क्याबिनेट बैठकको शुरुमै प्रधानमन्त्रीको प्रस्ताव : लौ केपी ओलीलाई धन्यवाद दिऊँ

क्याबिनेट बैठकको शुरुमै प्रधानमन्त्रीको प्रस्ताव : लौ केपी ओलीलाई धन्यवाद दिऊँ

एमसीसी संसद्बाट पारित भएपछि ७–८ दिनको अन्तरालमा विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यको बर्खास्तीलगायत ३५ वटा प्रस्तावसहित अस्ति सोमबार अपराह्न बसेको पहिलो क्याबिनेट बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको मन्तव्यका कारण मन्त्रीहरू एकछिन ट्वाल्ल परेका छन् ।

देउवाले पहिलो प्रस्तावको रूपमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र त्यस दलका प्रमुख नेता खड्गप्रसाद शर्मा ओलीलाई एमसीसी पारित गर्न खेलेको महत्वपूर्ण भूमिका र सहयोगको लागि आभार व्यक्त गर्दै बधाई तथा धन्यवाद दिऊँ भन्नुभएको थियो ।

उहाँले खुलेरै नेता ओलीको हार्दिक प्रशंसा गर्नुका साथै सत्तारुढ गठबन्धनका सहयात्री नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का माधवकुमार नेपाललगायत अन्य दल र तिनका नेताप्रति आभार प्रकट गरिएको प्रस्ताव टिप्न मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिनुभयो ।

यही लर्कोमा अर्थमन्त्री जनार्दन शर्मालाई विशेष धन्यवाद भन्दै अन्य मन्त्रीलाई धन्यवाद दिन छुटाउनुभएन । अरु बेला विभागीय मन्त्रीले विभिन्न प्रस्ताव पेश गर्ने चलन रहे पनि यसपटक भने प्रधानमन्त्री आफैंले यो प्रस्ताव हौंसिएर ल्याएको स्रोतको दाबी छ । प्रधानमन्त्रीले राखेको दोस्रो प्रस्ताव भने नेपालमा दुवै छिमेकी मुलुक चीन र भारतलगायत अन्य मुलुकविरुद्ध कुनै पनि किसिमको गतिविधि गर्न नदिने भन्ने थियो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले एमसीसी पारित भएपछि त्यसको समीक्षाको बदला संक्षिप्त चर्चा मात्रै गर्नुभयो । उहाँले विरोधीहरूले व्याख्यात्मक सम्झौताको विरोधमा बोलेर भ्रम छर्न खोजेको भन्दै अमेरिकाले त्यसलाई स्वीकार गरेको जानकारी गराउनुभएको थियो ।

देउवाले उक्त बैठकमा एमसीसी पारित भएपछि युएसएआईडीले गर्दै आएको सहयोग रकम डबल गर्ने जानकारी पाएको बताउँदै एमसीसीका काम फास्ट ट्रयाकबाट अघि बढाउन मन्त्रीहरुलाई अह्राउनुभएको थियो ।

टिप्पणीहरू