मन्त्रीभन्दा पीए जान्ने,कसलाई राम्रो मान्ने ?

मन्त्रीभन्दा पीए जान्ने,कसलाई राम्रो मान्ने ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुमाथि रकमी चलखेल गरेर उपसचिवको दरबन्दी भएका पालिकाहरुमा नायव सुब्बालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने गरेको आरोप लागेको छ ।

रौतहटको ईशनाथ नगरपालिकामा उपसचिवको दरबन्दीमा कार्यरत खिमबहादुर भुजेललाई हटाएर नगरपालिकाकै शिक्षा शाखामा रहेका नायव सुब्बालाई निमित्त कार्यकारी बनाइएपछि आर्थिक चलखेलको आशंका गरिएको हो ।

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठका स्वकीय सचिव दिलिप पटेलले आर्थिक चलखेल गरी भुजेललाई हटाएर शिक्षा शाखा प्रमुख नायव सुब्बा नन्दकिशोर गुप्तालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको पत्र पठाएपछि कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ ।

दुई महिना पहिला ईशनाथको कार्यकारी प्रमुखका रुपमा आएका भुजेललाई कटहरिया नगरपालिकामा पठाएर मन्त्रालयले उपसचिवको ठाउँमा सुब्बालाई कार्यकारी प्रमुख बनाएको नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताए ।

‘नगर प्रमुखलाई जानकारी नै नदिई गुप्ताले कार्यपालिका बैठक बोलाएको नक्कली माइन्युट खडा गरेर मन्त्रालयमा बुझाएको र नगरपालिकाको निमित्त प्रमुखको पत्र दिएको थाहा पाएपछि हामी आज काठमाण्डौ पुगेका छौँ’,

ईशनाथ नगरपालिकाका उपसचिव भुजेलको सरुवा गरेर आफ्नो मान्छे गुप्तालाई निमित्त हाकिम बनाउनका लागि जसपाका नेताहरु नै लागेको मेहताको भनाइ छ ।

सो नगरपालिकाको शिक्षा शाखा प्रमुख रहेका गुप्ताले आफू हाकिम बन्नका लागि नगरपालिकाकी उपप्रमुख हुस्ने आरा र वडा अध्यक्ष इद मोहमदको नक्कली हस्ताक्षर गरेर कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा बुझाएको भन्दै मंगलबार बिहानै कार्यपालिका सदस्यहरु काठमाडौँ आएका थिए ।

‘नगर प्रमुखलाई जानकारी नै नदिई गुप्ताले कार्यपालिका बैठक बोलाएको नक्कली माइन्युट खडा गरेर मन्त्रालयमा बुझाएको र नगरपालिकाको निमित्त प्रमुखको पत्र दिएको थाहा पाएपछि हामी आज काठमाण्डौ पुगेका छौँ’,नगर प्रमुख मेहताले भने ।

उपप्रमुख हस्ने आराले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठक नै नबसेको र नक्कली हस्ताक्षर गरेर मन्त्रालयमा कागजात बुझाएको थाहा पाएर यसबारे थप बुझ्न काठमाडौँ पुगेको बताइन् ।

सामान्य प्रशासन मन्त्री श्रेष्ठका स्वकीय सचिव पटेल रौतहटकै भएका कारण उनले आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पालिकाहरुमा आफ्ना मान्छे पठाउने अभियानै थालेको रौतहटका निमित्त हाकिमहरुको भनाइ छ ।

मन्त्रालयमा हुने आर्थिक चलखेलका कारण जिल्लाको अधिकांश स्थानीय तहमा सुब्बाले निमित्त भएर काम गर्नुपरेको उनीहरुले आरोप लगाए ।

राजनैतिक खिचातानी र मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण एक बर्षमा चार जना कार्यालय प्रमुख फेरिएकाले आफू हैरान भएको नगरप्रमुख मेहताले गुनासो गरे ।

यसबारे मन्त्रालयमा कुरा गर्दा त्यहाँका कर्मचारीहरुले माथिको दबाबका कारण उपसचिव भुजेलको ठाउँमा नायव सुब्बा गुप्तालाई निमित्त कार्यालय प्रमुखको पत्र दिएर पठाउन परेको बाध्यता सुनाएको मेहताले बताए ।

रौतहटका १८ वटा स्थानीय तहमा भुजेल मात्र उपसचिव हुन् । अन्य सबै स्थानीय तह निमित्तको भरमा चल्दै आएको छ ।

टिप्पणीहरू