मलाई बूढानीलकण्ठ लगेर पैसा बुझाउनोस् भनियो « janaaasthanews
१० मंसिर २०७७, बुधबार

मलाई बूढानीलकण्ठ लगेर पैसा बुझाउनोस् भनियो



जागिरबाट अन्यायपूर्वक अवकास, त्यसलगत्तै जीवनसंगीको असमयमै अवसान । यस्ता पीडा खपेर बाँचिरहेका छन्, भूपू एसएसपी यादव खनाल । डिआइजी पदमा दरबन्दी खालि हुँदाहुँदै नेतृत्व पूर्वाग्रही हुँदा उनले तल्लो दर्जाबाटै अवकास लिएर घर जानुप¥यो । त्यसो त प्रहरीमा यस्तो अन्यायको श्रृंखला नयाँ होइन । त्यसअघि पनि थुप्रै क्षमतावान प्रहरीले बेला नपुग्दै वा अन्यायमा परेर घर जानु परेका घटना छन् । लामो समय इलाका, जिल्ला र अञ्चल अनि दिलली दूतावासमा जिम्मेवारी सम्हालेका उनी कमाण्ड कन्ट्रोलमा कहलिएका अधिकृत हुन् ।

० जीवनको २९ वर्ष २ महिना प्रहरी फोर्समा बिताउनुभयो । त्यस्तो संगठनलाई अहिले हेर्दा कस्तो देख्नुहुन्छ ?

– रिटायर्ड भए पनि त्यहाँबाट पेन्सन खाइरहेका हुन्छाँै । त्यसैले म प्रहरीबाट पूरै अलग भएँ, सम्बन्ध शून्य भयो भन्दिनँ । भूपूहरु पनि त्यो संगठनका अंग छन् । फरक यत्ति हो, अंगका रुपमा व्यवहार भयो कि भएन ? संस्थामा बस्ने केही मान्छेले रिसइबी राखे होलान्, त्यो आफ्नो ठाउँमा छ । त्यही संस्थाबाट मैले करियर बनाएँ । सँगै प्रहरीमा जागिर खाएर निजामती सेवामा प्रवेश गर्नुभएका दीपेन्द्र काफ्ले सहसचिव हुनुहुन्छ । विदेशमा गएर आफ्नो क्षमता देखाउने अवसर पनि पाएँ । त्यही कारण यो संस्थाप्रति मेरो सम्मान छ ।

० यसपालि रिटायर्ड हुने डिआइजीले नै नेपाल प्रहरी माफिया र दलालको फन्दामा परेको खुलासा गरेका छन् । के यो वास्तविकता हो ?

– प्रहरी संगठन दूधले नुहाएको संस्था हैन । त्यसो भन्दैमा संगठन खत्तमै छ भन्ने पनि मान्दिनँ । मान्छेमा ५ औंला हुन्छ । सबै समान हुँदैनन् । त्यस्तै हो, केही मान्छेको छोटो बुद्धि हुन्छ, कोहीको बुद्धि ठूलो हुन्छ । कोहीलाई प्रहरी संगठनमा जागिर खाएर पैसा कमाउँछु, बंगला ठड्याउँछु, गाडी जोड्छु भन्ने ध्येय हुन्छ । कोही देशको सेवा गर्छु भनेर प्रवेश गरेका हुन्छन् । दुई किसिमको पर्सेप्सनबाट मान्छेले जागिर खाइरहेको हुन्छ । जागिर खाएर अर्बांै कमाए पनि खाने उही दाल, भात, तरकारी हो । सुन, चाँदी, हिरा, मोती खाने होइन । मरेर केही लाने पनि होइन । रित्तो आएको, रित्तै जाने हो । कुन नेचरबाट ऊ जागिरमा प्रवेश गरेको हो त्यसैमा निर्भर गर्छ ।

० अपराध अनुसन्धानमा विश्वकै उत्कृष्टमध्ये गनिने संगठनले आफूभित्रैका बेथिति किन निमिट्यान्न पार्न सकेन ?

