एमसीसी पास, सेनामा हर्षोल्लास

एमसीसी पास, सेनामा हर्षोल्लास

सैनिक तालिमलगायत सबैखाले सरकारी भ्रमण रोकेर नेपालमाथि अप्रत्यक्ष नाकाबन्दी लगाएको अमेरिकाले एमसीसी पास हुनासाथ त्यस्ता बन्देज फुकुवा गरेको छ । अमेरिकाले एमसीसी पास नभए सम्बन्धमा पुनर्विचार गर्ने पत्र परराष्ट्र मन्त्रालयलाई बुझाउँदै जनवरी १० देखि सरकारी भ्रमणमाथि प्रतिबन्ध लगाएको थियो ।

‘यात्रा प्रतिबन्ध’ फुकुवा भएलगत्तै नेपाली सेनाका नीति विभाग प्रमुख अशोक सिग्देलसहितको एक टोली अमेरिकाको हवाई जान लागेको छ । यो टोलीमा परराष्ट्र र रक्षा मन्त्रालयको प्रतिनिधिलाई पनि समावेश गरिँदै छ । यसअघि परराष्ट्र, रक्षा र सेनाको एउटा टोली संसद्बाट एमसीसी पारित हुने निश्चित हुनासाथ उतै हुइँकिइसकेको छ ।

एमसीसी पास हुने टुंगो लाग्नासाथ ह्वार्र खुलेको अमेरिकाको पहिलो सरकारी भ्रमणकर्तामा परराष्ट्रका उपसचिव हरि वडारीसहित रक्षा मन्त्रालयका एक अधिकृत र जंगी अड्डाका मेजर पनि छन् । अब क्रमशः हवाइ र वासिङटन डिसी जान सरकारी निम्तो पाउने नेपाली जागिरेहरू धेरै छन् ।

मार्च तेस्रो साता दुई देशबीचको सेक्युरिटीसम्बन्धी छलफल भनेर दुईतारे जर्नेलको नेतृत्वमा परराष्ट्रको एउटा, रक्षाको एक जना र सेनाका ८ जना अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

एमसीसी पास नगरेकै कारण रोकिएको अमेरिकाका लागि नेपाली राजदूतको एग्रिमो पनि प्राप्त भएको छ । अमेरिकाले राजदूत श्रीधर खत्रीको एग्रिमोलाई स्वीकृत गर्नुका साथै एमसीसी पारित भएकै दिन नियुक्ति पनि भैसकेको छ ।

यसबीच पूर्वी कमाण्डका सन्तोष ढकाल स्टाफ कलेज टोखा आउने भएका छन् । स्टाफ कलेजका हीरालाल जोशी भने कम्ब्याट सपोर्ट सर्भिस विभागको महानिर्देशकमा झर्नेछन् । उक्त विभागमा कार्यरत सहदेव खड्का पूर्वीकमाण्ड जाने निश्चित भएको छ भने प्रेमध्वज अधिकारी खरिपाटीबाट बढुवा हुने लाइनमा छन् ।

यसबीच सेनाले विदेश मिशनमा प्रयोग गरेर ल्याएका सडकमा गुड्ने अनेकखाले उपकरण ब्यारेकमा त्यत्तिकै थन्किएका छन् । यस्ता सवारी उपकरण नेपालको कानुनअनुसार मापदण्ड नपुगेको भन्दै सम्बन्धित निकायले दर्ता गर्न नमानेपछि थन्क्याउन बाध्य हुनुपरेको स्रोतले जनाएको छ । धेरै वर्षदेखि थन्किएका यस्ता उपकरणको संख्या दुई सय हाराहारीमा छ ।

सेनाले शान्ति मिसनमा प्रयोग गरेका त्यस्ता उपकरण नेपालको मापदण्डअनुसार दर्ता गर्न नमिल्ने, कानुन नै संशोधन गर्नुपर्ने अवस्था रहेको यातायात व्यवस्था विभाग स्रोतले बताएको छ । संसारका धेरैजसो देशको सरकारले सेनाकै माध्यमबाट वैदेशिक सम्बन्धलाई व्यवस्थित गर्ने चलन (रिलेसन मेन्टेन) लाई प्राथमिकता दिने चलन रहँदै आएको छ ।

अन्य क्षेत्रभन्दा सेनामार्फत राखिने सम्बन्ध सजिलो हुने र सरकारसँग सीधै जोडिने भएको कारण यो बाटो सहज हुने रहेछ । त्यसैले नेपाली सेनाले पनि भारत, चीन, बंगलादेश, फ्रान्स, बेलायत, अमेरिका जहाँसुकै आर्मी टु आर्मीको सम्बन्धलाई विस्तार र प्राथमिकतामा राखेको पाइन्छ ।

स्मरणीय छ, भारतले लगाएको नाकाबन्दी खुलाउनको लागि आर्मी नै प्रयोग भएको थियो । अहिले पनि अमेरिकाले एमसीसी पास गराउन केपी ओलीको अंगरक्षक रहिसकेका र हाल लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीका स्टाफ हिमालय थापा लगायतको अमेरिका यात्रामा रोक लगाइदिएको थियो ।

टिप्पणीहरू