धानसँग तरकारी साट्दाको नमिठो सम्झना

धानसँग तरकारी साट्दाको नमिठो सम्झना

महोत्तरी, बर्दिबासका किसानहरु पछिल्लो समय निकै हर्षित बनेका छन् । खेतीपातीमा पर्याप्त सिँचाइ पुगेपछि त्यहाँका किसान हर्षित बनेका हुन् । केही वर्ष अघिसम्म सिँचाइ अभावका कारण सुख्खा रहने गरेका त्यहाँका खेतबारीमा अहिले हरियाली छाएको छ ।

बर्दिबास–३ रजावासका मानबहादुर भट्टराई आफ्नै बारीको तरकारी खान पाएपछि मख्ख परेको छन् । पछिल्लो समय तरकारीको लागि धान साट्ने प्रवृत्तिको अन्त्य भएको उनी बताउँछन् । ‘एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने बाध्यताले तरकारी खानकै लागि धानको जोहो गर्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन् ।

महँगोमा धान साटनु पर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गथ्र्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या रहेको भट्टराईसँग उतिबेलाको सम्झना छ ।

सिँचाइको अभाव र खेती गर्ने तरिकाको विषयमा खासै जानकार नहुँदा रजावास क्षेत्रमा बसोबास गर्ने प्रायजसो किसानहरूको तरकारी लिने र धान दिने प्रक्रिया कैयौँ वर्षसम्म चलिरह्यो । भट्टराईको पनि झण्डै एक पुस्ताले तरकारी खानका लागि धान उत्पादन गरे र जीविकोपार्जनको लागि यही प्रक्रियालाई अवलम्बन गरेका थिए ।

तर, हिजोआज भट्टराईका दुःखका दिनहरू फेरिएका छन् । घर वरपर हरियाली छ । सुख्खा र पानीको अभावमा डढेलो जस्तो देखिने गाउँका वस्तीमा अहिले हरियाली छाएको छ । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ, जसले धान साट्नबाट भट्टराईलाई मुक्ति दिलाएको छ ।

भट्टराई जस्तै हरिमायाका दिनहरू पनि रंगीन बनेका छन् । आकाशे पानीबाट धान उत्पादन हुने र त्यो पनि अपेक्षाकृत उत्पादन हुन नसक्दा हरिमायाले पनि कैयौं वर्षसम्म उस्तै समस्या भोगिन् । तरकारीको चरम अभाव र धान दिनुपर्ने महंगो दबाबले जीवनयापनमा निकै समस्या बनेको भट्टराईकै जस्तो हरिमायासँग पनि नमिठो सम्झना छ ।

उनी हिजोआज आफ्नो करेसाबारीमा लगाएको हरियो तरकारी देखेर निकैबेर बगैंचामा नै रमाउँछिन् । हरियो तरकारीको बोटमा लटरम्म फलेका सिमी, बोडी, साग, काउली देखेपछि कहिलेकाहीँ भावुक पनि हुन्छिन् ।

‘आफ्नो जीवनकालमा यस्तो होला भन्ने मैले सोचेको पनि थिइनँ, सधैँभरि कसले तरकारी ल्याउला र धान साटौंला भन्दैमा बुढी भएँ,’ उनले भनिन् ।

करिब दुई सय घर बसोबास रहेको उक्त गाउँमा अहिले सिँचाइ सुविधा छ । विगत पाँच वर्षदेखि त्यहाँका हरेक किसानले न तरकारीसँग धान साट्नुपरेको छ, न धान उत्पादनको लागि चिन्ता नै लिनुपरेको छ ।

पर्याप्त सिँचाइको कारणले तरकारी मात्र लहलह होइन, गाउँको रुप नै फेरिएको छ । स्थानीय सरकार निर्वाचित भएपछि यहाँको मुहार फेर्न निक्कै कसरत गरेको वडा अध्यक्ष राजन ढुंगानाको दाबी छ ।

टिप्पणीहरू