राजनीतिक पूर्वाग्रहको निर्मम शिकार भएँ

राजनीतिक पूर्वाग्रहको निर्मम शिकार भएँ

रुद्र नेपाल, पूर्वअध्यक्ष प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन

केपी ओलीको खेदाइमा परेका कानुन व्यवसायी हुन् रुद्र नेपाल । उनकी श्रीमती बाग्मती प्रदेश सांसद हुँदै एकीकृत समाजवादीतिर खुलेकै कारण रुद्रमाथि अन्याय गरिएको चर्चा छ । आफूमाथि भएका सबै अन्यायलाई उनी नियतिको खेल भन्छन् । गत शनिबार मात्र पीपीएलका पूर्वकोषाध्यक्ष डेकेन्द्र सुवेदीको अध्यक्षतामा एकीकृत कानुन व्यवसायी संगठन निर्माण भएकै दिन रुद्रले सामाजिक सञ्जालमा विरह पोखे ‘नियतिले आजदेखि व्यावसायिक संगठित जीवनबाट समेत अलग गरायो ।’ एमाले र माओवादी एक भएर नेकपा बन्दा नेपाल लयर्स एशोसिएसन (एनएलए)को नेतृत्व गरेका रुद्र नेताहरू विभाजित भए पनि विभाजनका कारण बुझेका कानुन व्यवसायी यताउता हुन नहुने पक्षमा थिए । त्यही कारण आफू अहिले कुनै संगठनमा आबद्ध नभएको तर्क गर्छन् ।

– हरि गजुरेल

‘मन मिलुन्जेल मेला, मन टुटेपछि झमेला’ को श्रृंखला बढ्दै छन् । नायक पल शाह र समीक्षा अधिकारीको प्रकरणलाई कसरी लिनुभएको छ ?

– तथ्य, वस्तुनिष्ठ र वैज्ञानिक प्रमाण छन् भने त्यस्ता दोषीलाई कारबाही गर्नुपर्छ । सामान्य अवस्थामा कतिपय घटना नहुँदा नहुँदै पनि प्रतिशोध र कसैलाई ड्यामेज गर्ने आधारमा पनि यस्ता उजुर पर्ने गरेका छन् । पल शाह प्रकरण सत्य घटना हो वा होइन ? अरु प्रमाणले पुष्टि नगरी कसैले भनेकै भरमा मात्र यसलाई विश्वास गर्नुपर्ने अवस्था छैन । घटना घटेकै हो भने कसैलाई बचाउनु हुँदैन ।

सहमतिमा वर्ष दिनसम्म सम्बन्ध स्वीकार हुने केही कुरा नमिल्नासाथ बलात्कारको मुद्दा दर्ज हुनुलाई कसरी लिने ? के बलात्कारको कानुन महिलामैत्री छ भन्ने हो ? यसमा कानुनको खोट छ वा मान्छे र समाजको मनोविज्ञान बिग्रिएको हो ?

– कुनै जाहेरी परेपछि अनुसन्धानमा कमी गरँे भने समाजले राम्रो मान्दैन भनेर नभए÷नगरेका तथ्यलाई थपथाप पार्ने गरिन्छ । श्रीमान्हरूमा पनि बलात्कारको घटना पूर्ण पुष्टि नहुँदा यस्ता केसलाई छाड्यौं भने पैसा खाएर छाडेको दोष सुन्नुपर्ने डरले पुर्पक्षमा जेल पठाउने बानी छ ।
हिजोको समाजमा यस्ता घटना बढी भएका कारण कठोर कानुन आएको हो ।

बलात्कारको कानुन सुधार वा संशोधन गर्नुपर्ने अवस्था हो कि होइन ?

– समयसापेक्ष ढंगले अगाडि बढ्ने क्रममा सबैलाई समान ढंगले हेर्नुपर्छ ।

अहिले त प्रगतिशील कानुन व्यवसायी नै विभक्त भएको अवस्था छ । बारको निर्वाचनमा अबको सिनेरियो कस्तो देख्दै हुनुहुन्छ ?

