नारी दिवशमा धादिङका महिलाको मन फुकाएर नाच

नारी दिवशमा धादिङका महिलाको मन फुकाएर नाच

‘नारी दिवश साथी हो मार्च ८ को मिति ।
स्वागत गर्छौं सब दर्शक अतिथि ।।’
जुट्नु पर्छ
‘जुटौं–जुटौं साथी हो केही गर्ने निमित्त ।
घर धन्दामै नबनौं सिमित ।।’

यो गीतमा जोर मादलको रन्को पाउनेबित्तिकै एक हुल महिला मञ्चमा नाच्न पुगे । कलाकार मात्रै होइन, कार्यक्रम हेर्न आएका सबैलाई यो गीतले छमछमी नचायो ।

नारी दिवशको अवसरमा धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको लोकगीत प्रतियोगितामा महिला समूहले प्रस्तुत गरेको गीत थियो यो । मलेखुस्थित भद्रकाली आमा समूहले गाएको यहि गीत प्रतियोगितामा प्रथम भएको छ ।

‘छोराछोरी हुन् बराबरी,एउटै रथका दुई पाङ्ग्रा सरी ।
शून्य छ आकाश संसारैभरि,जून र तारा एकै भर परी ।।
हो भन– लैंगिक विभेद चाहिंदैन– भो भन ।।’

गजुरी रुद्रेश्वर आमा समूहका महिलाहरुले गाएको यो गीतले पनि सबैलाई छमछमी नचायो । जानी नजानी स्वर नमिसाई दर्शकले धर पाएनन् । लैंगिक समानताको बारेमा प्रस्तुत गरिएको यो गीत प्रतियोगितामा दोस्रो भएको छ ।

झट्ट हेर्दा झण्डै ६० वर्ष नाघेकी दुई महिलाले गाएको देशभर भइरहेको महिला हिंसाका घटना समेटिएको गीत तेस्रो भएको छ । सबै प्रतियोगीले लेखेर ल्याएका गीत कापीमा हेरेर प्रस्तुत गरिरहँदा पिण्डेश्वरी आमा समूहका दुई जना आमाले कापीमा नहेरिकनै गीत गाएका थिए ।

“नारी मरे हत्यामा परेर,पुरुष हिंड्छन् षड्यन्त्र गरेर’

५ वर्षीया बालिकाको बलात्कार प्रयासदेखि निर्मला पन्तमाथि भएको हिंसाका घटनासमेत गीतमार्फत उनीहरुले प्रष्ट सुनाए । महिला बहुउद्देश्यीय सहकारीको समूहले प्रतियोगितामा सान्त्वना स्थान पाएको छ ।

मेगावी समूहले गाएको ‘अधिकार चलाउने अभियान,नारीहरुको सफलता स्वाभिमान, नारी मरे हत्यामा परेर पुरुष हिंड्छन् षड्यन्त्र गरेर’, गजुरी– ५, च्याङ्लीका सरिता प्रजाको नेतृत्वमा आएका प्रतियोगी समूहले गाएको ‘धन पैसाको केसमा,नारी चेली बेचिन्छन् नेपाल हाम्रो देशमा’ लगायतका टुक्काहरु पनि निकै गहकिला थिए ।

‘स्थानीय चुनाव छ संघारमा, समावेशी आओस् है नेपालमा’, हाँस्दै हाँस्दै जाउँ है मेलामा, घरको काम नभन्नु है नारी अधिकार लिने बेलामा’, जस्ता गीतले पनि अब महिला पनि जानकार भइसकेका छन् है भन्ने सन्देश छर्लङ्गै बनाएको गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताइन् ।

प्रतियोगिता उद्घाटन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल,गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत,गजुरीका प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरे, वडा अध्यक्षहरुले महिला समूहले प्रस्तुत गरेका गीतको खुलेरै प्रशंसा गरे । प्रतियोगितामा गजुरी गाउँपालिकाभित्रका १८ समूह सहभागी थिए ।

प्रथम, दोस्रो, तेस्रो र सान्वना हुने समूह क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । सहभागी समूहलाई पनि हौसलास्वरुप नगद १५ सयसहित सम्मान गरिएको छ ।

टिप्पणीहरू