केपीकै मान्छे कुना कुनामा

केपीकै मान्छे कुना कुनामा

देश केपी ओलीको अतिवादबाट मुक्त भयो भनेरमात्रै के गर्नु, सिंहदरबारभरि उहाँकै मान्छेहरुको घेराबन्दी कायमै भएपछि ! विशेष अदालतमा ३१ करोड भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका रविन्द्रकुमार यादव अहिले कृषि मन्त्रालयको हर्ताकर्ता छन् । उनीसँगै त्यहाँ देखिने युवा हुन्, विशाल न्यौपाने । एमाले अखिलका केन्द्रीय सदस्य, मन्त्री महेन्द्रराय यादवका पिए ।

कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्षौंदेखि ठेक्का पाएको भृकुटीमण्डपस्थित काठमाडौं फनपार्क पछिल्लो समय उनलाई ठेक्का दिने मन्त्री हुन्, बद्री न्यौपाने । परिवार दलबाट मन्त्री भएका उनी अहिले एमाले केन्द्रीय सदस्य छन् । बद्रीले भृकुटीमण्डप व्यवस्थापन समितिको सदस्य सचिव बनाएका व्यक्ति हुन्, रविन्द्र यादव ।

विद्युत प्राधिकरणमा ओभरसियर पृष्ठभूमिका उनले भृकुटीमण्डप सञ्चालन गर्दाको अनियमितता अख्तियारले छानबिन गर्ने क्रममा ३१ करोड भ्रष्टाचारको आरोप लागेको हो । अहिले उनै व्यक्ति कृषि मन्त्रालय चलाउने हर्ताकर्ता भएका छन् । नाताले उनी मन्त्रीका भाइ हुन् ।

उता, १० महिनादेखि मन्त्रीविहीन उद्योग मन्त्रालयको मनोमानी डरलाग्दो छ । भर्खरै सचिव अर्जुन पोखरेलले ठाडो आदेशमा शाखा अधिकृत लीला काफ्लेलाई उद्योग विभागको विदेशी लगानी शाखामा सरुवा गरेका छन् । त्यहाँको प्रमुख काठमाडौंका रैथाने सुरेश श्रेष्ठ छन् ।

सोझा सुरेशबाट सचिवका स्वार्थ पूरा नहुने भएपछि बाठा लीलालाई त्यहाँ पठाइएको चर्चा छ । उनीसँगै गएका नासु यादव खड्का विभिन्न फाइलमा आर्थिक मोलमोलाई गर्न सक्रिय भएको चर्चा छ । सरकारी विभाग भए पनि त्यहाँको वातावरण पूरै नेपाली कांग्रेसको पार्टी कार्यालयझैँ छ ।

किनभने, लीलादेखि महानिर्देशक रामचन्द्र तिवारीसम्म खास कांग्रेस हुन् । कार्यालयमा बसेर सरकारी काम हैन, प्रमपत्नी आरजु देउवाको आदेश तामेली मात्रै हुन्छ । त्यहाँ हुने मुख्य काम हो, सुपारी र केराउका सेटिङ । उक्त कामका लागि बिचौलियाको भूमिकामा रहने व्यक्ति हुन्, रामचन्द्र भट्ट । सुदूरपश्चिमे टिसिएनका पूर्वमहाप्रबन्धक । उनको काम भनेकै सुपारी, केराउका तस्करसँग साँठगाँठ गर्ने र कर्मचारीको सरुवा–बढुवामा हावी हुने हो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा त्यस्तै भद्रगोल छ । रजिष्ट्रार थिए, प्रदीपराज अधिकारी । बिहानैदेखि अफिस गएर सेवाग्राही अनुकूलका काम गर्ने मेहनती स्वभावका सहसचिव अधिकारीबाट ‘काम’ चलेन भनेर उनलाई त्यहाँबाट हटाई उपसचिव तुलसीराम गैरेलाई निमित्त दिएर पठाइएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा सरुवा भएका उनको चिठी सचिव पोखरेलले आफ्नो टेबुलबाटै गायव पारी कम्पनी रजिष्ट्रारको निमित्त प्रमुख बनाएर पठाएका हुन् । तुलसीराम उनै व्यक्ति हुन्, जो १२ वर्षदेखि ओल्लो घरबाट पल्लो घरमा सरुवा खाँदै बसेका छन् । उद्योग विभाग र कम्पनी रजिष्ट्रारको कार्यालय ओल्लो घर र पल्लो घरमा छ ।

केही समय उद्योगमा बस्दै त्यहाँ तलमाथि हुनासाथ कम्पनी रजिष्ट्रार गइहाल्छन् । यसप्रकार अहिले फेरि सिन्धुपाल्चोकमा भएको सरुवाको चिठी सचिवबाटै लुकाउन लगाएर कम्पनीमा पुगेका हुन् । त्यहाँ बसेर उनले गर्ने आम्दानीमध्ये प्रमुख हो, १ करोडको शेयर लागत निकालेको शुल्क २ लाख । १ करोडभन्दा बढीको शेयर लागत निकाल्दा १ प्रतिशतका दरले गोजीमा । जबकि शेयर लागत निकाल्नका लागि सरकारले सेवाग्राहीसँग कुनै शुल्क लिन पाउँदैन ।

टिप्पणीहरू