– हरेक सेवामा राजनीति पसेको छ । पहिला सरुवा, बढुवा हुँदा दरबारका ऋषिकुमार पाण्डेहरुको चाकरीमा जानुपर्ने कुरा सुन्थ्यौं, जतिखेर म इन्स्पेक्टर थिएँ । अहिले कहाँ जाने भन्ने अन्योल छ । कुनै एसपीको पोष्टिङ हुनुप¥यो भने अहिले ए बी सी डी कहाँ जाने ? पहिला एक ठाउँमा चाकडी गरे पुग्थ्यो अहिले २० ठाउँ धाउनुपर्छ । जतिखेर रत्नसमशेर राणालाई हटाइयो, त्यहीपछि प्रहरीमा राजनीतिकरण शुरु भयो । हुँदाहुँदा अहिले त आइजीपीले खटाएको प्रहरी त्यही जिल्लामा जान नसक्ने घटना देखियो । प्रहरी सेवा आयोग गठन गर्न सके यसले ट्र्याक समाउँथ्यो ।

० सेवा प्रवेशदेखि नै लेनदेन चलेर हो कि ?

– रिक्रुटमेन्ट नै सफा भएन । कसैको दबाब र प्रलोभनमा नपरी क्लिन अफिसरलाई निकाल्न सकियो भने अपरेसन, अपराध अनुसन्धानमा पर्फेक्ट हुन्छजस्तो लाग्छ । म त भर्ना गर्ने टे«निङ सेन्टरमा बसिनँ । विराटनगर तालिम केन्द्रमा गोविन्द निरौला कमाण्डेण्ट हुनुहुन्थ्यो । रिक्रुटमेन्ट चल्दै गर्दा आफन्तको निधन भएपछि मलाई १५ दिनका लागि काजमा पठाइयो । त्यतिखेर धरानमा एसएसपी थिएँ । टे«निङ सेन्टरमा कहिल्यै नबसेको मान्छे । त्यहाँ राजनीतिक दलको हेड अफिसबाटै लेडरहेडमा ‘भर्ना गर्नु पर्ने मान्छेको लिष्ट’ पुगेको देखियो । मैले त्यस्तो चिठी हेर्दै हेरिनँ । त्यो बेला उपेन्द्रकान्त अर्याल डिआइजी हुनुहुन्थ्यो । प्रहरी सेवामा प्रवेश गर्ने व्यक्तिमा म योग्य छु । राम्रो छु । यद्यपि छनोटमा पर्दिनँ भन्ने छ । त्यही कारण योग्य हुँदाहुँदै पनि वडाध्यक्ष, मेयर, सांसद र मन्त्रीलाई गुहार्न थाले । मानौँ, कोही दुई लाख तिरेर सेवा प्रवेश गरेको छ भने त्यसको ध्यान पैसामै केन्द्रित हुन्छ । कमाउनतिरै लालायित हुन्छ ।

० तपाईं पनि डिआइजीको दरबन्दी खाली हुँदाहुँदै एसएसपीमा पदावधि लागेर जानुप¥यो । के कारण त्यस्तो भएको थियोे ?

– मेरो लाष्ट पोष्टिङ नयाँ दिल्लीमा थियो । चार महिनाभित्र प्रमोसन भैहाल्छ भन्नेमा ढुक्क थिएँ । नम्बरिङमा पनि दोस्रो । भोगबहादुर थापा, दोश्रोमा म, रमेश खरेल, सर्वेन्द्र खनाल चौथो । ५÷६ जना खाली छ । त्यही समय श्रीमतीलाई क्यान्सरको कारण दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेको थिएँ । यता प्रमोसनको मार । साथीहरुले बेला आउँदैछ, काठमाडौं बस्नुस्, एक महिना कतै नजानुस् भनेका थिए । मैले तत्कालीन आइजिपी, गृहसचिव, गृहमन्त्रीलाई भेटेर आफ्नो कुरा राखँें । भन्ने उनीहरुलाई नै हो तर एकले अर्काेलाई देखाउने ।

० प्रमोसन हुनका लागि सुटकेश होइन, बोरामै पैसा बोक्नुपर्ने रहेछ भनेर तपाईंले अभिव्यक्त गर्नुभएको थियो । डिआइजी बढुवा हुने समयमा कहाँ कहाँबाट रकम मागिएको थियो ?

