गठबन्धन गरेर चुनावमा जाँदा पद बाँडफाँडमा समस्या आउँछ : मेयर उपेन्द्र थापा

गठबन्धन गरेर चुनावमा जाँदा पद बाँडफाँडमा समस्या आउँछ : मेयर उपेन्द्र थापा

सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनको घोषणा गरेको छ । त्यससँगै २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल पनि सकिनै आँटेको छ । तिनै जनप्रतिनिधिले झण्डै पाँच वर्षमा गरेका काम र आगामी चाहनाबारे नेपाली काँग्रेस पार्टीबाट सुर्खेतको पश्चिम बाबियाचौर पञ्चपुरी नगरपालिकाको मेयरमा निर्वाचित उपेन्द्र थापासँग जनआस्थाकर्मी जयन्ती बडुवालले गरेको कुराकानी :

तपाईंले पाँच वर्षको कार्यकालमा के-के काम गर्नुभयो ?

-म निर्वाचित भइसकेपछि पहिलो प्राथमिकता पूर्वाधारको विकासमा जोड दिएँ । पञ्चपुरीका ११ वटै वडामा सडक सञ्जाल पुर्याउने योजना कार्यान्वयन भएको छ । दोस्रो प्रथामिकता शिक्षा क्षेत्रमा थियो । त्यहीअन्तर्गत ५३ वटा विद्यालयलाई खरको छानामुक्त बनाएको छु । विद्यार्थी संख्याकै आधारमा शिक्षकहरुको व्यवस्था गरेको छु । नगरभित्र अहिले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् ।

यस्तै,नगरबासीले समयमै उपचार पाउन् भन्ने उद्देश्यले सातवटा स्वास्थ्य इकाइ स्थापना गरिएको छ । नगरवासीहरुले त्यहाँबाट स्वास्थ्य उपचारको सुविधा लिइरहेका छन् । स्वच्छ खानेपानी नगरवासीका घरघरमा पुगेको छ ।

विकासको नाममा विनाश मात्रै गर्नु भो भन्ने आरोप छ नि ?

-यो निराधार हो । मैले जथाभावी विकासको नाममा सडक विस्तार गरेको छैन । प्राविधिकको सहयोगमा सबै ठाउँको अध्ययन गरेर आवश्यकताअनुसार सडक खन्ने काम गरिएको छ ।

पञ्चपुरी नगरपालिकाको वडा नम्बर ७ जंगाला घाटमा सुदूरपश्चिम प्रदेश जोड्ने सडक सञ्जाल आवश्यक छ कि छैन ? त्यो भविश्यले मूल्याङ्कन गर्छ । त्यस्तै घना बस्ती बसेको ठाउँमा त्यसलाई असर नपर्ने गरी सडक सञ्जाल टोल टोलमा पुर्याएका छौँ ।

नगरबासीका समस्या र अपेक्षालाई कसरी सम्बोधन गर्नुभयो ?

-उनीहरुलाई शिक्षा,स्वास्थ्य, खानेपानीलगायतका सेवा सुविधाहरु उपलब्ध गराइरहेका छौँ । नगरबासीको घरदैलोमा सिर्जित समस्यालाई सम्बोधन गर्ने प्रयास जारी छ । उनीहरुलाई आइपर्ने जुनसुकै समस्याको पनि सहजीकरण गर्ने बाटोमा हामी सँधै अघि छौँ । उनीहरुका यी र यस्तै आवश्यवता पूरा गर्न म केही हदसम्म सफल भएको अनुभूत गर्छु ।

तपाईंले चुनावमा गरेका प्रतिवध्दताहरु कति पूरा भए ?

