चुनावी चटारोले फिलिमको मिति सर्यो

चुनावी चटारोले फिलिमको मिति सर्यो

वैशाखका लागि घोषित स्थानीय तहको चुनावका कारण बहुप्रतीक्षित नेपाली सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रदर्शनको मिति सारिएको छ । पूर्वघोषित मितिमा चुनाव हुने भएपछि फिल्म युनिटले वैशाखबाट सारेर १३ जेठमा सिनेमा रिलिज गर्न लागेको हो ।

सरकारले बैशाख ३० गते चुनावको मिति तय गरेको छ । त्यसअघि नै सिनेमा निर्माताले वैसाखमै उक्त फिल्म प्रदर्शनको मिति घोषणा गरिसकेको थियो । तर, चुनावले चलचित्रमा प्रभाव पार्ने भएपछि निर्माताले नयाँ मिति घोषणा गरेका हुन् । ‘कबड्डी ४ : द फाइनल म्याच’का निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसँगै फिल्मको नयाँ डेट सार्वजनिक गरेका हुन् ।

नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताइएकाले गर्दा पनि फिल्म झनै प्रतीक्षित बनिरहेको छ ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

टिप्पणीहरू