– रमेश खरेलले सुटकेश बोक्नुपर्ने रहेछ भनेका थिए । मैलेचाहिँ सुटकेश होइन, बोरै चाहिने रहेछ भनेर लेखेको थिएँ, सामाजिक सञ्जालमा । एक वर्ष डिआइजी हुनु छ, ४०÷५० लाखसम्म मागिएको छ ।

० बढुवा समितिबाट मागिएको थियो त्यो रकम ?

– मैले एक–दुई जनासँग कुरा गर्दा पैसा खर्च गर्नुपर्छ भन्ने जवाफ आउँथ्यो । तिनको नामचाहिँ नखुलाऔं । सचिवज्यूको लेभलबाट पनि माग भयो । मेरो बढुवा नहुनुपर्ने कारण के त ? पैसामा अड्किएको न हो † मैले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिललाई दुईपटक भेट्दा ‘तपाईंको फाइलै बढेर आएको छैन, फाइल आओस्, राति १२ बजे पनि गरिदिन्छु’ भने । गृहसचिव लोकदर्शन रेग्मीलाई तीनपटक भेटेँ । सधैं चपाएर कुरा गर्ने । आइजिपीलाई दश पटक भेटेँ । नगर्ने कोही पनि नभन्ने । त्यसपछि लेनदेनको कुरा हो ? भनेर सोधेँ । ‘सचिवलाई भेट्नुस्’ भनेर पन्छिने । पछि सचिव निकटका एक जना मान्छे लगाएँ । उहाँले कता–कता मिलाउनुपर्दछ, त्यसैले ‘खर्चपर्च’ भनेर पठाउनुभएछ । पछि एक जना अफिसरले ‘बूढानीलकण्ठतिर मिलाउनुपर्दछ रे, सक्नुहुन्छ भने गर्नुस्, नत्र छोडिदिनु नै बेश हुन्छ’ भन्नुभयो । म डिआइजी बन्न तीन सय पनि खर्च गर्दिनँ भनेर फेरि श्रीमतीको उपचारका लागि अस्पतालतिरै लागेँ । उनलाई एक–एकछिनमा केमो दिनुपर्ने । दिल्ली–काठमाडौं सातपटक ओहोर–दोहोर गरेँ । प्लेन खर्चमा मात्रै एक लाख सकियो ।

० अदालत जानुभयो । त्यहाँबाट पनि न्याय पाउनुभएन होइन ?

– जेठको ९ गते (०७४ साल) अदालतमा रिट दिएँ । प्रमोसनमा ढिलाइ गरिँदा ३० बर्षसम्म प्रहरीमा सेवा गरेको क्यान्डिडेटलाई अपूरणीय क्षति हुने हुँदा तत्कालै बढुवाको प्रक्रिया अघि बढाउन्ु भन्ने अन्तरिम आदेश जारी भयो, १० गते नै । गृहसचिव र आइजीपीले सबैभन्दा पहिला कस्तो परमादेश जारी भयो भनेर लिन पठाउनुभएको थियो । त्यो परमादेश लुकाइयो । ०७५ जेठमा सपनामल्ल प्रधान र डम्बरबहादुर शाहीको इजलाशबाट त्यो मुद्दा जितेँ । मलाई क्षतिपूर्ति दिन भनिएको थियो । डिआइजीको फुली लगाउन नपाए पनि डिआइजी बराबरको सेवासुविधा दिनु भनेको थियो कोर्टले । प्रधानमन्त्री कार्यालयदेखि गृह, आइजिपी कार्यालय सबै निकायमा पुगेँ । दुई वर्षसम्म कराउँदा पनि न्याय पाइएन । तर, क्षतिपूर्ति दिने व्यवस्था कहीँ कतै नभएको पत्र थमायो गृहले ।

० तपाईंलाई सिध्याउनै खोज्नुको कारण के थियो ?

