खेल भर्खर शुरु भएको छ

खेल भर्खर शुरु भएको छ

–कौशल चेम्जोङ

सन् १८१६ मा सुगौली सन्धिमा हस्ताक्षर गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई इष्ट इण्डिया कम्पनीले सुरक्षा र आश्रय दिए जस्तै सविस्तार व्याख्यासहित एमसीसी संसदबाट पारित भएपछि नेपालमा सबैभन्दा पहिला सुरक्षा दिनु पर्ने व्यक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सांसद गगन थापा देखिन्छन् । यसको मानक गगन थापाले संसदमा एमसीसी पास गर्नका लागि दिएको अभिव्यक्ति हो ।

थापाले राष्ट्रप्रेम र विकासप्रेमी (?) को भाषण दिँदै भने, ‘एमसीसी पास गर्दा अमेरिकन सेना आए मलाई थानकोटको डाँडा कटाइ दिनु ।’ हो थापाकाजी, मिश्र र उपाध्यायहरु सुगौली सन्धिपछि तत्कालीन गुलाम भारतमैं गुलाम भएर बसे । नेपालको एक तिहाइ भूभाग गुमाउनको लागि हतार हतार हस्ताक्षर गर्ने तिनले जमिन्दारी त पाए तर देश गुमाए । अहिले तिनका सन्तान उतै कतै चर्दै छन् । हामीलाई अत्तोपत्तो छैन र तिनले सन्तानलाई म फलानाको सन्तान हुँ भन्न पनि लाज लाग्दो होला । किनभने कलंकको टीका लागेको छ जो सबैले बुझेका छन् ।

अमेरिकी सेना आएपछि सबैभन्दा पहिले गगन थापाहरुलाई सुरक्षा दिनेछ र त्यस्तो सुरक्षा घेरा तोड्ने ल्याकत नेपालीमा बिरलै छ । थापालाई डाँडा कटाउने कुरा त बाह्रै हातको टाँगो भइयो । नेपालीले बनाएको बाह्र हाते टाँगोले भेट्न सक्दैन भन्ने कुरो बुझेका थापाले भने, ‘मलाई थानकोट कटाई दिनु ।’ यो वचनले कतै न कतै उनीभित्र एमसीसी भनेको देशघात हो भन्ने कुराले घर गरेको छ । त्यसैले उनले नेपाली सुरक्षा घेरामा हिँडेर एमसीसी जोडदार ढंगले पारित गर्ने भूमिका निर्वाह गरे अनि अमेरिकीलाई आग्रह गरे, ‘मलाई थानकोट कटाउने खतरा छ ।’

अब नेपाली सुरक्षाको भर छैन । सबैलाई थाह भएकै कुरा हो बानेश्वरको संसद भवनसम्म जानबाट ‘राष्ट्रघाती’ लाई रोक्न नसक्ने नेपाली आन्दोलनकारीले गगन थापाहरुलाई अमेरिकी सुरक्षा घेराबाट थुत्न सक्दैनन् । थानकोट कटाउने कुरा त कहाँ हो कहाँ ?

सबैलाई थाह छ एमसीसी किन पारित भयो भने नेपालका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्व खड्गप्रसाद ओलीहरु एमसीसीका अन्धभक्त थिए । रावणले भनेझैं म धेरै कुरामा सबल भए पनि तिमीसँग हारेँ किनभने तिम्रो साथमा मेरो भाइ विभिषण छ । हो, एमसीसीको विपक्षमा हुनेहरुले हारेका छन् किनभने उनीहरुको विरुद्धमा आफ्नालाई पाहाझैं पछार्ने, अरुलाई दिने ‘देउ–बा’ छन्, बोली व्यहोरा सबै रुखो भएका ‘छँदाखँदाको घर जलाएर खरानी भएपछि घर मालिक हुने–बा’ छन् ।

