूर्ण रुपमा असुल हुन नसकेको भन्ने तथ्य रहेको छ । फैसला गरेर मात्र होइन, फैसला कार्यान्वयन गर्नु पनि अदालतको अनिवार्य दायित्व रहन्छ । लामो अवधिसम्म साहुको ऋण नतिर्ने नियतबाट विभिन्न बहाना बनाई कानुनको छिद्र खोजी फैसला कार्यान्वयनको कार्यमा बाधा अड्चन देखाइरहनु उपयुक्त र मनासिब हुँदैन । दोस्रोपटक लिलामी हुँदा पनि विगो नपुगेपछि सो लिलामबाट आएको विगो प्राप्त गरेको मितिबाट निवेदकलाई बाँकी विगोमा थुनामा राखी पाउँ भनी प्रस्तुत निवेदन पनि ७ दिनभित्र परेको देखिँदा मकवानपुर जिल्ला अदालतबाट मिति २०७३/११/०६ र उच्च अदालत पाटन, हेटौंडा इजलासबाट सो आदेशलाई सदर हुने गरी मिति २०७३/१२/०३ भएको आदेशमा कुनै कानुनी त्रुटि देखिन नआएको हुँदा उक्त आदेशहरु उत्प्रेषणको आदेशले बदर गर्न सक्दैन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । रिट निवेदन खारेज हुने ठहरेकाले यस अदालतबाट मिति २०७३/१२/२४ मा भएको अन्तरिम आदेश स्वतः निस्क्रिय हुन्छ ।

इति सम्वत् २०७७ साल फागुन महिना २१ गते रोज ६ शुभम्……।

३ लाखको चेक र तमसुक गरी जग्गा लिएर गएका सुवेदी सम्पर्कहीनजस्तै बने । यसबीचमा अनेक ताकेता गर्दा ८ लाख फिर्ता गरे । अनेक ताकेता गर्दा पनि रकम र पैसा फिर्ता नगरेपछि देवीध्वजले बाध्य भएर मकवानपुर जिल्ला अदालतमा मुद्दा हाले । फैसला देवीध्वजकै पक्षमा भयो । तर, सुवेदीले रकम फिर्ता गरेनन् । यिनी यस्तो जाली निस्कन्छन् भन्ने थाहा भए व्यवहार गर्ने कुरै हुँदैनथ्यो ।

आँखा चिम्लेरै जग्गा दिनु देवीध्वजको ठूलो गल्ती भयो । हुन त नाम चलेका टिभीमा मज्जैले सुटटाइसहित बहस गर्नेलाई कसले पैसा नदेला ? तर त्यही विश्वासमा एउटा वयोवृद्धले नपाउनु हण्डर र दुःख खाए । भन्छन् नि हातले दिएर खुट्टालाई सास्ती । झण्डै चौध वर्ष लामो मुद्दामामिलापछि देवीध्वजले जिल्ला, उच्च हुँदै सर्वाेच्चबाट मुद्दा जितिसकेका छन् तैपनि ती विद्वान्ले पैसा फिर्ता गरेका छैनन् ।

त्यतिबेला स्थानीय चिनजानका एक व्यक्तिले उनको धन्दा थाहा पाएकाले नदिनु पनि भनेका थिए । तर, सुवेदी विद्वान् पनि थिए । कुनै क्षेत्रबारे नजानेको भन्ने छँदै थिएन । सबै क्षेत्रमा पोख्त । त्यस्तो फटाहा निस्कन्छन् भन्ने कसलाई के थाहा ? देवीध्वजबाट जग्गा पाएपछि फरार भएका उनीसँग पैसा माग्न जाँदा अनेक कुरा गर्ने, झुलाइरहने र सकेसम्म नदिने ।

सुवेदीकी आमाले समेत ‘बूढो मान्छेको पैसा फिर्ता दिनुपर्छ, पाप लाग्छ’ भन्थिन् । तैपनि, सुवेदीलाई आमाको बोलीले के छुन्थ्यो ! श्रीमतीको गुन्युभित्र पसेपछि जतिसुकै ‘मैँ हु’ भन्ने लोग्ने मान्छे उल्टै सर्प बनेर निस्कनेरहेछ । उल्टै सुवेदी वृद्ध देवीध्वजलाई डस्न थाले ।

सुवेदीको श्रीमतीचाहिँ वकिल हुन् । श्रीमतीले कानुनको नौ सिङ प्रयोग गरेर बाँकी दिनुपर्ने पैसा फिर्ता नगर्ने कागजात बनाएकी रहिछन् । श्रीमतीले कैयौँपटक यस विषयमा आफूलाई केही गर्न नसक्ने र जग्गाको पैसा माया मार्न भनेकी थिइन् । कानुनमा उल्लिखित भएभरको दफा पल्टाएर थर्काउने र केही गर्न नसक्ने चुनौती पनि दिन्थिन् ।

जग्गाको पैसा फिर्ता ‘हुँदै हुँदैन’ भन्दै जंगिन्थिन् । मुद्दा चलेको दुई दशक नै पुग्न लागिसकेको छ । यस अवधिमा उल्टै सुवेदी दम्पती मिलेर फिर्ता गर्न नपर्ने भन्दै अदालतमा मुद्दा दायर गरे । तर, अदालतले उनीहरूको मुद्दा खारेज गरेर देवीध्वजकै पक्षमा फैसला सुनाइदियो ।

अदालतले सुवेदी दम्पतीविरुद्ध फैसला सुनाए पनि जग्गा र रकम फिर्ता भएन । सुवेदीसँग रकम र जग्गा दुवै भए पनि नदिन आनाकानी गर्दै आइरहेका छन् । अहिले त्यो जग्गाको भाउ करोडौँ छ । र, त्यही लोभमा उनीहरूले अनेक तानाबाना बुनिरहेको बताइन्छ । मिडियामा विद्वान् भनेर आफूलाई परिचय दिलाउने सुवेदीको असली रुप भने कसैलाई थाहा छैन ।

२०७४ भदौ १६ गते उच्च अदालत पाटन, हेटौंडा इजलासले पक्ष विपक्षमा दुईबीच मेलमिलाप हुन सक्ने भन्दै १ महिनाको समय दिई २०४९ को नियम ६५ घ बमोजिम तारेख तोकी मेलमिलाप गर्न भने पनि त्यसअनुसर भएन । ०६५ मा भएको लेनदेन पूर्ण रुपमा नटुंगिएपछि बाँकी बिगोबापत थुनामा राख्न अदालतले आदेश दिइसकेको छ ।

एक वयोवृद्धको जग्गा कागजात गरी लगेर पैसा तिर्न नसक्नेको अहिलेको फुइँ सानोतिनो छैन । मुक्तिनाथमा केबुलकार चलाइन्छ भन्दै हिँडेका छन् । एमसिसीका धुवाँधार प्रवक्ता हुन् । युट्युबमा प्रत्येक विषयका विश्लेषक हुन्छन् । यो घटनाको समाधान यो, त्यसो यो भनेर भन्नेले जाबो ९ लाख ऋणको समाधान गर्न सकेका छैनन् । कपन बस्ने सुवेदीबारे थाहा नपाउने जत्तिले भन्छन्– विद्वान् तर थाहा पाउनेलेचाहिँ औंला देखाउँछन्– ‘कुरी, कुरी’ !

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/03/Devi-Dhoj-Karki-supreme_169663_watermark-4-1.pdf” title=”Devi-Dhoj-Karki-supreme_169663_watermark-4″]

 

टिप्पणीहरू