-मैले नगरका सबै वडा कार्यालयमा सडक पुर्याउने भनेको थिएँ । ती सबै ठाउँमा अहिले सडक विस्तार भइसकेको छ । त्यस्तै नगरमा शिक्षक दरबन्दी नभएका विद्यालयमा विद्यार्थी संख्याको आधारमा थप शिक्षकको व्यवस्थापन समेत गरिएको छ ।

कुनै पनि नागरिकले एक घण्टाको दूरीमा स्वास्थ्यकर्मीको सल्लाहमा उपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले नगरभित्र स्वास्थ्य इकाइहरु स्थापना गरी सेवा सुविधाहरु दिइरहेका छौं । साथै, नागरिकले स्वच्छ खानेपानी पिउन पाउनुपर्छ भन्ने हेतुले घरघरमा धारा बन्ने क्रम जारी छ । केही ठाउँबाहेक लगभग सबै स्थानमा खानेपानी पुगि सकेको छ ।

पञ्चपुरीमा रहेका चमेरी गुफा, दहताल जस्ता पर्यटकीयस्थलमा सडक पुर्याउने वाचा गरेका थियौं । त्यहीअनुसार अहिले लगभग सबै पर्यटकस्थलमा सडक पुगिसकेको छ ।

अबको चुनावमा फेरि मेयरमा दोहोरिने हो र ?

-म स्थानीय तहमा आएको करिब २० वर्ष भइसकेको छ । अब स्थानीय तहभन्दा माथिल्लो तहमा जान पाए हुने थियो भन्ने विचार हो । मेरो व्यक्तिगत इच्छा त मेयरमा नउठ्ने नै हो । तर यसमा पार्टीले जे निर्णय दिन्छ त्यही मान्छु । अहिल्यै केही भन्न सक्दिन ।

आफ्नो कार्यकाललाई कसरी स्वःमूल्याङ्कन गर्नुभएको छ ?

-यसअघिको शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विकासका विविध पूर्वाधारभन्दा एक कदम अघि पुगेको अनुभूत गरेको छु । हिजोको तुलनामा पञ्चपुरी नगरपालिका विकासको हिसाबले धेरै अघि पुगिसकेको छ ।

कृषि क्षेत्रमा युवाहरुको मोह दिनहुँ बढिरहेको छ । यस्तै उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारीको अवस्था सिर्जना गरेका छौं । यसरी हेर्दा अन्य क्षेत्रजस्तै कृषिमा पनि त्यत्तिकै सफलता पाएका छौं ।

अब आउने जनप्रतिनिधिलाई के सुझाव दिनुहुन्छ ?

-अहिले नगरमा जुन विकासका पूर्वाधारमा जोड दिइरहेका छौं, त्यसमै अब आउने साथीहरुले विशेष रुपमा इमान्दार भएर काम गर्न आवश्यक छ । मेरो कार्यकालमा बाँकी रहेका विकासका कामहरुलाई निरन्तरता दिई समृद्ध नगर बनाउन जोड दिनुपर्छ । फरक फरक पार्टीबाट निर्वाचित भई आउने साथीहरुले एक अर्कामा सहयोगी भावना राखी नगरबासीको इच्छा र चाहनालाई पूरा गर्नेतिर लाग्न सुझाव छ ।

पञ्चपुरीमा आगामी चुनावमा काँग्रेस एक्लै लड्छ कि गठबन्धनसँग मिलेर जान्छ ?

-यसमा अहिले नै केही भन्न सकिँदैन । देशभर नै गठबन्धन हुन्छ भने पञ्चपुरी अछुतो रहन सक्दैन । तर गठबन्धनसँग मिलेर जाँदा पदको बाँडफाँडमा समस्या आउने सम्भावना रहन्छ । उनीहरुलाई पनि आफूले चाहेको पद पाउने इच्छा हुनसक्छ । त्यसैले पञ्चपुरीमा गठबन्धनसँग मिलेर गए काँग्रेसलाई घाटा हुनसक्छ ।

पञ्चपुरीमा अन्य पार्टीको भन्दा जनताले काँग्रेसलाई बढी रुचाएको पाइन्छ । त्यसकारण काँग्रेस एक्लै चुनाव लड्नु पर्छ भन्ने मेरो मान्यता हो । काँग्रेसले एक्लै लडेमा फाइदा हुनसक्छ । हुन त राष्ट्रियस्तरका नेताहरुले सहमतिअनुसार गठबन्धन गरेर आउँछन् भने हामीले भनेर पनि केही हुँदैन ।

टिप्पणीहरू