शिक्षकले विद्यार्थीको करङ भाँचेपछि

शिक्षकले विद्यार्थीको करङ भाँचेपछि

म्याग्दीको बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका शिक्षकको निर्घात कुटाइबाट एक विद्यार्थीको करङ भाँचिएको छ । कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएको हो । लेखा विषयका शिक्षक नवीन घिमिरेले गत शुक्रबार कक्षा कोठामा विद्यार्थीलाई पाइपले नीलडाम हुने गरी कुटेका थिए ।

कुटाइपछि लगातार बान्ता गर्ने, सास फेर्न असहज हुने समस्या देखिएर पौडेललाई बेनी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा करङ भाँचिएको पुष्टि गरेका हुन् । यता,विद्यार्थीका बाबु भीमप्रसाद पौडेलले मर्यादाविपरीत बालमनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन् ।

“विद्यार्थीले शिक्षकलाई पछाडिबाट कागजको डल्लाले हानेको हुनाले शिक्षकले पिटेको उनको भनाइ छ ।”

त्यस्तै,विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले उक्त विषयमा छानबिन भइरहेको बताए । विद्यार्थीले शिक्षकलाई पछाडिबाट कागजको डल्लाले हानेको हुनाले शिक्षकले पिटेको उनको भनाइ छ । शुक्रबार साँझ ५ बजेसम्म अध्यापन भएको थियो तर नवीनको कक्षा दिउँसो १२:१० देखि १२:५० बजेसम्म थियो ।

राजनले त्यो दिन पूरै कक्षा पढेका थिए । लेखा विषयपछिका सरहरुले पनि त्यस दिन उनको स्वास्थ्य अवस्था सामान्य भएको बताएका छन् । सहायक प्रधानाध्यापक हमालका अनुसार उक्त घटना शंकास्पद देखिन्छ ।

टिप्पणीहरू