– म धरानमा एसएसपी थिएँ, नवराज सिलवाल विराटनगरमा डिआइजी । एसएसपीको नाताले डिआइजीलाई सहयोग गर्नु मेरो कर्तव्य । त्यसअघि नै जिप्रका सुनसरीमा ३० महिना बसेको । कोशीको बाढी, मधेश आन्दोलन सबै मैले व्यहोरेको हो । आत्मविश्वासका साथ भन्छु कि, मैले एक कल फोन गर्दा धरान–सुनसरीमा जस्तोसुकै समस्या निवारण हुन्थ्यो । पछि आइजीपी प्रकाश अर्याललाई लाग्यो होला, यो त नवराज सिलवालसँग नजिकको मान्छे, यसलाई सिध्याउनुपर्छ भनेर । प्रकाशले नवराजलाई थुन्नै खोजेको । भित्री कारणचाहिँ पैसा नै हो । होइन भने तपाईं यो–यो कारण अयोग्य भन्ने जवाफ त दिनु पर्ने हो नि †

० हालै भएको प्रहरी बढुवा कस्तो लाग्यो ?

– बाहिरबाट हेर्दा बिना चलखेलको । ठाकुर ज्ञवाली सरको अवधि ५ महिना मात्र छ । उहाँलाई ५ महिना मात्र हो, किन चलखेल गर्नु भन्ने लाग्यो होला । उहाँको चरित्र पनि त्यस्तो होइनजस्तो लाग्छ । उहाँपछि दोस्रो, तेस्रोका प्रतिस्पर्धी पनि सिध्याउनै पर्दछ भनेर लाग्नुभएन । बरु, अब हुने एआइजीको बढुवामा चाहिँ कसरत होलाजस्तो देखिन्छ ।

० दिल्ली दूतावास बस्दाको उपलब्धि के–के रहे ?

– त्यहाँ एक जना एसएसपी, नेपाली सेनाको एकजना जर्नेल र गुप्तचर रहने हो । गुप्तचरले राजनीति हेर्ने, सेना सेरेमोनियल । प्रहरीले गर्ने काम धेरै छ । मैले त जहाँ–जहाँ नेपाली धेरै गएका छन्, ती देशमा नेपाल प्रहरी खटाउनुपर्छ भनेर प्रतिवेदन नै दिएको छु । दिल्लीमा कामै नगरी बसे पनि हुन्छ, काम गर्ने हो भने धेरै काम छ । सुरक्षाकर्मीसँगको लिगेसी धेरै ठूलो कुरा हो । मलाई मभन्दा अघिको एसएसपी राजेन्द्रमान श्रेष्ठले धेरै सहयोग गर्नुभयो । एक हप्ता त्यहाँ बसेर सबैसँग चिनजान गराइदिनुभयो । आइबीको डेपुटी डाइरेक्टर, क्राइम ब्राञ्चका चिफहरु लगायतसँग चिनाइदिनुभयो । त्यही कारण कुवेत जान लागेका नेपाली चेलीको उद्धार गरियो । २० महिना बस्दा धेरै मान्छेलाई बचाइयो । फ्रड केशहरु जस्तो फेसबुकबाटै साथी बनाउने, १५ देखि २० लाख खातामा हाल्न लगाउने अनि त्यहाँ पुग्दा मान्छे नहुने । त्यसमा नाइजेरियाको गिरोहलाई दिल्लीबाट समातियो । हामीसँग दिल्लीमा स्रोत साधन छैन । प्रहरीको एउटा गाडी पनि छैन ।

० अनुसन्धानमा प्रहरी किन चुक्छ ? जस्तो निर्मला हत्या प्रकरण ?