– राजनीतिक रूपमा विभाजन गरेर आफ्नो राजनीतिक स्वार्थ अनुरूपको नभई सिंगै समाजको भावना प्रतिनिधित्व गर्नेगरी, अन्तर्राष्ट्रिय स्ट्याण्डर्डअनुसार अघि बढ्न सक्नुपर्छ । न्याय क्षेत्रको नेतृत्व गर्ने गरी बार अगाडि बढ्नुपर्छ भन्ने व्यावसायिक चरित्रका कानुन व्यवसायी पनि छन् ।

यहीँभित्र कतिपय विकृति, विसंगतिका बाहक, स्रोत वा प्रतिनिधि त झनै छँदै छन् । उनीहरूले पनि बारलाई विभाजित, विखण्डित गर्ने प्रयास गरिरहेका छन् । अहिले नेपाल बार यिनै दुई समूहको कोपभाजनमा परिरहेको छ । विगतमा डिलए, पिपिएलए हाराहारीको प्रतिस्पर्धामा थिए । अहिले निष्पक्ष रूपमा रहेका ४ सय हाराहारीको मत निर्णायक हुने देखिन्छ ।

बारको सदस्यता वितरणका विकृतिको निवारण कसरी होला ?

– बारमा एकदमै चाँडै ठूलो मान्छे हुन खोज्ने, धेरै कमाउन खोज्ने तर बारका तर्फबाट सकारात्मक भूमिका खेल्न नखोज्ने, कानुन व्यवसायीको मूल्य र मान्यताभन्दा विपरीत ढंगबाट चल्ने प्रवृत्ति हाबी भएको कारण, अदालतभित्र देखिएका विकृति, विसंगतिका कारक समेत कानुन व्यवसायी भएका कारण समस्या देखिएका हुन् । यसको समाधानका लागि सिंगो न्यायक्षेत्र करेक्सन हुनु जरुरी छ ।

सर्वाेच्च अदालतमा बाँकी आधा विवादको निकास कसरी हुन्छ ?

– न्यायालयभित्रको भ्रष्टाचार कानुन व्यवसायीको मात्र नभई आम जनताको समस्या हो । न्यायका उपभोक्ताले न्याय अनुभूत गर्न सकिरहेका छैनन् । न्याय हक पाउन नसकेका कारण निराशाजनक स्थिति छ यस क्षेत्रमा । यो निराशालाई चिर्न प्रत्येक कानुन व्यवसायी, कानुनकर्मी, न्यायमूर्तिदेखि कर्मचारीसम्मले स्वधर्ममा रहेर सामूहिक आवश्यकतालाई पूरा गर्न दृढतापूर्वक लाग्न आवश्यक छ । भ्रष्टाचार, विकृति, विसंगतिलाई हटाउने र सेटिङ गर्नेलाई निर्मूल पार्नुपर्ने छ ।

समाजवादी कानुन व्यवसायीले अर्काे संगठन बनाइसकेका छन् । त्यो संगठनमा बस्न यहाँले रुचि नगर्नुभएको हो वा समावेश नै नगरिएको ?

– हिजो नेकपासँग नजिक रहेको एनएलए संगठनको अध्यक्ष, त्यसअघि तत्कालीन एमाले नजिक रहेको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्ष रहेर काम गरेँ । यी दुबै संगठनको काम गरिरहँदा पार्टीगत कुनै पद धारण गरेको थिइनँ । बुझेका कानुन व्यवसायी कम्तीमा त्यो भुमरीमा नपरौँ भन्ने आग्रह थियो मेरो । हामी जे भए पनि कानुन व्यवसायी नै हौँ ।

व्यावसायिक धर्मभित्र रहेर काम गर्दा चाहे पार्टी फुट्दा होस् वा जुट्दा संगठनमा त्यसको प्रभाव नपारौं भनेँ कतिपय साथीले राजनीतिक पार्टी बेगरको मान्छे हुन सक्दैन भन्नुभयो । मेरो मूल मान्यताविपरीत संगठन बनेको हुँदा म कतै गइनँ । अहिले आफू स्वतन्त्र, विशुद्ध पेशाकर्मीको रूपमा आबद्ध हुने योजना छ ।

अब सक्रिय जीवन कसरी बित्छ ?

