पहिले करार, पछि बलात्कार

काठमाडौंको मैतिदेवीस्थित दूरदर्शन बचत तथा ऋण सहकारी संस्थाकी एकाउन्टेन्ट अनिता जिसीले फर्जी कागजपत्र बनाएर १ करोड ५१ लाख ठगेको भन्दै अदालतमा मुद्दा विचाराधीन छ । जिसीले सहकारीको रकम हिनामिना गर्न सफ्टवेयर नै ह्याक गरी फर्जी कागजपत्र तथा ऋणी तयार पारेपछि सञ्चालकले गत मंसिर १७ गते जिल्ला अदालतमा लेनदेनको मुद्दा हालेका थिए । तर मुद्दाबाट जोगिन जिसीले उल्टै सञ्चालक समितिका सचिव एवं व्यवस्थापक प्रमोदचन्द्र अधिकारीले गत भदौमा बलात्कार गरेको आरोपसहित जाहेरी दिएपछि अधिकारी समातिएका छन् ।

२०७६ असोज १० गते जिसीले सहकारीको १ करोड ५१ लाख भन्दा बढी रकम हिनामिना गरेको स्वीकार गर्दै रकम एक साताभित्र तिर्ने गरी अध्यक्ष दामोदर सुवेदीसँग करारनामाको कागज गरेकी थिइन् । रकम नतिरेपछि पटक–पटक ताकेदा गर्दा माघ २४ गते व्यवस्थापक अधिकारीले भदौमै अफिसको कोठामा बोलाएर जबर्जस्ती गरेको भनी जाहेरी परेको बताइन्छ ।

अचम्मको कुरा त के छ भने एक साता अर्थात् असोज १६ सम्ममा रकम तिर्ने सहमति गरेकी जिसीले मंसिर दोस्रो सातासम्म चाइँचुइँ नगरेपछि सहकारीले जिल्ला अदालतमा लेनदेन र ठगीको मुद्दा दायर गरेको थियो । यो फिरादपत्र दर्ता भएको एक महिनापछि जिसीले माघ २४ गते काठमाडौं प्रहरी परिसर टेकुमा यौन दुराचारको उजुर हालेकी छन् ।

भदौमै जबर्जस्ती वा यौनदुराचार गरेको भए माघसम्म के हेरेर बसिन् ? यो बीच असोज १० गते एक साताभित्र रकम तिर्ने करारनामा किन गरिन् ? त्यसपछि पनि सबै रकम तिर्छु भन्दै गर्दा ६ महिनासम्म किन जवर्जस्ती गरेको कतै उजुरी दिइनन् ? यसबारे गम्भीर अध्ययन गरिररहेको प्रहरीले जनाएको छ ।

गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएकी भुपेन्द्रबहादुर घर्तीकी छोरी अनिताले २०७१ सालमा उक्त सहकारीको लेखा सहायकको रुपमा काम थालेकी हुन् । २०७४ असोजमा लेखा अधिकृतमा बढुवा भएकी जिसीले नक्कली ऋणी खोजी एकैदिन लाखौंको चेक काटेर दिएको भेट्टिएको छ । पूजादेवी रौनियार र अनिता जिसीको कारोबारको मूल उद्देश्य के हो ? कसरी यो कारोवार भयो अन्योलमा छ । सहकारीको पैसा पूजादेवीले लगेको नक्कली कागजपत्र बनाएर अनिताले आफ्नो चेकमार्फत कारोबार गरेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

सहकारीमा नक्कली बचतकर्ता तथा ऋणी बनाई पूजादेवीलाई अनिताले आफ्नै खाताबाट एकैदिन ८० लाखको चारवटा एनआइसी एसिया बैंकको चेक काटेको भेट्टिएको छ । त्यस्तै असोज १४ गते ७० लाखको तथा कार्तिक ३ गते ६० लाख ९ हजारको २ वटा चेक दिएकोसमेत पाइएको छ । यो रकमको स्रोत के हो र कहाँबाट आयो तथा किन दिएको उल्लेख छैन ।

अनिताले सुसाइड नोट लेखेर तँलाई फसाउँछु भन्दै धम्क्याएको अधिकारीको परिवारले जनाएको छ । जवर्जस्ती भएको हो वा होइन रिपोर्ट नआएको र त्यो नआएसम्म केही भन्न नसकिने प्रहरीले बताएको छ ।

टिप्पणीहरू