प्रहरीको माया लागेपछि ओलीले गृहमन्त्रीलाई फोन गर्नुभो

प्रहरीको माया लागेपछि ओलीले गृहमन्त्रीलाई फोन गर्नुभो

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा भैरहेका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आज कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको आरोप लगाउनुभएको हो ।

आफूमाथि ढुंगामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी भागेको भन्दै ओलीले सरकारमा रहेर सडकमा प्रदर्शन गर्ने र प्रहरीमाथि ईंटा प्रहार गरेकोमा आक्रोश जनाउनुभयो ।

‘हिजो मैले देखेँ । तीन चार सय मान्छे सडकमा छन् । दुई हजार, २५ सय पुलिस छन् । ढाल बोकेर पुलिस छेकिएर बस्या छ । अगाडिबाट ढुंगा हानेका छन् । १५ जनाले ढुंगा हान्छ, डेढ सय पुलिस लुकेर बस्नुपरेको छ, किनकि लाठी चलाउने आदेश छैन उसलाई । अश्रु ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैन् । पानी फोहोरा हान्न जान्छ ट्यांकर । तर, ढुंगा हान्न थालेपछि ब्याक गिएर लगाएर पछि सर्दै भाग्छ । त्यो हान्न सक्दैन, किनभने कोही घाइते भयो भने ट्यांकर चलाउनेको जागिर जान सक्छ,’ ओलीले भन्नुभयो, ‘पुलिसहरू घाइते भएका छन् । आज बिहान मैले गृहमन्त्रीलाई भनें– तपाईंहरूले पुलिसलाई किन सडकमा पठाउनुहुन्छ ? सत्ताधारी गुटले, शासकहरुले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन् ।’

सडक भत्काएर प्रहरीमाथि ढुंगा हानेकालाई कसैले नरोकेको भन्दै उहाँले एमसीसीको विरोधमा उत्रिएको माओवादी केन्द्र र उसका भ्रातृ संगठनप्रति इंगित गर्दै चर्को विरोध गर्नुभयो । ‘कत्रो मिहेनत र कति खर्च गरेर बाटो बनाएको हुन्छ । ती बाटो भत्काइएको छ । तपाईंहरुले देख्नुभयो होला बाटो भत्काएको, सरकारमा हुने क्रान्तिकारीहरुले बाटो बनाउनुपर्ने ठाउँमा भत्काएका छन् । बाटो नभत्काओ भन्ने कोही छैनन् । कस्तो सरकार हो ?’, ओलीको आक्रोश छ ।

ओलीले अगाडि भन्नुभयो, ‘मैले गृहमन्त्रीलाई सोधेँ– के आदेश थियो ? काँचो ढुंगा हान्ने मात्रै आदेश थियो ? पकाएको इँटा मात्र हान्ने आदेश थियो ? के के आदेश थियो ?’

टिप्पणीहरू