– व्यावसायिक रूपले सक्रिय हुने विचारमा छु । यसो गर्दा कसैको कृपा, निर्देशन वा खटनमा चल्नुपरेन । अहिलेसम्मको व्यावसायिक राजनीतिक जीवनमा जुन मूल्य, मान्यता र विधि, प्रक्रियालाई अवलम्बन गर्दै आएको थिएँ त्योभन्दा पृथक् ढंगको व्यवहारको शिकार म आफैं हुनुपरेको, मसँग सम्बन्धित संगठन, मेरो राजनीतिक जीवन पनि पेलाइमा परेपछि सबै चिजलाई त्यागको लेभलबाट कसैलाई दोष नदिई, आफ्नो नियतिको रूपमा जोडेर अब विशुद्ध व्यावसायिक जीवनमा मात्र केन्द्रित रहन्छु भन्ने सोच बनाएको छु ।

तपाई पिपिएलएलको अध्यक्ष हुँदा श्रीमती (प्रदेशसभा सदस्य) समाजवादीतिर खुल्नुभयो । एमालेले तपाईंलाई भूमिकाविहीन बनाएर राख्नुपर्ने कारण यो मात्र हो वा अरु पनि केही थियो ?

– म एउटा निश्चित मूल्यमान्यतामा लड्छु । त्यसभन्दा बाहिर कुनै पनि शक्ति, व्यक्तिको आदेश वा निर्देशनमा जान सक्दिनँ । म स्वाभिमानी र इमान्दार मान्छे । त्यो स्थितिमा जो बाधक बन्यो । उसलाई छाड्दै जाँदा आज मेरो यो नियति आइपरेको हो । परिवारको सदस्यलाई कुनै प्रेसर वा आग्रह गर्दिनँ । कतै जान वा नजान रोकतोक पनि गर्दिनँ ।

परिवारका सदस्य बेरोकतोक विभिन्न पार्टीसँग सम्बन्धित छन् । तर, कसैले त्यही कुरालाई जोडेर बुझ्छ भन्ने तिनैको त्रुटि हो । म त्योसँग प्रभावित छैन । स्वतन्त्रता मान्छेको सबैभन्दा ठूलो शक्ति हो । स्वतन्त्रता प्रयोग गर्न नपाउने मान्छे जतिसुकै धनी, बलियो भए पनि आत्मसम्मानसाथ बाँच्न सक्दैन ।

जीवनको एउटा कालखण्ड एमालेकै लागि रगत, पसिना बगाउनुभएको व्यक्ति । आज यस्तो स्थितिमा पारिँदा कत्तिको चित्त दुख्दोरहेछ ?

– ०३३ सालदेखि पार्टी सम्पर्कमा रहेर काम गरेको मान्छे । राजनीतिमा आज मैले जे भोग्नुपरेको छ यस्तो होला भनेर कहिल्यै ठानेको थिइनँ । नजानी नजानी कामबाटै सिक्दै अगाडि बढ्दै आएँ । जनतामा आधारित कम्युनिष्ट पार्टीमा मैले बुझेजस्तो व्यक्ति संगठनको अधीनस्थ, तल्लो संगठन माथिल्लो संगठनको अधीनस्थ, सामूहिक निर्णय, आत्मलोचना र आलोचनालाई आफूभित्रको विकार हटाउने पद्धतिको रूपमा मान्ने, घर परिवार, श्रीसम्पत्तिभन्दा बढ्ता नेता र पार्टी भनेर अगाडि बढेको मान्छे ।

अहिले कुनै मान्छेको सनक, प्रतिशोधका भरमा आफूलाई जे मन लाग्यो त्यही गर्दै जाने जुन संस्कार बसाउन खोजियो त्योभित्र म पर्न वा अटाउन सकिनँ । त्योभन्दा पृथक् रूपमा आफूलाई स्वाभिमानी, मूल्य–मान्यतामा आधारित व्यक्तिको रूपमा अगाडि बढाउँदा एक्लै हुनुपरेको छ । अहिले विभाजनका प्रकरण भोलि एकताको श्रृंखलामा जोड्ने दिन मेरो आवश्यकता पर्ला । त्यही दिनको प्रतीक्षामा छु ।

टिप्पणीहरू