गंगोत्री नै सुध्रिएपछि गंगा सफा भैहाल्छ नि ! « janaaasthanews
१८ मंसिर २०७७, बिहीबार

गंगोत्री नै सुध्रिएपछि गंगा सफा भैहाल्छ नि !



नियात्रा लेखनका प्रतीक ढकालको प्रशासनिक नाम खडानन्द हो, जो नेपाल सरकारको सहसचिवबाट अवकाश पाएका हुन् । उनी कविता, गीत र कथा लेखनका पनि सिद्धहस्त हुन् । कुनै बेला राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा भाग लिएर प्रथम पुरस्कार पाएका उनी राम्रा उद्घोषक पनि मानिन्छन् । जागिरको बढी समय पर्यटन र गृहमा बिताएका उनले पर्यटनमा रहँदा पहिलो भ्रमण वर्ष १९९८ को तयारीका अनुभव हासिल गरे । नेपालका थुप्रै हिमाली शृंखलामा सम्पर्क अधिकृतका रूपमा जाने मौका पाउँदा उनले भत्ता मात्र खाएनन्, त्यो अवसरलाई नियात्रामा उतार्ने काम पनि गरे । त्यसमध्ये उनको ‘सेती पनि, काली पनि’ बढी पढिएको नियात्रा संग्रह थियो । ०५१ मा आपूर्तिमन्त्री सिपी मैनालीदेखि गृहमा वामदेव गौतम, भीम रावलहरूको सचिवालय चलाए । केही समय तनहुँको सिडिओ र त्रिअवि अध्यागमन कार्यालयको प्रमुखका रूपमा पनि काम गरे ।

० गोकुल बाँस्कोटाले कर्मचारीप्रति लक्ष्य गरेर बोल्नुभएको भाषामा आपत्ति जनाइएको छ । यसलाई कसरी लिनुहुन्छ ?

– एउटा फिल्डमा भएको मान्छेले अर्काे फिल्डमा भएको मान्छेको अस्तित्व स्विकार्न नसक्नु । जस्तो उहाँहरू राजनीतिक फिल्डबाट आउनुभयो । उहाँहरूलाई राजनीति नै सबैभन्दा ठूलो चिज होजस्तो लाग्ने । राजनीति छ र देश छजस्तो लाग्ने । तपाईं पत्रकारिता फिल्डमा हुनुहुन्छ । पत्रकारिता छ र देशको सबै सूचना आइरहेको छ, हामीले धानेका छौं भन्ने लाग्ने । एउटा ड्राइभरलाई लाग्दो हो मैले गाडी चलाएको छु र देश जीवित छ । त्यस्तै ब्युरोक्रेट्सलाई लाग्छ स्थायी सरकार छ र मैले देश धानिरहेको छु । यी मन्त्री त आउँछन्–जान्छन् । हामीले एकअर्काेको अस्तित्व स्विकार्न नसकेको अवस्था हो यो । सामान्य अवस्थामा अस्तित्व स्विकारिन्छ जब स्वार्थ मिसिन्छ तब अस्तित्व माइनस गर्न खोज्छ । तर, खास मर्मचाहिँँ यी सबै छन् र देश छ । समाजमा हामी विविधथरीका मान्छे छौं र समाज जीवित छ । विविधतालाई स्विकार्न नसकेकै कारण एकतन्त्रीय शासनलाई फालेर हामी विविधता व्यवस्थापन गर्ने समाजमा आइपुगेका हौं । त्यो उचाइमा पुगेका व्यक्तिले पनि समाजको मर्मलाई बुझ्न नसकेको देखियो । आनीबानीका कारणले पनि हुन सक्छ ।

० अक्सर कर्मचारी मन नपराउने मन्त्रीहरू कुन नियतका वा कुन कार्यशैलीका हुन्छन् ?

