ससुरालीका लागि अरुलाई सास्ती

सशस्त्र मुख्यालयको सवारी शाखाका एसपी प्रमोद साहले परिचर प्रेमबहादुर बुढालाई घरमै राखी परिवारका लुगा धुने, खाना पकाउने, भाँडा माझ्नेलगायत घरेलु काममा लगाइरहेका छन् ।

प्रमोद भर्खरै अवकाश भएका एक डिआइजीको बलमा दुई वर्षदेखि कमाउ शाखाका रूपमा रहेको सवारी शाखामा बसिरहेका हुन् । सोही शाखाअन्तर्गत इन्धन भर्ने र यसको खटनपटन गर्न जिम्मामा केही वर्षअघि लगातार ३ वर्ष बस्दा सहायक हवल्दार रमेश खड्काले ठिमीमा घर नै जोडेका थिए । प्रमोदले बलम्बुस्थित सशस्त्र क्याम्पमा खाना पकाउनका लागि भर्ती गरिएका प्रेमलाई घरमा लगी काम लगाएका हुन् । हाकिमले प्रेमलाई घरतिर लगेपछि बलम्बुमा खाना पकाउने काममा भने सिपाही र हवल्दारहरू पालैपालो खटिने गरेका छन् । कार्यालयको काममा सरकारी तलब–सुविधा दिई भर्ना गरिएका कर्मचारीलाई घरमा लग्ने र उनका काम अरूमाथि थोपर्ने प्रमोदलाई किन सशस्त्रले कारबाही गर्दैन ?

प्रमोद तिनै हाकिम हुन् जसले यसअघि भ्रष्टाचारजन्य कार्य गरेको अभियोगमा सवारी शाखाबाट हटाइएका हवल्दार रमेश खड्कालाई फेरि त्यही गाडीको पार्टपुर्जा व्यवस्थापन गर्ने जिम्मा दिएका छन् । भाइलाई कनिष्ठ भए पनि सवारी शाखामा ल्याई प्राविधिकको कागजात बनाई मिसन पठाउने, श्रीमतीलाई घरमै बसेर सशस्त्रको तलब खुवाउने र सवारीचालक अनुमति पत्र नभए पनि छ भनी नक्कली कागजात बनाउने रमेश खड्कालाई प्रमोदले सवारीमा भिœयाएका हुन् ।

सवारी शाखामा काम गर्ने, त्यहाँ आफूभन्दा वरिष्ठहरू धेरै भएका र बढुवा हुन कठिन हुने देखेपछि रमेशले कम्प्युटर मल्टिमिडिया डिजाइनर भएको प्रमाणपत्र जुटाएर प्रमोदहरूलाई रिझाई पदोन्नति त खाए । कम्प्युटरको नाममा बढुवा भएपछि उनी उतै दरबन्दीमा खटिनुपर्नेमा सवारी शाखामै थिए । आफ्नो बढुवाका लागि रमेशले प्रमोदहरूको बलमा कम्प्युटरमै काम गर्ने अरू कर्मचारीको बिल्लीबाठ त बनाए नै साथै यता सवारीमै बसी कमाउने धन्दामा लिप्त भएपछि उनीविरुद्ध उजुरी प¥यो । सोही उजुरीका आधारमा उनीमाथि कारबाहीस्वरूप दरबन्दी भएकै कार्यालया पठाइयो । तर, अहिले कम्प्युटरका उनैलाई प्रमोदले सवारीमा भिœयाएका हुन् ।

सवारी शाखाका हर्ताकर्ता प्रमोदले भिआइपीहरूले आकस्मिक काममा गाडी वा चालक मागेमा अभाव भएको देखाउने गरेका छन् । तर, सशस्त्रका चारवटा गाडी दैनिकझैं आफन्त र निकटकाहरूको सेवामा खटाउने गरेका पाइएको छ । गत शनिबार र आइतबार मात्र उनले बा.१ झ ९२४६, बा १ झ ९२४३ र बलम्बुको बा.६ च ३७१४ नम्बरका गाडी कार्यालयको कामबिनै आफन्तको विवाह, भोज र मन्दिर भ्रमणमा लगाएका थिए । उनले सशस्त्रको एउटा मोटरसाइकल पनि लिएर ससुरालीको सेवामा लगाएका छन् । राज्यको सशस्त्र बलको जागिरे भएर पनि प्रमोदका ससुराली खलक र आफन्तका सेवामा जतिबेला पनि खटिन बाध्य हुनुपर्ने तर केही बोल्न नसक्ने चालकमा हवल्दार पदका भीम कसेर, जवान दिनेश आलेमगर सहायक हवल्दार सोमप्रसाद काफ्ले, गंगा खाँ थारू र भीमसेन भण्डारीहरू छन् । राज्यका लगानीका गाडीहरू र जनशक्ति व्यक्तिगत सोखमा मनलाग्दी खर्च गर्ने प्रमोदहरूबाट मिचिएको सीमाको सुरक्षा कसरी होला गृहमन्त्रीज्यू ?

टिप्पणीहरू