विप्लवहरुको कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरु बोल्दै

विप्लवहरुको कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरु बोल्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित संसद बाहिर रहेका साना वामपन्थी पार्टीहरुको मोर्चाले आयोजना गर्ने एमसीसीविरुध्दको जनसभालाई सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

एमसीसीविरुध्द आक्रामक अभिव्यक्ति दिँदै आउनुभएका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता डा. भीम रावलले भोलि दिउँसो १२ बजे खुलामञ्चमा हुने जनसभालाई सम्बोधन गर्नुहुने भएको हो ।

आयोजकका तर्फबाट विप्लवसहित क्रान्तिकारी मओवादीका महासचिव मोहन वैद्य किरण,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,मसालका अध्यक्ष मोहनविक्रम सिंह,नेपाल कम्युनिष्ट पार्टीका ऋषि कट्टेल,माओवादी समाजवादीका कर्णजित बुढाथोकी,वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल आहुतिलगायतले पनि सम्बोधन गर्ने जनाइएको छ ।

गत आइतबार प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीमा चर्को आन्तरिक विवाद छ । पार्टीको निर्णयविपरित एमसीसी अनुमोदनमा सघाएको भन्दै खनाल र श्रेष्ठले सार्वजनिक रुपमै नेतृत्वमाथि असन्तुष्टि जनाइरहनु भएको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी एमालेका नेता डा. भीम रावलसमेत एमसीसी पास गर्न अप्रत्यक्ष सघाएको भन्दै अध्यक्ष केपी ओलीसँग रुष्ट हुनुहुन्छ ।

यता, एमसीसी खारेजीको मागसहित विरोध प्रदर्शन गरेका साना कम्युनिष्ट घटकहरु एमसीसी अनुमोदन भएपछि थप आन्दोलित छन् । यसबीचमा विप्लवले एमसीसीविरुद्ध आवाज उठाइरहेका विभिन्न नेताहरुलाई घर–घरमै गएर भेटघाट गरिरहनु भएको छ । विप्लवले माओवादी नेता श्रेष्ठ,एकीकृत समाजवादीका खनाल, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र एमाले नेता डा. रावललाई छुट्टाछुट्टै भेटेर एमसीसीविरुद्ध मोर्चा बनाउन प्रस्ताव गरेको बताइएको छ ।

टिप्पणीहरू