राजनीतिमा प्रवेशदेखि नै हेर्नुस्, तलदेखि नै अपवादलाई छाडेर सज्जनहरूले जित्दैनन् । मनी र मसल्सको प्रयोग भएको हुन्छ । सबैलाई भन्न मिल्दैन धेरैजसो मान्छे डाङडुंग्रे प्रवृत्तिबाट आएका हुन्छन् । मन्त्रालयमा आइसकेपछि पनि डाङडुङ गर्न खोज्छन् । तर, कर्मचारी लोकसेवा भिडेर आएका हुन्छन् । कानुनको मर्म बुझेका हुन्छन् । उल्लंघन भएको खण्डमा के हुन्छ ? बुझेका हुन्छन् । मेरो आफन्तलाई जागिर लगाइदे भन्छ, कर्मचारीले सक्दैन । लोकसेवा भिडेर आउनुप¥यो । यो बिलको भुक्तानी अहिले दे भन्छन् । सार्वजनिक खरिद ऐनमा के व्यवस्था छ ? त्यो व्यवस्थाले दिन मिल्छ कि मिल्दैन ? कर्मचारीले यी चिज हेर्छ । सबै राजनीतिक वृत्तका मान्छेलाई के लाग्छ भने कर्मचारीले मलाई सहयोग गरेनन् । अर्काे कित्ताको रहेछ भने त लखेटिहाल्छ, आफ्नै कित्ताको रहेछ भने बिग्रियो सहयोग गरेन भन्छ । स्थायी सरकारको निश्चित नम्स र भ्यालुज (मूल्य–मान्यता) हुन्छन्, त्यो नाघ्न सक्दैन । राजनीतिबाट आएको मान्छे ह्विमबाट आएको हुन्छ । त्यसैले इक्यू र आइक्यू भन्छन नि ! इन्टेलेक्च्युअल क्वेष्टबाट कर्मचारी आएको हुन्छ, ‘इमोसनल क्वोष्टड’बाट राजनीति गर्नेहरू आएका हुन्छन् । राम्रो मान्छेले ऐन कानुन मिचेर पनि देश बनाएको उदाहरण छन् । जस्तो ली क्वान यू, मोहम्मद मोहथिरको कुरा गर्नुस् । उनीहरूले संसद्लाई प्रभावित पारेर ऐन बनाउन सक्छन् । कर्मचारीलाई त्यस्तो ऐन दिनुप¥यो । तब न बाटो खुल्छ । कर्मचारी केही अल्छी, कामचोर होलान् । यस्तै अर्केतिर अख्तियारको डरले घर गरेको हुन सक्छ । धेरैजसो नियम मिच्न नखोजेरै यस्तो हुन्छ ।

० कर्मचारी पनि विभिन्न किसिमका गुटबन्दी गर्ने, मन्त्रीहरूलाई असफल बनाउने काममा निकै लाग्छन् । किन यस्तो हुन्छ ?

उहाँहरूले नै सिकाएर । दलैपिच्छेको युनियन किन चाहिएको ? पार्टीपिच्छेको भ्रातृसंगठन कर्मचारीतन्त्रमा आएर खुल्ने हो ? स्थायी सरकारलाई भाँड्ने काम त उहाँहरूले नै गर्नुभयो । सत्तासीन पार्टीले भनोस्, हाम्रो विचारलाई समर्थन गर्ने कर्मचारी युनियन अब हामीलाई चाहिँदैन । उसले आफ्नो खारेज ग¥यो भने अरूलाई गर्न सक्छ । अर्थात् नन अफिसरहरू मात्र रहन सक्छन् र तिनले पेशागत हकहितको मात्र कुरा गर्नुप¥यो । यिनीहरूको काम सरुवाको सूची लिएर हिँड्ने हो त ? कर्मचारी कस्तो भन्ने मूल्यांकन त त्यो हाकिमले गर्न पाउनुप¥यो नि ! तर संगठनको सुब्बा सचिव हुन मन छ कि छैन भनेर सहसचिवहरूलाई थर्काएर हिँडेको हुन्छ । यो बिगारेको राजनीतिले नै हो । आफू सत्तामा हुँदा आफू निकटको संगठनलाई छाडा छाडिदिने । सत्तामा सधैं एउटै रहिरहँदैन । यो त परिवर्तनशील हुन्छ । अनि अर्काे सत्तामा आएपछि अर्काे छाडा हुन्छ । अनि बदला लिने एकले अर्काेलाई । संगठनको काम तलब वृद्धि, सेवा–सुविधा वृद्धिको कुरा गर्ने कि कर्मचारीको सरुवाको सूची बोकेर हिँड्ने ? मन्त्रीको काम नीति–नियम बनाउने कि कर्मचारी सरुवा गर्दै हिँड्ने ? हामी सबै आफ्नो ठाउँमा बस्न जरुरी छ ।

