व्याख्यात्मक घोषणा लाज छोप्ने टालो हो-एमाले महासचिव शंकर पोख्रेल

व्याख्यात्मक घोषणा लाज छोप्ने टालो हो-एमाले महासचिव शंकर पोख्रेल

एमाले महासचिव शंकर पोखरेलले एमसीसी अनुमोदनपछि आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेमाथि आक्रमण भइरहेको बताउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता देखेर समकक्षी नेताहरू पूर्वाग्रही ढंगले प्रस्तुत भएको उहाँको आरोप छ । ओलीले संसद विघटन गरेर चुनावमा जान खोज्दा प्रतिगमन भन्नेहरु अहिले त्यही बाटोमा अग्रसर भएको उहाँले दाबी गर्नुभयो ।

‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने,लफडा गरिरहने । अनि संसद विघटन गरेर चुनावमा जान खोज्दा प्रतिगमन भन्ने ?,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले प्रचण्ड र माधवकुमार नेपालले संसद विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’

अर्को एउटा सन्दर्भमा उहाँले एमसीसी पाससँगै गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नरहेको उल्लेख गर्दै भन्नुभयो, ‘घोषणापत्र प्रचण्ड र माधव नेपालको कार्यकर्तासामु लाज छोप्ने टालो मात्र हो ।’

टिप्पणीहरू