हात्तीवनमा विप्लव, बालुवाटारमा माधव नेपाल

हात्तीवनमा विप्लव, बालुवाटारमा माधव नेपाल

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएपछिको राजनीतिक पराकम्प देखिन थालेको छ । एमसीसीको पक्ष र विपक्षमा उभिएका विभिन्न पार्टीका नेताहरुले भेटघाटलाई तीब्रता दिएका छन्।

यसैबीच आज बिहान माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न विप्लव बिहान साढे नौ बजे नै हरिसिध्दि क्यान्सर हस्पिटलअगाडिस्थित श्रेष्ठ निवास पुग्नुभएको थियो। दुई नेताबीच झण्डै डेढ घण्टा कुराकानी भएको श्रेष्ठकी सहयोगी सुसन कर्माचार्यले जनआस्थालाई बताइन् ।

एमसीसीको विपक्षमा रहनुभएका माओवादी नेता श्रेष्ठ व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमत हुनुहुन्छ । उहाँले सार्वजनिक रुपमै आफ्नो विमति जनाइसक्नु भएको छ । यहि विवादले माओवादी केन्द्र फुट्नसक्ने चर्चा भैरहेका बेला एमसीसी खारेजीको मागसहित आन्दोलन गरिरहनुभएका विप्लव श्रेष्ठलाई भेट्न जानुलाई चासोका साथ हेरिएको छ।

यता,आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गर्नुभएको छ। उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने दशदेखि आधी घण्टा कुराकानी भएको बुझिएको छ।

यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेका माओवादी र समाजवादीमा व्याख्यात्मक घोषणासहित पारित गर्ने अध्यक्षको निर्णयको आलोचना भैरहेको छ।

टिप्पणीहरू