शनिबारै सारियो राष्ट्रको सम्पत्ति

शनिबारै सारियो राष्ट्रको सम्पत्ति

एमसीसीको नाममा भोलि नै सरकारबाट हट्नुपर्ने हो कि भन्ने त्रासले जनार्दन शर्मालाई कतिसम्म तर्साएको रहेछ भने उनले शनिबार पनि अर्थको ढुकुटी खोल्न लगाए ।

एमसीसी अनुमोदन हुनु अघिल्लो दिन अर्थात् १४ गते शनिबार शर्माले बजेट महाशाखाको टोलीलाई बोलाएर धेरै काम तमाम गराएको खबर छ । बिहान साढे १० बजे नै चक्रबहादुर बुढाको टोलीलाई बोलाएर रकमान्तर गर्ने काम भएको दाबी स्रोतको छ । हालै मात्र भूपाल बराललाई सो शाखाबाट सारेर गृहका बूढालाई अहिले अर्थको बजेट महाशाखा प्रमुख बनाइएको छ ।

मन्त्रीले अत्तालिँदै फोन गरेपछि उक्त महाशाखाका हाकिम बूढासहित उपसचिवहरू उमेश श्रेष्ठ, शिव शर्मा, नवराज पन्थी, मोहनसिंह बस्नेत, विश्वबन्धु पौडेल, सुबोध खतिवडाहरू उनको कार्यकक्षमा हाजिर भएका थिए ।

एमसीसीका कारण प्रधानमन्त्री देउवाले ओलीसँग सम्बन्ध बढाएको अन्योलग्रस्त स्थितिबीच भोलिदेखि सरकारै छोड्नुपर्ने हो कि भन्ने त्रासमा शनिवार भंयकर रकमान्तर गर्ने काम गरिएको सो स्रोतको दाबी छ ।

केही साताअघि अर्थमन्त्रीले केपी ओलीकै पदचाप पछ्याउँदै आफ्नो निर्वाचन क्षेत्र रुकुममा ५५ करोड रकम सुनिश्चित गराएका छन्, क्रिकेट रंगशाला निर्माणका नाममा । जबकि यस्तै रंगशाला धुर्मुस–सुन्तलीले चितवनमा बनाउँदै थिए ।

एक तिहाई काम नसक्दै सरकारबाट सहयोग भएन भन्दै उनीहरू रोएर हात झिक्नुपर्ने अवस्थामा पुगे । उता शर्माले भने आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशालाका लागि त्यति रकम स्रोत सुनिश्चित गर्न भ्याएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार डोलिडारमार्फत सो रंगशाला बनाउन लागिएको छ । यसरी रकमान्तर गरेर वा २० औं आयोजनाका नाममा रुकुमतिर रकम पठाउने काम भइसकेको अर्थ स्रोत बताउँछ ।

जसरी केपी ओलीले आफ्नो गृहजिल्ला झापा, दमकको भ्युटावर बनाउन २ अर्ब रकम बालुवामा पानीझैं खन्याए उसैगरी अहिले शर्माले आफ्नो निर्वाचन क्षेत्रमा बजेटको खोला बगाएको आरोप छ । मुलुकको प्रथामिकता के हो ? माओवादीका कति भोटर क्रिकेट खेलबारे जानकार छन् ? अनि कति जना क्रिकेट खेल्न रुकुम पुग्लान् ?

टिप्पणीहरू