सिनेमाको कमेडियनलाई जनताले सत्ता सुम्पेपछि…

सिनेमाको कमेडियनलाई जनताले सत्ता सुम्पेपछि…

अन्तर्राष्ट्रिय राजनीतिका चतुर खेलाडी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पौंठेजोरी खेल्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको यतिबेला निकै चर्चा छ । विगतलाई कोट्याउने हो भने पुटिन जुडोका प्रख्यात खेलाडी हुन् भने युक्रेनी राष्ट्रपति कमेडियन ।

फेब्रुअरी २३ तारिख अगाडिसम्म उनले युक्रेनी जनतालाई हँसाएका थिए । तर २४ तारिख सबेरैदेखि जनता धरधरी रोइरहेका छन् । सयौं मारिएका र घाइते भएका छन् । भौतिक पूर्वाधारहरुमा ठूलो क्षति पुगेको छ । रुस आफ्नो अडानमा टसको मस देखिँदैन ।

रुसी राष्ट्रपति पुटिनले आफ्नो मुलुकको सुरक्षामा युक्रेनले खतरा पैदा गरेको आरोप जेलेन्स्कीमाथि लगाउँदै आएका थिए । तर,पश्चिमा राष्ट्र,अमेरिका र स्वयम् आफ्नै मुलुकका डलर अर्बपति कोलम्बिस्कीको पैसाको लोभमा उनले अस्थिर विदेश नीति अंगाले ।कमेडियन भएकाले उनका कतिपय भनाइलाई सबैले हाँसो ठट्टाको रुपमा लिन्थे । उनले कहिले अमेरिकी सैनिक संगठन नाटोमा र कहिले युरोपियन युनियनको सदस्यता लिने भन्दै रुसलाई चिढाइरहे । सोहीअनुसार अमेरिकासँग सम्बन्ध बढाउँदै गए । भूराजनीतिक संवेदनशीलताको आधारमा युक्रेनमा नाटोका सैनिकहरुको उपस्थितिलाई रुसले सोच्न पनि सक्ने अवस्था थिएन ।

त्यसैले पुटिनले जेलेन्स्कीलाई कमजोर बनाउन एकाएक युक्रेनको दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिए । बाँकी भागमा आक्रमण थाले । रुसी आक्रमणको भोलिपल्ट राजधानी किभको सडकमा देखिएका राष्ट्रपति त्यसपछि देखिएका छैनन् । बरु रुससँग वार्ता गरेर भए पनि समस्या समाधान गर्ने भन्दै वार्ता टोली खटाएका छन् । अर्कोतर्फ आक्रमण भने जारी छ ।

यता कमेडियन राष्ट्रपतिलाई उचालेर अमेरिकाले थचारिदिएको छ । नाटोको सदस्यता नलिएकाले अमेरिकी सेनाको उपस्थिति त्यहाँ यतिखेर सम्भव देखिँदैन । अर्कोतर्फ रुसी सेना हिउँमा लडाईं गर्न माहिर भएकाले युक्रेनी सैनिक र अन्य देश पछि हटेको बताइन्छ ।

“२३ तारिख अगाडिसम्म उनले युक्रेनी जनतालाई हँसाएका थिए । तर २४ तारिख सबेरैदेखि जनता धरधरी रोइरहेका छन् ।”

रुसी सेनाले दोस्रो विश्वयुद्धमा हिटलरलाई समेत हराएको थियो । अन्यत्र विजयी भए पनि जर्मन शासक हिटलरका सेनाले रुसी भूमिमा टेकेपछि उनले पराजय भोगेका थिए । त्यसैले सोही बेलादेखि हिउँमा रुसी सैनिकलाई कसैले जित्न नसक्ने भविश्यवाणी गरिन्छ ।

यता छिमेकीको कुरो गर्ने हो भने अर्को गणराज्य बेलारुसले पनि रुसलाई नै साथ दिएको छ । भूतपूर्व सोभियत संघका १५ वटा गणराज्यमध्ये रुसलाई बेलारुस, कजाकस्तानले प्रत्यक्ष साथ दिएका छन् । कजाकस्तानमा यसअघि भएको विद्रोहलाई रुसले नै दबाइदिएको थियो ।