यी दुवै मात्र दोषी छैनन्, यिनका हनुमानहरु पनि छन्, अनि पिपलपाते नेताहरु समेत छन् । त्यसैले एमसीसी नेपालमा पारित भयो । एमसीसी दुरुस्तै पास गर्न कम्मर कसेकाहरु यी ठूला दलले सामान्य विरोधको सामना गर्नु पर्यो । ध्वनी मतमा पछारिएको एमसीसीको विरोधी मत अब कुन रुपमा कहाँबाट कसरी उठ्ने हो अहिले नै निक्र्यौल गर्न सकिने अवस्था छैन । तर सविस्तार व्याख्यासहित पारित गरिएको एमसीसीलाई के अमेरिकाले मान्यता देला ? स्वीकार गर्ला भन्ने प्रश्न तेर्सिएको छ ।

यो नयाँ खाले घाँडो एमसीसी पास गर्यो भन्नेको गलामा झुण्डिएको छ । सम्झौता भन्ने बित्तिक्कै दुवै पक्षको सहमति भन्ने बुझिन्छ । तर यहाँ त नेपाली संसदले मात्रै एकलौटी रुपमा सविस्तार व्याख्या ठोकेको छ, यो व्याख्या ठोक्दा औपचारिक रुपमा पत्र लेखेको वा जानकारी दिएको पनि छैन । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र राजदुत रेण्डी बेरीको कुरा सुन्दा त एमसीसीको लिखतमा कमा पनि फेरबदल हुने छैन । त्यसो भए नेपालको संसदले पारित गरेको एमसीसी ‘पूरै पास’ वा ‘आधा फेल’ के हो ?’ यस्तो हो भने कुस्तीमा उत्तानो परे पनि हाथमाथि उठाएर मैले जिते भन्ने अवस्था सिर्जना भएको हो ? बुझ्न कठिन छ ।

विक्रम सुब्बाले एमसीसी पारित गराउँदा अमेरिकाले नेपालीलाई उल्लु बनाएको ठहर गरेका छन् । जसरी भारतले ओलीलाई टनकपुर सन्धिको बेला एक लाख २० हजार क्यूसेक, स्याटलाइटबाट बिजुली र एक खर्ब २० अर्ब वार्षिक आम्दानी हुने बताएर उल्लु बनाएको थियो । सुब्बाले दाबी गरेका छन्, अन्तर्राष्ट्रिय प्रचलनअनुसार सन्धिमा फेरबदल नै गर्ने ‘रिजर्भेसन’ रहेछ । तर एमसीसीमा इन्टरप्रेटिभ डिक्लेरेसन (व्याख्यात्मक घोषणा) को कागज बनाएर गजबले नेपालीलाई उल्लु बनायो । रिजर्भेसनले सन्धिका प्रावधानहरु फेर बदल गर्ने तर इन्टरप्रेटिभ डिक्लेरेसनले चाहिँ सन्धिलाई जस्ताको तस्तै मान्यता दिने रहेछ ।

‘सविस्तार व्याख्या’ लाई अमेरिकाले स्वीकार गरेन भने एमसीसी पारित भएको मान्ने वा नमान्ने ? उभयलिङ्गी प्रश्न पनि तेर्सिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गरेलगत्तै भारत र चीनलगायतका छिमेकी देशहरुविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने संकल्प प्रस्तावले पनि खतराको आभास दिएको छ । जे होस् सतहमा हेर्दा एमसीसीको ल्याङ्गल्याङ्ग अब सकिएको जस्तो छ ।

तर, जानकारहरु भन्छन्, ‘कुरा त भर्खर शुरु भएको छ । किनभने नेपालको भूमिबाट भारत र चीनविरुद्धको अमेरिकी नीति कार्यान्वयन गर्नबाट रोक्नु पर्ने थप दायित्व आई लागेको छ । नेपालको प्राकृतिक स्रोत र सम्पदाहरु जोगाउनु पर्ने दायित्व थपिएको छ । किनभने विकासको नाममा विनाश हुन्छ भन्ने विश्वव्यापी मान्यता अमेरिकाले अघि सार्छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।’ छँदाखाँदाको घरमा आगो सल्काएर ताप्न अघि सर्ने गगन थापाहरु डाँडा कटाइ दिए अमेरिकामा गएर बस्छु भन्ने होला । हामी डाँडा कटाउँदैनौं, तिम्रा पाप धुरीबाट कराएको यहिँ हेर्ने मन छ ।

टिप्पणीहरू