२५ जनाले भाँडा चलाउन थाले त्यो भातको गुणस्तर के होला ? १० जनाले गएर नुन हालिदियो रे ! त्यो तरकारी खाइसाध्य हुन्छ ? नेपालको प्रशासनमा भएको त्यही हो ।

० आधिकारिक ट्रेड युनियनबाहेक अरू संगठन चाहिँदैनन् ?

आवश्यक छैन । भाँड्नका लागि मात्र हो यति धेरै कर्मचारी संगठन । जस्तो पिकनिक गइएको छ, एउटा भाँडामा भात बसालिएको छ । २५ जनाले भाँडा चलाउन थाले त्यो भातको गुणस्तर के होला ? १० जनाले गएर नुन हालिदियो रे ! त्यो तरकारी खाइसाध्य हुन्छ ? नेपालको प्रशासनमा भएको त्यही हो । राज्यको इच्छाशक्ति भएको खण्डमा यस्ता संगठन खारेज गर्नु कुनै ठूलो कुरा होइन । निजामती क्षेत्रमा राजनीतिक विचारधाराबाट प्रेरित कर्मचारी संगठनलाई आजैको मितिदेखि खारेज/प्रतिबन्ध लगाइएको छ भनेर राज्यले बोल्यो भने सकिएन ? गंगोत्री नै सुध्रिएपछि गंगा सफा भइहाल्छन् । त्यसैले मुख्य राजनीति नै सुध्रनुपर्छ ।

० तपाईंले मन्त्रीहरूको सचिवालयमा रहेर काम गर्दाका अनुभव के छन् ?

०५१ मा सिपी मैनाली स्थानीय विकासमन्त्री हुँदा, ०६४ मा वामदेव गौतम उपप्रधान र गृहमन्त्री हुँदा दुवै पटक सचिवालय प्रमुख भएर काम गरेँ । भीम रावल गृहमन्त्री हुँदा सचिवालयमा काम गरेँ । सबैभन्दा बढी भीड हुने ठाउँ नै यी दुई मन्त्रालय हुन् । त्यहाँ के देखिन्थ्यो भने, राजनीतिक दलका कार्यकर्ता अराजक भएर आउने, यो नियमले मिल्दैन भनेर सम्झाउन खोज्यो, ‘नियमले नमिले पनि मिलाउनुपर्छ नत्र हाम्रो सरकार भएको के काम’ भन्दै पाखुरा सुर्किने । दलनिकट कर्मचारी पेलपाल प्रवृत्तिको हुने । दलनिकट रहेनछ भने अलि पर–पर हुने । मसँग राजनीतिक दलका असल मान्छेहरूसँग राम्रो सम्पर्क रह्यो । गड्याङगुडुङ गर्नेहरूसँग चाहिँ दबिनँ । म पनि उनीहरूजस्तै थिएँँ । मलाई हेप्न सकिँदैन भनेर केही मान्छे रिसाउँथे । गृहमा त्यत्रो प्रहरीको सरुवा हुने ठाउँमा बसेर एक सुको कसैसँग लिएको केस निस्किएन । म तनहुँको सिडिओ हुँदा कांग्रेसले चुनाव हा¥यो त्यसको बदला लिन रातो पासपोर्ट काण्डमा फसाउन खोजे । आफू फेयर भएर बस्यो भने कोहीसँग डराउनु पर्दैन ।

