विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो

विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो

काठमाडौं उपत्यकामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूले ऊर्जामन्त्रीलाई भेटेर निःशुल्क विद्युतीय चुल्होको माग गरेका हुन् ।

ऊर्जा मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी इन्डक्सन चुल्हो वितरण गर्ने योजना बनाएको छ । मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ ।

केन्द्रका जैविक ऊर्जा शाखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ । खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन यस्तो कदम चालिएको हो ।

यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने अपेक्षासमेत लिइएको छ । धेरै आवेदन परेको खण्डमा दुर्गम तथा अतिदुर्गम क्षेत्रबाट काठमाडौं आएर बसेका विद्यार्थीलाई प्राथमिकतामा राख्ने मजगैंयाको भनाइ छ ।

टिप्पणीहरू