– म धनुषामा हुँदा पत्रकार उमा सिंहको हत्या भयो । तीन दिनदेखि लाश उठिरहेको थिएन । त्यतिखेर कृष्णबहादुर महरा सञ्चारमन्त्री हुनुहुन्थ्यो । सिडिओ कार्यालयमा ‘कमिटमेन्ट गरिदिनुस् म अपराधी पत्ता लगाएरै छाड्छु भनेर, अनि लाश उठ्छ’ भन्नुभयो । मैले कमिटमेन्ट गर्नु भनेको अपराधी लुकाउनु हो । कमिन्टमेन्ट गर्दिनँ किनकि मैले अपराधी लुकाएको छैन । तर, अहोरात्र खटिएर एक महिनाभित्र यो केशको सत्यतथ्य पत्ता लगाउन सकिनँ भने नेपालको नालायक एसपी भन्नुस्, एक महिना एक दिनभित्र जनकपुर छाडेर जान्छु भनेको थिएँ । यादव थरका मुख्य योजनाकार जो, फरार छन् । तिनको भाउजु, बुदन महतो, नेमलाल पासवानलगायत यसमा संग्लग्न व्यक्तिहरुलाई १६ दिनभित्रैमा पक्रियौं । अपराध अनुसन्धानमा हतार गर्नु हुँदैन । बलात्कार भयो, प्रमाणले पुष्टि गर्ने हो । जहाँ भिडको दबाबमा अनुसन्धानकर्ताले छिट्टै रिजल्ट निकाल्न खोज्छ, त्यहाँ असफल हुन्छ । निर्मला काण्डमा राज्यलाई प्रेसर भयो । प्रहरीले हतार ग¥यो । भेजिनल स्वाब र डिएनए टेष्ट गराउनेबाहेक अरु प्रमाण त केही छैन । एक्सपोज गर्नलाई हतार भएका कारण यस्तो भयो । मान्छेहरु अनुसन्धान कहाँ पुग्यो भनेर सोध्छन् । उमा सिंहकै केशमा मलाई प्रश्न राख्थे । म ढल्केबर पुग्यो भनेर जवाफ फर्काउँथें । अनुसन्धान किलोमिटर, मिटरमा नापिने कुरा होइन । हामी जति हतार गर्छाैं, त्यति नै अनुसन्धान अप्ठ्यारोमा पर्छ ।

० पदमा रहँदा आफूले गुण लगाएका मान्छेहरुको व्यवहार आज पदबाट बाहिर हुँदा कस्तो पाउनुभएको छ ?

– मान्छेको स्वभाव जन्मँदै स्वार्थी हुन्छ । केही प्रतिशत स्वार्थी छैनन् । फोर्सकै साथीहरु, कोही फोनै उठाउँदैनन् । केहीलाई सानो काम लगाए पनि बहालवालाको जस्तै गरी काम गरिदिन्छन् । कोही हुन्छ भन्छन् । गर्दैनन् । संगठनकै साथीहरुको नेचर त्यस्तो छ भने अरुको कुरा नगरौं ।

० जीवनमा एकसाथ भंयकर पीडा प¥यो । एकातिर डिआइजी बन्न दिएनन् । त्यही समयमा उमेरमै पत्नी बियोग झेल्नुप¥यो । एक्लो जिन्दगी कसरी चल्दैछ ?

– सहज रुपमा लिनुपर्ने रहेछ । जीवनको उत्तराद्र्धमा दुर्घटना भयो । जे भयो त्यसलाई चिन्ताले चितासम्म पु¥याउँछ भन्छन् । बिहान दुई तीन घण्टा स्वास्थ्यका लागि व्यायाममा खर्चन्छु । दिउँसो कन्सलटेन्टका रुपमा काम गर्छु । सक्दो आफूलाई व्यस्त राख्ने प्रयास गर्छु । जीवनमा जे नहुनुपर्ने, भइसक्यो । चित्त दुखाएर पनि ती चिज फर्कंदैनन् । मसँग जो छन्, बच्चाहरु तिनका लागि भए पनि आत्मसन्तुष्टि लिएर काम गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रवाद भन्ने कुरा नक्कली रहेछ
हाम्रा नेताहरु चुल्ठेमुन्द्रे जन्माउन खोज्दैछन्
यी दलको आयु अब लामो छैन
प्रचण्डजीले उल्टो बाटो रोज्नुभयो