ढुक्क हुनोस्, एमसीसी आइसक्यो

ढुक्क हुनोस्, एमसीसी आइसक्यो

एमसीसी पारित भएपछि सबै पार्टीलाई राहत मिलेको छ । जो पास गर्नुपर्छ भन्दै थिए उनीहरूलाई त ठूलै राहत भयो । जो पास गर्नु हुँदैन भनिरहेका थिए, उनीहरूलाई चाहिँ ‘व्याख्यात्मक राहत’ मिलेको छ । अर्थात् राहत त राहतै हो तर अलिकति व्याख्या गर्नुपर्ने राहत । सबैतिर राहतै राहत भएकाले हुनुपर्छ, हाम्रो नेताजीलाई पनि राहत नै भएको छ ।

आफूलाई भेट्न आएका एक स्थानीय टोलवासीलाई राहतपूर्ण मुद्रामा बस्दै उहाँले भन्नुभयो, ‘एमसीसी पास भयो, अब सबै ठीक हुन्छ ।’
‘सबै भन्नाले ?’ टोलवासीले सोधे ।

‘सबै भन्नाले अब सबै नि,’ नेताजीले भन्नुभयो, ‘देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक सबै समस्या ठीक हुन्छ ।’

‘हो र नेताजी ?’ टोलवासी दंग परे, ‘मेरो घरको पछाडि साराले फोहोर फालेर हैरान भइसक्यो ……’

‘अब त्यो पनि ठीक हुन्छ,’ नेताजीले भन्नुभयो, ‘एमसीसी आइसक्यो, अब कसैले फोहोर फाल्न सक्दैन ।’

‘हो र ?!,’ टोलवासीको खुशी दुई गुणा बढ्यो, ‘साँच्चै फाल्दैनन् नेताजी ?’

‘फाल्दै सक्दैन नि ! एमसीसी आइसकेपछि कसरी फाल्छ भन्नुस् त । फाल्न सक्छ ?’ नेताजीले ढाडस दिनुभयो ।

टोलवासीले अर्को जिज्ञासा राखिहाले, ‘नेताजी, एउटा अर्को कुरा पनि सोधिहाल्छु है । केही दिनदेखि घरमा एउटा लफंगा केटोले मेरी छोरीलाई फोन मात्रै गरेर हत्तु पारिसक्यो भन्या, के गर्ने होला, त्यो पनि हल होला ?’

‘अवश्य हुन्छ । अब एमसीसी आइसकेपछि कसैले कसैकी छोरीलाई दुःख दिन कहाँ पाउँछ ? त्यो त सम्भवै छैन । एमसीसी आइसक्यो, अब तपाईंले चिन्तै लिनु पर्दैन । ढुक्क हुनोस् ।’

नेताजीले ढुक्क हुनोस् भनेपछि टोलवासी पनि ढुक्कै भएर फर्के । आखिर एमसीसी आइसक्यो, ढुक्क त हुनै प¥यो ।

टिप्पणीहरू