० अवकाश भएको दुई वर्ष नाघ्यो । हिजो पदमा हुँदा तपाईंले गुन लगाएका मान्छेले अहिले कत्तिको खोज्छन्÷सम्झन्छन् ?

खोजेको सोधेको अनुभव छैन । त्यसरी सोधखोज गरेको भए नेम इस्टिच्युटमा लोकसेवा पढाउन आउन पनि पर्दैनथ्यो होला । ऐन कानुन, प्रशासन, पर्यटनमा विज्ञता राख्छु । तर, नेपाल पर्यटन बोर्डको सिइओको विज्ञापन यसरी खुल्यो कि मैले दरखास्त हाल्न नपाउने गरेर । सिइओ भएर मुलुकलाई धेरै देन दिन सक्थें । पर्यटनमन्त्री योगेश भट्टराई नजिकका साथीभाइ पनि हुन् । कुरा पनि राखेको थिएँ । विज्ञापन यसरी खुल्यो कि, मैले आवेद न नै दिन नमिल्ने गरी । यो मुलुकमा हिमालसँग सम्बन्धित ९ वटा पुस्तक लेख्ने व्यक्ति मै हुँ । कुनै दिन संघीय पर्यटन ऐन पास होला, त्यसको मस्यौदाकार पनि मै हुँ ।

० कर्मचारीलाई जागिरभरि काम लगाउने र जागिर सकिएपछि वास्ता नगर्ने परिपाटीले देश बन्छ त ?

उहाँहरूलाई मात्रै होइन, मुलुकलाई नै नोक्सान हुन्छ । ऐन कानुनको क्षेत्रमा मस्यौदा लेख्ने धेरै हुनुहुन्छ तर पर्यटनको क्षेत्रमा मैले जुन निजी क्षेत्र, सरकार, बोर्डलाई बुझेको छु, त्यो ठाउँमा बसेर मैले ठूलो योगदान दिन सक्छु । मैले योगेशलाई भनेँ, ‘पाँच सय पर्यटक पनि नआउने देशमा मलाई जिम्मेवारी देऊ २० हजार पर्यटक पु¥याउन सकिनँ भने सबै पैसा फिर्ता गर्न तयार छु ।’ मलाई थाहा छ नेपालको मार्केटिङ कसरी गर्नुपर्छ । नाम्चे नपुगेको, पाँच वटा हिमालको नाम भन्न नसक्ने मान्छे कोटामा राजदूत बनेको छ । त्यसले कहिले नेपालको मार्केटिङ गर्छ र भ्रमण वर्ष सफल हुन्छ ?

० अहिले सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाइरहेको छ । तपाईं पहिलो भ्रमण वर्ष १९९८ को सचिवालयमा काम गरेको व्यक्ति । अहिलेको भ्रमण वर्षको प्रचार, तयारीका कुरामै त्रुटि भएको भनिन्छ । कसरी हेर्नुभएको छ ?