युक्रेन पूर्व १५ गणराज्यमध्ये भौगोलिक दृष्टिकोणले रुसपछिको ठूलो हो । सोभियत संघको निर्माण हुँदा रुस,युक्रेन र बेलारुस राजनीतिक रुपमा सबैभन्दा शक्तिशाली राज्य थिए । सोभियत संघको निर्माण हुँदा ती तीन राज्यले चाहेमा जुनसुकै बखत सोभियत संघ विघटन हुनसक्ने प्रावधान समेत राखिएको थियो । त्यसैले पछि बेलारुसमा बोरिस यल्तसिनलगायतका नेताहरु मिलेर सोभियत संघ विघटन गर्ने निर्णय गरेका थिए । त्यतिबेला मस्कोमा रहेका कम्युनिष्ट पार्टीका महासचिव तथा रुसी राष्ट्रपति मिखायल गोर्वाचेभले त्यो निर्णय पछि मात्र थाहा पाएको बताइन्छ ।

पछिल्ला घटनाक्रमले आगामी दिन कुनै न कुनै बेला बेलारुस,युक्रेन र रुस फेरि एक हुने सम्भावना बलियो हुँदै गएको रुसमा रहेका नेपालीहरु समेत बताउँछन् । भौगोलिक रुपमा बेलारुस निकै सानो छ । उसको पश्चिममा पोल्याण्ड छ । नाटो र पश्चिमा शक्तिबाट जोगिन बेलारुसले उक्त पहल गरिरहेको बताइन्छ ।

यता राष्ट्रपति पुटिनले रुसलाई २५ वर्षमा विगतको सोभियत संघभन्दा पनि बलियो बनाइदिएकोमा रुसीहरुले गर्व गरेका छन् । त्यतिबेला सोभियत संघमा १५ राष्ट्र हुँदाभन्दा अहिले रुस एक्लै बलियो देखिन्छ ।

रुस युरोपका अधिकांश मुलुकको निम्ति ग्याँस र तेलको प्रमुख स्रोत हो । यदि उसले त्यसमा रोक लगाइदियो भने युरोपको अर्थतन्त्र र दैनिक जनजीवन नै डाँवाडोल हुने खतरा बढेको छ । युध्द भएको १० दिनमा ग्याँसको भाउ बढिसकेको छ ।

कमेडियन जेलेन्स्की कसरी राष्ट्रपति बने ?

उनलाई त्यहाँका खुँखार व्यापारी तथा डलर अर्बपति कोलम्बिस्कीको रणनीतिमा राष्ट्रपति बनाइएको हो । उसले एउटा कमेडियनलाई राष्ट्रपति बनाएर आफ्नो व्यापारिक स्वार्थ पूरा गर्न उक्त रणनीति बनाएको रहस्य पनि खुलेको छ । पछिल्ला दिनमा राष्ट्रपति कोलम्बिस्कीले जे भन्यो त्यही मान्दै गएका थिए । तर उनी रुस विरोधी व्यापारीको रुपमा परिचित छन् ।

कमेडियन र व्यापारीको योजनामा पछिल्ला दिनमा पश्चिमा राष्ट्रहरुले आगोमा घिउ थप्ने काम गरेका हुन् । अहिले व्यापारीको स्वार्थले देश बर्बाद हुने अवस्थामा पुगेको छ ।

कमेडियनलाई राष्ट्रपतिमा उठाउन ५ वर्षदेखि योजना बनाइएको बताइन्छ । उनै अर्बपतिले द प्रेसिडेन्ट भन्ने फिल्म बनाए । फिल्मको राष्ट्रपतिको मुख्य भूमिकामा उनै जेलेन्स्कीलाई राखियो । फिल्मको कथा देशलाई कसरी समृद्ध बनाउने भन्ने छ । त्यो फिल्म युक्रेनमा निकै लोकप्रिय भयो । फिल्ममा राष्ट्रपतिको भूमिका निभाएका जेलेन्स्कीलाई नै चुनावमा पनि राष्ट्रपतिमा उठाइयो ।

उनै व्यापारीले बनाएका उम्मेदवारले प्रख्यात राजनीतिज्ञहरुलाई समेत पराजित गराइदिए । फिल्मको लोकप्रियतामा रमाएर युक्रेनीले हालेको भोट अहिले मुलुकलाई बर्बाद बनाउने हतियार बनेको छ ।

टिप्पणीहरू