रवीन्द्र मिश्रलाई छाडेर मेयरमा उम्मेदवारी घोषणा

रवीन्द्र मिश्रलाई छाडेर मेयरमा उम्मेदवारी घोषणा

विवेकशील साझा पार्टी परित्याग गरेका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । आज बिहान धनगढीमा आयोजित एक कार्यक्रममा उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।

२०७४ को स्थानीय तह चुनावमा धनगढीको मेयरमा प्रतिस्पर्धा गरेका हमाल नेपाली काँग्रेसका उम्मेदवार नृप वडसँग २८ सय मतले पराजित भएका थिए । मेयरमा विजयी भएका वडले १४ हजार ३ सय ४२ मत ल्याउँदा हमालले ११ हजार ५ सय २७ मत पाएका थिए । चुनाव हारेपछि उनी विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले तीन दिनअघि सो पार्टीबाट राजीनामा दिएका छन् ।

उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना शहर बनाउने बताए । आफ्नो यो अन्तिम पटक उम्मेदवारी भएको भन्दै उनले नगरवासीलाई सहयोगको आग्रह पनि गरे । उनले भने, ‘धनगढी बनाउने सपना पूरा गर्नुछ । देशले विकासको धनगढी मोडल चिनोस् । तपाईंहरू मलाई साथ दिनुहोस् ।’

आफूले चुनाव जितेमा उपमहानगरका तर्फबाट प्राप्त हुने कुनै पनि सेवा सुविधासमेत नलिने हमालले घोषणा गरेका छन् ।

टिप्पणीहरू