टुरिष्ट आफैं आइदिए सफल हुने हो । आऊ भन्ने मेकानिजम छैन । पहिलो काम राजदूतको । नेपाल चिन्ने राजदूत कति छन् ? ३५ जति राजदूत छन् त्यसमध्ये करिअर पाथ (परराष्ट्र सेवा)बाट गएको रहेछ भने उसको ध्यानै कोर्ट फ्ल्यापभित्र प¥यो कि बाहिर प¥यो, टाईको गाँठो मिल्यो कि मिलेन ? जुत्ता टल्कियो कि टल्किएन ? टाइको गाँठो बांगो भएको डोनाल्ट ट्रम्प अमेरिकाको राष्ट्र«पति भइरहेको छ त । त्यसको टाईको गाँठो मिलेर यो देशमा टुरिस्ट आउने हो ? भागबन्डाबाट राजदूत बनेको रहेछ भने ऊ त्यही पार्टीप्रति बफादार हुन्छ । कसको भजन गाउनुुपर्ने हो, भजन गाउँछ निन्दा गर्नुपर्ने को निन्दा गर्छ । यी दुवै क्षेत्रबाट गएका राजदूतले काम गरेका छैनन् । व्यवसायीलाई धन्यावाद छ उनीहरूले नै आफ्नो रोजीरोटीका लागि पर्यटक बोलाएका छन र आउँदै छन् । शोक मनाएको समयमा पर्यटनमन्त्री अस्ट्रेलिया जानुभयो । देशको शिर निहुरिने कुरा होइन त्यो ? चीनलाई सरकारले एक लाख भए पनि मास्क दियो । सद्भाव देखाउनुपर्ने बेला हाम्रा मन्त्री विदेश भ्रमण जान्छन् । सधँै थुनिएर बसेका मान्छे विदेश भ्रमण भनेपछि दाम्लो चुँडालेर दगुरिहाल्छन् ।

करिअर पाथ (परराष्ट्र सेवा) बाट गएको रहेछ भने उसको ध्यानै टाईको गाँठो मिल्यो कि मिलेन ? जुत्ता टल्कियो कि टल्किएन ? भन्नेमा हुन्छ । भागबन्डाबाट राजदूत बनेको रहेछ भने ऊ त्यही पार्टीप्रति बफादार हुन्छ ।

० तपाईं जागिरसँगै नियात्रा लेखनमा पनि सक्रिय हुनुभयो । कसरी सम्भव भयो ?

निजामती सेवामा पस्नुअघि राष्ट्रिय वाणिज्य बैंकमा थिएँ । आन्तरिक लेखा परीक्षण हेर्थें । दुर्गम जिल्लाका शाखा, जहाँ प्लेन उड्थे, त्यहाँ हाकिम जान्थे । गाडीमा जानुपर्ने ठाउँमा मलाई पठाउँथे । २५ जिल्ला घुम्ने मौका पाएँ । त्यही समयमा किन ७५ जिल्ला नपुग्ने भन्ने लाग्यो । निजामतीमा पसेपछि सरकारकै कामको सिलसिलामा धेरै जिल्लामा पुगेँँ । नपुगेका जिल्लामा बिदा थपेर घुमिहाल्ने । अहिलेसम्म हुम्लाबाहेक सबै जिल्ला घुमिसकेँ । फेरि म एक/दुई दिन मात्र बस्ने गरी जान्नँ । कम्तीमा १५ दिनको बिदा मिलाएर जिल्ला पुग्छु । त्यहाँको दुर्गम गाउँमा गएर बस्छु । कथा खोज्छु अनि फर्केर आएर कृति लेख्छु तब न प्रतीक ढकालको किताब बिक्छ । सेती पनि काली पनि सुदूरका ९ जिल्ला समेट्यो । त्योभन्दा लोकप्रिय हिमालपारि पुगेपछि । त्यसको सातौं संस्करण प्रकाशन भइसकेको छ । अंग्रेजी संस्करणमा समेत प्रकाशन भएको यो कृति अमेरिकाको आई युनिभर्सले छापेको छ । सगरमाथाको आधारशिविरलाई नेपाल सरकारले हिमालको सन्दर्भमा लेखिएको आधिकारिक पुस्तक भनिएको छ । पाँचौं संस्करण आइसक्यो । पाइतालाका छापहरू, चीनको बिचित्र चित्र, आनन्दभूमिको आँगनलगायत कुनै पनि पुस्तक पहिलो संस्करणमा रोकिएको छैन ।

० नेपालको कर्मचारीतन्त्रका मुख्य–मुख्य विसंगति बताइदिनुस् न ।

कामचोर कर्मचारी, हाजिर भएबापत तलब आयो कसरी गैरकानुनी फाइदा हुन्छ भन्ने ध्येय भएका कर्मचारी । कर्मचारी तीनथरीका छन्– गरिखाने, बसिखाने, बिगारिखाने कर्मचारी छन् । मुसलमान कल्चरबाट हेर्नुभयो भने, गुलाम अलि खाँहरू छन्, जो दास मात्र हुन् अर्काथरी छन् लियाकत अलि खाँ क्षमताले खान्छन् र ब्रकत अलि खाँहरू छन् जो आफ्नो क्षमताले अडिएका छन् । त्यही कारण गरिखानेलाई सरकारले चिन्नुप¥यो तर यस्ता कर्मचारीलाई टिक्न गाह्रो छ । सरकारले क्षमतावान कर्मचारी चिन्न सक्नुप¥यो कामै नलाग्ने सचिवहरू पनि देख्न सकिन्छ, एकदमै मेघावी सुब्बा पनि छन् । ३५ वर्षीया वृद्ध पनि देख्न सकिन्छ, ८० वर्षीया युवा पनि भेटिन्छ । ६९ वर्षीया जवान प्रधानमन्त्री पनि देखिरहनुभएको छ ।

० निजामती सेवालाई कसरी सुधार्न सकिन्छ ?

प्रस्ट कार्यसम्पादन करार गराउने । इण्डिकेटरका आधारमा मूल्यांकन गर्ने । जसरी बजेट यति प्रतिशत, यति प्रतिशत खर्च भयो, उति प्रतिशत खर्च भयो भनिन्छ । ठ्याक्कै काम गर्ने अधिकार दिने । दण्ड सजायँलाई कठोर बनाउने । नेपाल धेरै पछि परेको मृत्युदण्डरहित देश भएर पनि हो । कामको मूल्यांकन गर्ने । ३६० डिग्रीको मूल्यांकन गर्ने ।

० तपार्इं केही हिमालको सम्पर्क अधिकृत भनेर खटिनु मात्र भएन त्यही अनुभवलाई समेटेर पुस्तक नै लेख्नुभयो । तर, अहिले पछिल्लो चरणमा सम्पर्क अधिकृत भनेर खटिने तर खटाइएको ठाउँमा नजाने भत्ता मात्र खाने प्रवृत्ति बढ्दो छ । टे«ड युनियकै नेतासमेत मुछिएका छन् ।

म पर्वतारोहण शाखाको प्रमुख हुँदा दुई जनाको पैसा खोसेर फिर्ता गराएको थिएँ । सबैभन्दा ठूलो कुरा जो खटाइएको ठाउँमा गएन त्यो मुलुकमारा त भयो नै ! अभागी पनि त्यही हो । त्यही हिमाल हेर्न लाखौं खर्चेर एउटा विदेशी आएको छ । उनीहरूले ज्वाइँजस्तो सुविधा दिएर छुट्टै पाल, लुगा, भत्ता भरिया दिएर तपाईं हामीसँग हिँडिदिनुहोस् र तपाईंकै देश हेरेर आउनुहोस् न भन्दा पनि जाँदैन भने त्योजति अभागी को होला ? संसारको सबैभन्दा सुन्दर देश हेर्ने अर्काेले प्रायोजन गर्दासमेत जाँदैन भने त्यो अभागी हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अब सबै नेताले राजीनामा दिए हुन्छः जीवनराम श्रेष्ठ 
राष्ट्रवाद भन्ने कुरा नक्कली रहेछ
हाम्रा नेताहरु चुल्ठेमुन्द्रे जन्माउन खोज्दैछन्
यी दलको आयु अब लामो छैन